हेल्थ टुडे,
काठमाडौ,बैशाखः राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्र्तगत देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाईदै छ । बैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।
करिब ३८ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको हो । यसका लागि ४८ हजार महिला स्वास्थ्य स्वयम् सेविका खटाइएको बाल स्वास्थ्य महाशाखा अन्तर्गतको खोप शाखाले जनाएको छ ।आज छुटेका बालबालिकालाई भोलि पनि भिटामिन र औषधि खुवाइनेछ । सरकारले वैशाख ५ र ६, कार्तिकको २ र ३ गते गरी वर्षको दुई चरणमा भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको महाशाखाले जनाएको छ ।
यसका साथै, शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण कार्यक्रम रहेको छ। कर्मचारी समायोजनको कारण स्वास्थ्यकर्मीमा देखिएको अन्यौलले केही स्थानमा भने खोप कार्यक्रम प्रभावित हुने देखिएको छ ।
तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाइ सहजीकरण गर्न निर्देशन दिईसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ए कार्यक्रमको सहजीकरणका लागि सबै स्थानीय तहलाई सूचित गरिदिन चैत १३ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।
स्वास्थ्य मन्त्रालयको अनुरोध अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहबाट सहयोग समन्वय र प्रचारपचारमा सहजीकरण गरी अभियान सफलतापूर्वक संचालन गर्न स्थानीय तहलाई निर्देशन दिएको थियो । यस अघि जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्ना जिल्लामा कार्यक्रम संचालन गर्दै आएका थिए । संघीयतापछि भने देशभरका ७ सय ५३ स्थानीय तहले यो कार्यक्रम गर्ने जिम्मेवारी पाएका छन् ।
Leave a Reply