हेल्थ टुडे,
काठमाडौं, ५ माघ : १६ औं पटक अनसन बसिरहेका त्रिवि शिक्षण अस्पतालका हाडजार्नी विशेषज्ञ डा.गोविन्द केसीको जिवन रक्षाका लागि सरकारले तत्काल पहल नगरे अप्रिय कदम चाल्न पछि नपर्ने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ । अनसन बसेको ११ दिन भइसक्दा समेत सरकारले डा. केसीसँग गरेको सम्झौता कार्यन्वयन गर्न कुनै चासो नदेखाएकोमा गम्भिर चिन्ता व्यक्त गर्दै संघले शनिबार विज्ञप्ति मार्फत तत्काल केसीका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।
सरकारको तर्फबाट गरिएको सम्झौताका सम्बन्धमा आफू अनुकुल व्याख्या गर्दै भ्रम सिर्जना गर्न खोजिएकोमा समेत संघले विरोध गरेको छ । संघका महासचिव डा. लोचन कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अग्रसरतामै गरिएको सम्झौताका सम्बन्धमा प्रधानमन्त्रीबाटै अलग परिस्थितिमा सम्झौता भएकोले संसदलाई आदेश गर्न नसक्ने भन्ने अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले नेपाल राष्ट्रको इज्जत र प्रतिष्ठामाथी नै आँच पुग्न गएको छ । ’
नेपाली जनतालाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि चिकित्सा शिक्षाका अभियन्तासँग सरकारले बारम्बार सम्झौता गर्ने, अनि सम्झौताको मसी सुक्न नपाउँदै सरकारकै तर्फबाट उल्लंघन गर्ने परिपाटीले नेपाल सरकारको गरिमा र छवीमाथी गम्भिर शंका उत्पन्न गरेकोमा संघले आपत्ति प्रकट गरेको छ । संघले भनेको छ, ‘सरकारनै गैरजिम्मेवार रुपमा प्रस्तुत भएर सम्झौता विपरितका क्रियाकलापलाई नै बढवा दिदै जाने हो भने समाजका बुद्धिजीवि, नागरिक समाज, विद्यार्थीहरु, स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा सम्पूर्ण सर्वसाधारण जनताको विश्वास र भरोसाको बाँध नभत्किएला भन्न सकिदैन । ’ नेपाली जनताको स्वास्थ्य सेवाका लागि आफ्नो ज्यानको बाजी लगाएर सत्याग्रहमा लाग्नु भएका डा.केसीको जीवन रक्षाका निम्ती संघ कुनै पनि बेला अप्रिय कदम उठाउन बाध्य हुने र त्यसबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार नेपाल सरकार हुनु पर्ने संघले चेतावनी दिएको छ । संघका एक सदस्यका अनुसार डा.केसीको जिवन रक्षाका लागि संघले अस्पताल बन्दसम्मका कार्यक्रम अगाडि सार्ने जानकारी दिएको छ ।
Leave a Reply