हेल्थ टुडे,
हुम्ला,२६ जेठः तराईका जिल्लाहरुमा मात्र देखा पर्ने औलो रोग पछिल्लो समय हिमाली जिल्ला पनि देखिन थालेको छ । गएको वर्षमा हिमाली जिल्ला मुगु, बाजुरा र हुम्लामा औलो रोग देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले एक साताभित्र हुम्लाका दक्षिणी ताँजकोट, अदनचुली, सर्केगाढलगायतका गाउँपालिकामा १५ जनामा औलो रोग देखा परेको जनाएको छ ।
महाशाखाबाट खटिएका चिकित्सक अरुणप्रसाद चौधरीले गर्मीको समयमा तराईका अधिकांश जिल्लामा देखा पर्ने औलो पछिल्लो समय हिमाली जिल्ला हुम्लाका कर्णाली नदी छेउछाउका बस्तीमा देखा परेको जानकारी दिए । चौधरीले १ हजारदेखि २५ सय फिट उचाईमा रहेको बस्तीमा जाँच गर्दा औलो बिरामी फेला परेको बताए ।
सरकारले सन् २०२५ सम्म नेपालमा औलो रोग निवारण गर्ने उद्देश्य राखे पनि हिमाली जिल्ला हुम्लामा भने १५ जनामा औलो रोग भेटिएको छ । हिमाली जिल्लाहरुमा तापक्रम बढेपछि मुगु, बाजुरा र हुम्लामा औलोको लक्षण देखा परेको छ । हिमाली १० वटा जिल्लामा औलो रोग नहुने भनिए पनि हुम्ला बाजुरा र मुगुमा यो रोग देखा परेको महाशाखाले जनाएको छ ।
Leave a Reply