हेल्थ टुडे
काठमाडौं, १५ मंसिर : अहिले ९ जना पूर्व स्वास्थ्य मन्त्री चुनावी मैदानमा छन् । वहालवाला स्वास्थ्य मन्त्री दीपक बोहोरालाई पनि जोड्दा यो संख्या १० पुग्छ । यी ९ जना पूर्व स्वास्थ्य मन्त्री र वाहलवाला स्वास्थ्य मन्त्री बोहोरा गरि १० जना मध्ये कसले मार्ला त बाजी ? कौतुहलताको बिषय बनेको छ । निर्वाचनमा मैदानमा रहेका पूर्व स्वास्थ्य मन्त्रीहरुमध्ये अधिकांश अनुहार राष्ट्रिय राजनीतिमै चर्चित भएकाले पनि पूर्व स्वास्थ्य मन्त्रीहरुको चुनावी दौडले चर्चा पाएको हो । पूर्व स्वास्थ्य मन्त्रीहरुमध्ये नेपाली कांग्रेसका युवा नेता गगन थापा, एमाओवादीका गिरिराजमणी पोखरेल, एमालेका खगराज अधिकारी, राजपाका राजेन्द्र महतो, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र एमाओवादीका शक्ति बस्नेत चुनावी दौडमा भएकाले यी पूर्व स्वास्थ्य मन्त्रीहरुको प्रतिस्पर्धा धेरैका लागि चासोको बिषय बनेको छ । पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं ४ बाट उम्मेदवार बनेका छन् । उनी २०७० को निर्वाचनमा यही क्षेत्रबाट अत्यधिक मत ल्याएर बिजयी भएका थिए । उनले वर्तमान उपराष्ट्रपति नन्दबहादुर पूनलाई पराजित गरेका थिए । अहिले थापाको प्रतिस्पर्धा एमालेका राजन भट्टराईसँग हुदैछ । भट्टराई यो क्षेत्रका लागि नौला उम्मेदवार हुन । उनी मतदाताबिच परिचित अनुहार होइनन् । यो भन्दा पहिले भट्टराईसँग चुनाव लडेको अनुभव नभएकाले, कार्यकर्ता नचिन्ने र निर्वाचन क्षेत्रका लागि केही नगरेका कारण पूर्व मन्त्री थापालाई चुनाव जित्न सहज हुने यस निर्वाचन क्षेत्रका मतदाता बताउछन् । स्वास्थ्य मन्त्री हुदा स्वास्थ्य सुधारका दर्जनौ काम अगाडि बढाउनुका साथै स्वास्थ्य विमा कार्यक्रम लागु गराउनु सक्नुलाई थापाको सफलताका रुपमा यस क्षेत्रका जनताले लिएका छन् ।
महोत्तरीबाट दुई पटक एमाओवादीबाट निर्वाचित पूर्व स्वास्थ्य मन्त्री एवं बहालवाला विना विभागिय मन्त्री गिरिराजमणि पोखरले यो पटक पनि महोत्तरी १ बाट चुनावी मैदानमा छन् । तिन पटक स्वास्थ्य मन्त्री भइसकेका पोखरेलले पहिलो पटक स्वास्थ्य मन्त्री हुदा स्वास्थ्यमा सकारात्मक कामको सुरुवात गरेर सफल मन्त्रीको रुपमा आफूलाई उभ्याए पनि उनको दोश्रो र तेश्रो कार्यकाल फलदायी रहन सकेन् । तेश्रो कार्यकालमा त उनले केही काम नै गर्न नसकी स्वास्थ्य मन्त्रीको जिम्मेवारीबाट हट्ेर विना विभागिय हुनु पर्यो । उनीभन्दा पहिले स्वास्थ्य मन्त्री भएका गगन थापाको अगाडि उनी फिक्का सावित भए । आफ्नो निर्वाचन क्षेत्रमा राम्रो पडक भएका कारण पोखरेलले चुनाव जित्ने बलियो संभावना छ । एमालेसँगको गठबन्धनका कारण पोखरेललाई केही फाइदा पुगेको छ ।
