हेल्थ टुडे,
चितवन, १९ फागुन : सातौँ फर्मा तथा हेल्थ एक्स्पो आइतबार चितवनमा सफलताका साथ सम्पन्न भएको छ । नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले मरणोपरान्त अंगदानको सामाजिक अभियान सहित चितवनस्थित प्रदर्शनी स्थलमो तिन दिनसम्म चलेको एक्स्पो सफलताका साथ सम्पन्न भएको एप्पोनका अध्यक्ष दीपकप्रसाद दाहालले बताए । गुणस्तर, नविनतम प्रविधि र विकासबारे जानकारी दिने लक्ष्यका साथ आयोजना गरिएको उक्त एक्स्पोमा औषधि कम्पनी, अस्पताल, उपकरणजन्य कम्पनी गरि स्वदेशी तथा विदेशी गरी २ सय भन्दा बढी स्टल राखिएको थियो ।
एप्पोनले यस पटक एक्स्पोमा औषधिसंगै मरणोपरान्त अंगदानको सामाजिक अभियानलाई अगाडि सारेकोले अन्य वर्षहरुका एक्स्पो भन्दा यस बर्षको पृथक र सफल रहेको एक्स्पोका मिडिया कोअर्डिनेटर विप्लप अधिकारीले बताए । शुक्रबार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको आतिथ्यमा एक्स्पोको उदघाटन गरिएको थियो भने शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको उपस्थितिमा मरणोपरान्त अंगदान सम्वन्धी सामाजिक अभियानको थालनी गरिएको थियो । उपप्रधानमन्त्री यादवले उदघाटन गरे लगत्तै एपोनका अधिकारी, औषधि उद्योगी, व्यावसायी गरी ४ सय बढीले मरणोपरान्त अंगदान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका छन । ‘अरु ५०० बढीले अंगदान अभियानलाई सकारात्मक भन्दै मञ्जुरीनामाको फारम लगेका छन् । उनीहरुबाट पनि छिटै प्रतिवद्धता आउनेछ,’ मिडिया कोअर्डिनेटर अधिकारीले भने । एप्पोनका अध्यक्ष दाहालले जिउदो छँदा रक्तदान र मरेपछि अंगदान भनेर अभियान अघि बढाउन लागेको बताए ।
‘हामीले पनि सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ भनेरै यो अभियानमा सहभागी भएका हौँ ।’ उनले भने । एप्पोनले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरसंग मिलेर मरणोपरान्त अंगदान गर्ने अभियान अघि बढाएको हो । एक्स्पोमा सहभागी हुन चितवन पुगेका केन्द्रका कार्यकारी निर्देशक एवं अंग प्रत्यारोपणविज्ञ डा पुकारचन्द्र श्रेष्ठले जनचेतनाका कमिले मरणोपरान्त मरणोपरान्त अंगदान गर्नेको संख्या न्यून रहेको जानकारी गराउदै यस किसिमको अभियानमा सहकार्य गरेकोमा एप्पोनलाई धन्यवाद दिएका थिए ।
Leave a Reply