बाढी प्रभावित जिल्लाका नागरिकको स्वास्थ्य उपचार सहित आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले वरिष्ठ स्वास्थ्य अधिकारीको नेतृत्वमा चार टोली पठाएको छ । मन्त्रालयले बाढीबाट प्रभावित १८ जिल्लामा समन्वय गर्ने गरी चार स्थानमा टोली खटाएको हो । मन्त्रालयले विराटनगरमा डा. गुणनिधी शर्मा, जनकपुरमा भिम सापकोटा, रौतहटमा सागर घिमिरे र नेपालगन्जमा परशुराम श्रेष्ठको संयोजकत्वमा टोली परिचालन गरेको छ । टोलीसँग मन्त्रालयले पानी शुद्ध गर्ने औषधि, जीवनजल, एन्टिबायोटिक्स, प्राथमिक उपचारका सामाग्री तथा अन्य आवश्यक औषधि समेत पठाएको छ । केन्द्रबाट परिचालन भएका टोलीले प्रभावित जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल, स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयसँग सहकार्य गरेर आवश्यकता अनुसार स्वास्थ्य उपचारको व्यवस्था मिलाउने छ ।
विराटनगरमा खटिएका टोलीले मोरङ, झापा, सुनसरी, सिराह र सप्तरीमा, जनकपुरमा खटिएको टोलीले धनुषा र महोत्तरी, रौतहटको टोलीले रौतहटसहित सर्लाही र बारा, नेपालगञ्जको टोलीले बाँके, बर्दिया र सुर्खेतमा औषधि, उपचार र आवश्यक सहयोग उपलब्ध गराउने छन । थप जनशक्ति र औषधि आवश्यक परे तत्काल उपलब्ध गराइने व्यवस्था मिलाईएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले बताए ।
प्रभावित क्षेत्रमा झाडापखाला, जन्डिस, टाइफाइड जस्ता सरुवा रोगको महामारी फैलन नदिन मन्त्रालयले आवश्यक काम अगाडि बढाउन लागेको समेत डा. पन्तले बताए ।
Leave a Reply