हेल्थ टुडे,
धनगढी, १९ भदौ : सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहोरा सहित २४ जनाले अंगदान गरेको घोषणा गरेका छन । शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र, भक्तपुरले धनगढीमा आयोजना गरेको मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रियामा सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री बोहोराले आफ्नो मृत्यु पश्चात अंगदान गर्ने घोषणा गरेका हुन । मन्त्री बोहोरासँगै प्रदेशकी पूर्व मन्त्री एवं सांसद पुर्णा जोशी, समाजसेवी रमण श्रेष्ठ, प्रेम चन्द, भानस चौधरी लगायत २४ जनाले अंग दान गरेका छन । कार्यक्रममा शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अंगदान गर्नेहरुलाई अंगदान गरेको पहिचान कार्ड प्रदान गरेका थिए ।
कार्यक्रममा समाजिक विकास मन्त्री बोहोराले अंगदानका बिषयमा जनचेतना बिस्तार गर्नु पर्ने आवश्यकता रहेको बताउदै यो बिषयमा सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए । पूर्व मन्त्री रमेश लेखकले स्वास्थ्यको बिषयमा काम गर्दा राजनीतिक स्वार्थ भन्द माथि उठ्नु पर्ने आवश्यकता रहेको बताए । सुदूरपश्चिम स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले अंगदानले हजारौ व्यक्तिको ज्यान बचाउन सकिने भएकाले यसका बिषयमा नागरिक समाज परोपकारी हुनु पर्ने बताए ।