महिलाका समस्या नजिकबाट बुझेर होला मलाई म महिला नै हुँ जस्तो लाग्छ । पुरुष हूँ जस्तो लाग्दैन । हाम्रो देशमा पुरुषको भन्दा महिलाका स्वास्थ्य समस्या बढी छन् । सबैभन्दा ठूलो समस्या निसन्तान हुनु हो । त्यसपछि पाठेघरको मुखको क्यान्सर, पाठेघर खस्नु, तल्लो पेट दुख्ने लगायतका अरु छन् । पाठेघरको मुखको क्यान्सरबाट बच्न सबै महिलाले ३० वर्ष पुगेपछि पाठेघरको मुखको पानीको जाँच गराउनुपर्छ । प्याप स्मेयर टेस्टले मात्र पनि यो समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ । बढी जान्ने भएर जे पायो त्यही र जहाँ पायो त्यही उपचार गर्नु हुँदैन ।
अधिकांश ग्रामीण महिलाको बच्चा जन्मनु अगाडि र पछाडि उचित स्याहार भएन भने पाठेघर खस्ने समस्या देखिएको छ । गरुंगो भारी बोक्दा पिसाब चुहिने समस्या पनि छ । भारी बोकेरभन्दा पनि निहुरेर गरुंगो भारी उठाउँदा पाठेघर खस्ने समस्या बढी देखिएको छ । सेतोपानी बग्ने क्यान्सरको लक्षण क्यान्सर हो भन्ने भ्रम हो । सेतोपानी बग्नु राम्रो लक्षण हो । केही वर्षपहिले यो कुरा जनमानसमा धेरै नै उठेपछि हामीले नेपाल टेलिभिजनबाट अन्तरसंवाद कार्यक्रममार्फत यो भ्रममात्र हो त्यसो होइन भन्ने सन्देश दियौं । त्यसपछि यो भ्रम अलि कम भएको थियो । अर्को कुरा पाठेघरमा ट्युमर हुँदैमा पनि क्यान्सर हुँदैन । अप्रेसन गरेर ट्युमर फाल्नुपर्छ । तर सेतोपानीसँगै रगत मिसिएको छ भने ख्याल गर्नुपर्छ र तुरुन्त स्वास्थ्य जाँच गराउनुपर्छ ।
२०५४ तिर म कलकत्ता गएको थिएँ । डा. चक्रवत्रीको क्लिनिकमा आउने महिलामध्ये ६० प्रतिशत महिला देखेँ । उनीहरूको समस्या निःसन्तान थियो । उनीहरूको आँखामा आँसु देखेर मेरो आँखामा पनि आँसु आउथ्यो । त्यतिबेला टेस्टट्युब बेबी जन्माएको चार लाख भारु पर्दथ्यो । मलाई लाग्यो त्योभन्दा कम शुल्कमा नेपालमै यो सेवा सुरु किन नगर्ने ? त्यसपछि हामी त्यसतर्फ लाग्यांै र तीन लाख नेरुमै स्वदेशमै सेवा दिन थाल्यौं । अहिले यो सेवा सफलताका साथ अगाडि बढिरहेको छ । दुई वर्षसम्म नियमित पतिपत्नीसँगै बस्दासमेत बच्चा जन्मेन भने निःसन्तानको समस्या आउँछ । नेपालमा १५ देखि २० प्रतिशतमा निःसन्तानको समस्या छ । यीमध्ये ८० प्रतिशतको त साधारण उपचार र परामर्शले नै समस्या हल हुन्छ ।
निःसन्तानको समस्या भएका २० प्रतिशतका लागि मात्र टेस्ट ट्युब प्रविधि हो । निःसन्तानको समस्या आउँदैमा टेस्ट ट्युब नै अन्तिम विकल्प भनेर सोच्नु भएन । टेस्ट ट्युब प्रविधिलाई बदनाम गर्न कृत्रिम भनिएको हो । यो कृत्रिम हुँदै होइन । हामी यो प्रविधिमा आमाको डिम्ब र बुबाको शुक्रकिट लिन्छौं । बाहिर फर्टिलाइज गर्छौं र आमाकै पेटमै राखिदिन्छौं । यो कसरी कृत्रिम भयो ? तर यदि कसैको शुक्रकिट र डिम्ब लिएर गर्भाधारण ग¥र्यौं भने त्यसलाई कृत्रिम भन्न मिल्छ । नेपालमा कृत्रिम गर्भाधारण भनेको १० प्रतिशतमात्र हो । ( डा. रिजालले राजधानीमा आयोजित एक कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश )
Leave a Reply