डा. प्रवीण मिश्र
बांगाटिंगा दाँतलाई सही स्थानमा ल्याउन ब्रेसेज लगाउनु पर्छ । यसरी दाँत सही स्थानमा ल्याउन दुईदेखि अढाइ वर्षसम्म लाग्छ । अस्वाभाविक दाँतलाई स्वाभाविक रूपमा ल्याउने उपचारलाई अर्थोडोन्टिक्स भनिन्छ । सामान्य भाषामा भन्नुपर्दा बांगाटिंगा, तलमाथि भएका दाँतलाई सही ठाउँमा ल्याउनु नै अर्थोडोेन्टिक्स हो । धेरै व्यक्तिका दाँत मिलेका हुँदैनन् । कसैको माथिको दाँत अगाडि हुन्छ त कसैको पछाडि हुन्छ । कसैको दाँतमाथि दाँत चढेको हुन्छ । कसैको बंगारा सानो त दाँत ठूलो हुन्छ । यसरी अस्वाभाविक स्थानमा रहेका दाँतलाई सही ठाउँमा ल्याएर स्वाभाविक बनाउन सकिन्छ । यो उपचार नेपालमै उपलब्ध छ । हड्डी, मांसपेशी, दाँत र बंगाराको सन्तुलन नमिलेपछि दाँत बांगोटिंगो हुन्छ । वंशानुगत र वातावरणीय कारणले यो समस्या आउने गरेको पाइन्छ ।
मांसपेशी, हड्डी, दाँत र बंगाराको सन्तुलन नमिल्दा पनि अधिकांशको यो समस्या आउँछ । यसरी दाँतलाई सही ठाउँमा ल्याउँदा सबैभन्दा पहिले के कारणले दाँत अस्वाभाविक भयो त्यो पत्ता लगाउनुपर्छ । कारण थाहा पाएपछि दाँतको एक्सरे गरिन्छ । त्यसपछि फोटो खिचिन्छ । त्यसपछि उपचार सुरु हुन्छ । उपचार गर्दा तीनवटा कुरामा ध्यान दिनै पर्छ । पहिलो कुरा दाँतले राम्ररी काम गर्नुप¥यो । अर्को कुरा संरचना बिग्रनु भएन र सुन्दर पनि देखिनुप¥यो । यो उपचार गर्न दक्ष जनशक्ति आवश्यक पर्छ । अर्थोडोन्टिक्समा विशेषज्ञता हासिल गरेका दन्त चिकित्सकले मात्र सही तरिकाले यो काम गर्न सक्छन् । यसका चार चरण हुन्छन् । पहिलो चरणमा यसो हुनबाट रोकथाम गर्न सकिन्छ । अर्को बिग्रँदै गइरहेको दाँतलाई सही ठाउँमा ल्याउन सकिन्छ । तेस्रो बिग्रेको दाँतलाई सही पार्न सकिन्छ र चौथो सर्जरी नै गरेर दाँतलाई सही बनाउन सकिन्छ । कुनै बच्चाको माथिल्लो बंगारा सानो हुन्छ त तलको ठूलो हुन्छ । यस्तो अवस्थामा माथिको बंगाराको वृद्धि रोकेर तलको मात्र बढाइन्छ । केही समयपछि दुबै बंगारा बराबर हुन्छन् । यो उपचार बिना सर्जरी नै गर्न सकिन्छ । तर यो गर्न बच्चाको उमेर १२ वर्ष माथि हुनु हुँदैन ।
बांगाटिंगा दाँतलाई सही स्थानमा ल्याउन ब्रसेज लगाउनुपर्छ । यसलाई साधारण भाषामा तार लगाएर सही गर्नु भनिन्छ । यसरी दाँत सही स्थानमा ल्याउन दुईदेखि अढाइ वर्ष लाग्छ । दाँतमा तार लगाएर बाँध्दा केही दिन असजिलो महसुस हुन्छ । एक हप्तामै बानी पर्छ । एक पटक ब्रसेज लगाइसकेपछि महिनामहिनामा आवश्यकताअनुसार उपचार गरिन्छ । यो उपचार गर्न अवस्था हेरी शुल्क लाग्छ । धनीमानीले मात्र यस किसिमको उपचार गराउँछन् भन्ने होइन । यो उपचार गराउनेमा मध्यम वर्गीयको बाहुल्य छ । शुल्कको कुरा अवस्था हेरेर तलमाथि पर्न सक्छ । यस किसिमको उपचार गराउन बढीजसो केटी आउँछन् । त्यसमा पनि विवाह नगरेका केटीहरू बढी हुन्छन् । बिग्रेको दाँतले विवाह नै नहोला कि भन्ने चिन्ता उनीहरूको हुन्छ । हिजोआज केटाहरू पनि उत्तिकै आउँछन् । नेपालमा अर्थोडोनिटक्स सेवा विगत दुई दशक अगाडिदेखि सुरु भएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) मा यस विषयमा एमडीएस (स्नातकोत्तर) को पढाइ पनि म न्याम्सको डिन हुने वेला सुरु गराएको हुँ । अहिले नेपालमा तीन दर्जनभन्दा बढी अर्थोडेन्टिक्स छन् । म विगत पाँच वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव भएर काम गरेँ । त्यो बेला यसमा समय दिन सकिनँ । सेवा निवृत्त भएपछि अहिले उपचारमा समय दिन सकेको हुँ ।
डा. मिश्रको प्रिस्कृप्सन
जीवनका लागि मात्र नभएर जोवनका लागि पनि दाँतको महत्व उत्तिकै छ । दाँतले मानिसको व्यक्तित्व विकासमात्र गर्दैन स्वस्थ्य पनि बनाउँछ । दाँतको सफाइ र सुरक्षामा ध्यान दिन जरुरी हुन्छ । हरेक दिन बिहान खाना खाएपछि र राति खाना खाएपछि ब्रसले दाँत माझ्नुपर्छ । फ्लोराइडयुक्त टुथपेस्टले मात्र दाँत माझ्नुपर्छ । सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन । नियमित रूपमा दाँतको चेकअफ गराउनु पर्छ ।
(डा. मिश्र, पूर्व स्वास्थ्य सचिव एवं सिनियर अर्थोडोनटिक्स हुन । )
Leave a Reply