नवराज सुव्वा
एकजना झापाली राजवंशी महिलालाई प्रसूतिका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक सेवाको लागि लगियो । अस्पतालमा स्वस्थ शिशुको जन्म भयो । केही दिनपछि उनी बच्चासहित सामान्य अवस्थामा घर फर्किइन् । घर आइपुगेपछि आफ्नो कुल परम्परअनुसार शिशुको तालु खुर्कने काम गरियो । त्यसको केही दिनपछि तालु खुर्केको ठाउँमा घाउ संक्रमण भयो । र घर आइपुगेको एक हप्ता नबित्दै धनुष्टङ्कारबाट नवजात शिशुको मृत्यु भयो । नवजात शिशु आफ्नै जातीय कुल परम्पराको सिकार बन्न पुग्यो । अकालमै नवजात शिशुको ज्यान गयो । भन्नेले भन्लान् शिशुको भाग्यै त्यस्तो थियो । तर अहिले हामी त्यसरी चित्त बुझाउने अवस्थामा छैनौं । यो त एउटा उदाहरणमात्र हो । यस्ता थुप्रै परम्परागत प्रचलनहरूले बालमृत्यु र मृत्युदर बढाइरहेको छन् ।
आदिवासीका कतिपय सांस्कृतिक परम्परा र प्रचलन स्वास्थ्यका लागि अत्यन्त घातक छन् । झापामा बसोबास गर्ने आदिवासी राजवंशी समुदायमा नवजात शिशु जन्मनासाथ गरिने केही परम्परागत प्रचलन अस्वस्थकर छन् । जसले शिशुको ज्यान असमयमै लिने गरेको पाइएको छ ।
पहिलो घातक प्रचलन हो, शिशु जन्मिएपछि नाल काट्ने काम गर्नका लागि चमारलाई पर्खनु । चमार समयमा नै आएको खण्डमा त ठीकै छ । तर यदि समयमा नआएमा एक दिन दुई दिनसम्म पनि पर्खेर उसैको हातबाट मात्र नाल काट्ने प्रचलन रहेको छ । यसले एकातिर सुत्केरी महिलाको रक्तस्रावले ज्यान लिने सम्भावना उच्च हुन्छ । अर्कातिर बच्चाको स्याहारसुसारमा पनि प्रतिकूल असर पुग्दछ । यस अवधिमा आमा र शिशुको ज्यान जाने सम्भावना अत्यन्त उच्च रहन्छ ।
यसैगरी राजवंशी समुदायमा रहेको दोस्रो घातक प्रचलन हो, शिशुलाई स्तनपात ढिलो गराउनु । शिशु जन्मनासाथ जतिसक्दो चाँडो एक घन्टाभित्र शिशुलाई आमाको दूध खुवाउनुपर्नेमा ६ घन्टा वा १२ घन्टापछि आमाको दूध खुवाउने प्रचलन राजवंशी समुदायमा पाइएको छ । यसले शिशु मृत्युदरलाई उच्च बनाएको छ ।
झापाको राजवंशी समुदायमा रहेको तेस्रो घातक प्रचलन हो, शिशुको तालु जन्मनासाथ खौरनु । स्वास्थ्यको दृष्टिले सुरक्षित तरिकाले निर्मलीकृत ब्लेडको स्वच्छ ढंगले तालु खौरेको खण्डमा संक्रमण नहुन सक्छ । तर, निर्मलीकृत नगरिएको ब्लेड, छुराले तालु खौरँदा शिशुको तालुमा ब्याक्टेरियल संक्रमण भएर शिशुको ज्यानसम्म जाने गरेको छ ।
तराईका आदिवासी जनजाति राजवंशीमा रहेको स्वास्थ्यसम्बन्धी अस्वस्थकर प्रचलन हटाउन आवश्यक छ । महिला स्वास्थ्य स्वयम्सेविकाहरूले समुदायमा यस्ता कुप्रथाविरुद्ध स्वास्थ्य शिक्षा दिने गरेका छन् । स्वास्थ्यकर्मीहरूले पनि निरन्तर प्रयास गरेकै छन् । तर ती लक्षित समुदायमा सचेतना र सेवाको पहुँच अझै पुग्न सकेको छैन । राजवंशी समुदायमा मात्र नभएर अन्य समुदायमा पनि स्वास्थ्यका लागि घातक विभिन्न प्रचलनहरू छन् । यस्ता प्रचलन केही बिस्तारे हटिसकेका छन् भने केही हट्न बाँकी छन् । स्वास्थ्यका दृष्टिले घातक यी संस्कार हटाउन स्वास्थ्य निकायको एक्लो प्रयासले मात्र पुग्दैन । यसमा सबैको चासो र सरोकार हुनुपर्छ ।
Leave a Reply