त्यसैगरि पूर्व स्वास्थ्य मन्त्री एवं राजपाका नेता राजेन्द्र महतो आफ्नो गृह जिल्ला सर्लाही छोडेर धनुषा ३ बाट चुनावी मैदानमा छन् । उनीसँग नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व गृह मन्त्री विमलेन्द्र निधि प्रतिस्पर्धामा छन् । यी दुईको कडा टक्कर हुने अनुमान छ । तर धनुषाका अर्को प्रभावशाली नेता संजय शाह ( जो अहिले जेलमा छन् ) को समर्थन निधिलाई हुने भएपछि भने महतोको अवस्था नाजुक मोडमा पुगेको छ । महतो २०७० को निर्वाचनमा पनि सर्लाहीबाट पराजित भएका थिए ।
एमालेका नेता एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी कास्की १ बाट उम्मेदवार बनेका छन् । आफू स्वास्थ्य मन्त्री हुदा पोखरामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न आफूले खेलेको भूमिकाको मूल्यांकन गर्दै उनी मत मागिरहेका छन् । २०७० को निर्वाचनमा पराजित भएका अधिकारी यो पटक जित्ने दाउमा छन् । तर वर्तमान कानून मन्त्री समेत रहेका यहाका लोकप्रिय नेता यज्ञबहादुर थापा नेपाली कांग्रेसबाट उम्मेदवार भएकाले अधिकारीलाई जित्न सजह भने छैन ।
त्यसैगरि पुर्व स्वास्थ्य मन्त्री एवं कांग्रेस नेता अर्जुननरसिंह केसी नुवाकोट २ बाट मैदानमा छन् । वामगठबन्धनका नारायण खतिवडासँग उनको कडा टक्कर रहेको छ । यी दुईमा कस्ले बाजी मार्ला भन्न नसकिने यहाँका मतदाता बताउछन् ।
कैलाली ३ बाट उम्मेदवार बनेको पुर्व स्वास्थ्य मन्त्री राजजनम चौधरीलाई भने चुनाव जित्न सहज छ । यो क्षेत्रमा थारु मतदाताको बाहुल्यता रहेकाले पूराना नेतालाई सहज भएको हो । लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा बिलय भएपछि चौधरीलाई चिठ्ठा परे जस्तै भएको छ । उनी यस अगाडिका चुनावमा पनि बिजय बन्दै आइरहेका छन् । जाजरकोटबाट चुनावी मैदानमा रहेका पूर्व स्वास्थ्य मन्त्री एवं एमाओवादी नेता शक्ति बस्नेतलाई पनि चुनाव जित्न सहज छैन । नेपाली कांग्रेस जाजरकोटका लोकप्रिय नेता राजिव विक्रम शाहसँग बस्नेतको कडा टक्कर हुने अनुमान छ । जाजरकोटका विपन्न जनताको स्वास्थ्य उपचारका लागि निजी खर्चमा सुविधा सम्पन्न अस्पताल बनाउनेदेखि महामारीका बेला आफ्नै खर्चमा हेलिकोप्टर मार्फत औषधि लगेर उपचार सेवा दिएर शाही जनता माझ लोकप्रिय बनेका छन् । जाजरकोटमा कडा टक्कर हुने र कस्ले बाजी मार्ला भन्न सकिने अवस्था नभएको स्थानियवासी बताउछन् । त्यसैगरि पूर्व स्वास्थ्य मन्त्री एवं संघिय समाजवादी फोरममा नेता अशोक राई सुनसरी १ बाट र अर्का पूर्व स्वास्थ्य मन्त्री सरदसिंह भण्डारी सर्लाहीबाट उम्मेदवार छन् । यी दुबैको अवस्था बलियो नभएको स्थानियवासी बताउछन् । वर्तमान स्वास्थ्य मन्त्री दीपक बोहोरा रुपन्देही ३ बाट राप्रपाबाट उम्मेदवार छन् । उनको प्रतिस्पर्धा एमालेका घनश्याम भूषालसँग छ । नेपाली कांग्रेसको समर्थन पाएका मन्त्री बोहोरा र एमाओवादीको समर्थन पाएका भूषालबिच कस्ले बाजी मार्ला भन्न सकिने अवस्था नभएको विश्लेषक बताउछन् ।
Leave a Reply