डडेल्धुरा, २३ कात्तिक : प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुराको स्थानीय निकाय अजयमेरु गाउँपालिका वडा नं १ समैजीमा रहेको स्वास्थ्य चौकीमा जनप्रतिनिधिको प्रयासमा बर्थिङ सेन्टर सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
गर्भवती आमा र नवजात शिशुलाई आकालमा मृत्यु हुनबाट जोगाउन र स्वास्थ्य सेवामा उनीहरूको पहुँच बढाउनका लागि सो सेन्टर निर्माण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत दिलबहादुर शाहीले बताउनुभयो ।
जनप्रतिनिधि आएका चार महिनामै विभिन्न विकास निर्माणका कार्य गर्नुका साथै सुलभ सरल तरिकाले सुत्केरी सेवा उपलब्ध गराउन समैजीका महिलाको आवश्यकताअनुसार छोटो समयमा व्यवस्थित सुत्केरी घरको निर्माण गरी सेवा सञ्चालन गरिएको हो ।
गाउँपालिका, वडा, जिल्ला स्वास्थ्य कार्यालयसँगै अन्य सरकारी र गैरसरकारी निकायको आर्थिक सहयोगमा उक्त सेन्टर निर्माण गरी आवश्यक पूर्वाधारको व्यवस्था गरिएकोे समैजी स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण पालले जानकारी गराउनुभयो । रासस
Leave a Reply