हेल्थ टुडे,
काठमाडौं, ११ जेठ : नेपाल परिवार नियोजनको महानिर्देशकमा पुन : केपी बिष्ट नियुक्त भएका छन् । बिष्टले शुक्रबारदेखि कार्यभार सम्हालेकाछन् । संघमा उनी तेश्रो पटक महानिर्देशक भएका हुन । यो भन्दा पहिले बिष्टले दुई पटक ( सन् २००७ र २०११ मा ) संघलाई सफल नेतृत्व प्रदान गरिसकेका छन् । संकटमा रहेको संघलाई अहिले पनि सफल नेतृत्व दिन सक्ने अनुभवी र असल व्यवस्थापकको रुपमा बिष्टलाई नेतृत्वमा ल्याइएको हो । चार वर्षपहिले बिष्टले छोडेपछि संघमा नेतृत्वको संकट देखिएको थियो । बिष्टलाई परिवार नियोजन तथा मातृशिशुको क्षेत्रमा साडे तीन दशक बढीको अनुभव छ ।
त्रिचन्द्र कलेजमा स्नातकको पढाईसंगै परिवार नियोजन तथा मातृशिशु परियोजनाबाट जागिर सुरु गरेका बिष्टले कनिष्ठदेखि बरिष्ठ पदसम्म सरकारी, गैरसरकारी र संयुक्त राष्ट्रसंघिय परियोजना (डिएफआईडी, युएनएफपीए, एफएचआई लगायत) मा काम गरिसकेका छन् । सबैलाई मिलाउन सक्ने, सही बेलामा सही निर्णय गर्न सक्ने, दातृ निकायबाट बजेट बढाउन सक्ने र संघलाई सबैभन्दा बढी बुझेको व्यक्तिका रुपमा बिष्टलाई लिइन्छ । बिष्टको नियुक्तीले संघलाई सही दिशा दिने विश्वास सरोकारवालाहरुले गरेका छन् । तिन महिना पहिले देउवा नेतृत्वको सरकारले अमु सिजापती तत्कालिन संघको नेतृत्वलाई बिगठन गरेर छत्र गिरीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । वर्तमान समितिलाई संघको नयाँ नेतृत्व निर्वाचन गर्ने अभिभारा सुम्पिएको छ ।
Leave a Reply