हेल्थ टुडे
भक्तपुर : नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एक जना व्यक्तिका मिर्गौला उपचाररत दुई जना मिर्गौला फेल भएका विरामीमा प्रत्यारोपण गर्न सफल भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रलाई दोश्रो पटक पनि यो काममा सफलता मिलेको छ । केन्द्रको यो दोश्रो सफलताले मिर्गौला फेल भएका दुई जनाले नयाँ जिवन पाएका छन् । ब्रेन डेथ भएका व्यक्तिका आफन्तले अंग दान गर्न राजी नहुने र उक्त व्यक्ति उपचाररत अस्पतालले समयमै केन्द्रलाई खवर नगर्ने प्रवृतिका कारण चाहेर पनि १८ महिनासम्म केन्द्रले ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला लगायतका अंग उपचाररत विरामीमा प्रत्यारोपण गर्न सकेको थिएन । केन्द्रले नेपालमै पहिलो पटक प्रत्यारोपण विद् समेत रहेका केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा २०७४ बैसाख २८ गते बे्रन डेथ भएका व्यक्तिको मिर्गौला उपचाररत दुईजना मिर्गौलाका विरामीमा प्रत्यारोपण गरेको थियो । त्यसको १८ महिनापछि केन्द्रले कार्तिक १२ गते दोश्रो पटक एकजना ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला झिकेर दुई जना मिर्गौलाका विरामीमा प्रत्यारोपण गरेको हो । केन्द्रका अनुसार ब्रेन डेथ भएका सर्लाहीका ७२ बर्षिय टेक बहादुर योञ्जनबाट प्राप्त दुई वटा मिर्गौला वीर अस्पताल र केन्द्रमा उपचाररत दुई वटा मिर्गौला विरामीमा प्रत्यारोपण गरिएको हो ।
योञ्जनको ब्रेन हेमेरेजका कारण मष्तिस्क मृत्यु भएको भनी न्यूरोलोजिष्ट डा. प्रविण श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट चिकित्सक डा. आरती राई र डा. निरज हिराचनले ललितपुर महालक्ष्मी स्थानमा रहेको गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिर्सच सेन्टरमा घोषणा गरेका थिए । अस्पतालका चिकित्सक डा. हिराचनले विरामीका परिवारलाई मस्तिष्क मृत्यु भएको व्यक्ति मरेर गएता पनि अरु व्यक्तिलाई बचाउन सक्ने कुरा बुझाएपछि अंग दन गर्न मञ्जुर भएका थिए । मस्तिष्क मृत्यु भएको व्यक्तिवाट अंग झिक्ने काममा गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिर्सच सेन्टरका प्रमुख कार्यकारी निर्देशक मिलन गुरुङ्ग, पोष्टमार्टम विज्ञ डा. हरिहर अवस्थी, जिल्ला प्रहरी परिसर ललितपुरवाट खटिएका प्रहरी नायव निरिक्षक रामविहारी राउत, केन्द्रका शाखा अधिकृत हरिहर पोख्रेल, ट्रान्सपलान्ट कोर्डिनेटर सनिषा कार्की र अधिवक्ता शुसील श्रेष्ठले सहयोग गरेका थिए ।केन्द्रका चिकित्सक डा.कल्पना श्रेष्ठ, प्रा.डा.राकेश बर्मा, डा मोहनदेव भण्डारी, डा. विजय कटुवाल, डा दिपेश श्रेष्ठ, डा निभा श्रेष्ठ, डा. रेखा श्रेष्ठ, डा किरण जंगकुवर, डा शोभित थापा, नर्सिङ्ग निर्देशक दुर्गा श्रेष्ठ डा.मेघा जोशी, डा.अमृत के.सि, डा लक्ष्मी प्रसादत्वयाना, ओटी इन्चार्ज सिजन गुरुङ लगायतको संयुक्त प्रयासमा प्रत्यारोपण सफल भएको केन्द्रले जनाएको छ । । गाडेर खेर जाने वा जलेर खरानी हुने शरीरका अंगहरु दान दिन सके एक जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट ८ वटा अंगहरु २ वटा मृगौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुुटु, १ प्याङ्क्रियाज, १ सानो आद्रा लगायतका अंगहरु दान गरी ८ जनाको ज्यान बचाउन सकिने भएकाले अंगदानलाई बढावा दिनु पर्ने प्रत्यारोपण विज्ञ समेत रहेका केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । प्रत्यारोपण सफल भएको अवसरमा मंगलबार केन्द्रका आयोजना गरिएको कार्यक्रममा अंगदाताका परिवारलाई सम्मानपत्र सहित सम्मानित गरिएको थियो । कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, ‘ यो कार्य सबैको अथक परिश्रमले संभव भएको हो । मृत्यू पश्चात हुने अंगदानको कानून बने पनि हामीले सोचे जस्तो सफलता हासिल गर्न सकेका छैनौ । जनचेतना जगाएर अंगदानलाई बढाउनु पर्छ । ’ मृत्यू पश्चात अंगदान दिने र अंग प्रत्यारोपणलाई प्राथमिकता दिन सके मात्र देश अंग प्रत्यारोपणमा आत्मनिर्भर हुनेमा डा. श्रेष्ठले जोड दिए ।
Leave a Reply