पदमराज जोशी/
नेपाल चिकित्सक संघको चुनावका कारण माघको जाडोमा पनि चिकित्सकहरूबीचको माहोल गर्माएको छ । चिकित्सक र बिरामीहरूसँग सदा न्यानो सम्बन्ध राख्दै आएका डा. लोचन कार्की यसपालि अध्यक्ष पदमा भिड्दैछन् । संघको महासचिवका रूपमा चिकित्सकको हकहित, सुरक्षा, सुविधा तथा बिरामी र चिकित्सकबीचको विश्वास बढाउन आफ्नो तर्फबाट हरसम्भव पहल गरेका डा. लोचन आफू अध्यक्ष हुनेमा पूर्ण विश्वस्त छन् । देशभरका चिकित्सकले आफ्नो कामको सही मूल्यांकन गरेकाले संघलाई अझ प्रभावकारी बनाउन आफूलाई नेतृत्वमै पु¥याउनेमा उनी आशावादी छन् ।
चिकित्सा सेवा र संगठन यात्रामा डा. लोचनको पृष्ठभूमि सार्थक, संघर्षमय र समर्पित देखिन्छ । आजको उचाइसम्म उनी त्यसै पुगेका छैनन्, यसको दरिलो सिलसिला छ ।
संगठनमा लाग्ने सानैदेखिको बानी
बुवा तोरण कार्की र आमा कमला कार्कीको कोखबाट २०३४ माघ १३ मा भोजपुरको प्याउलीमा जन्मिएका डा. लोचन कार्कीको शिक्षादीक्षा विराटनगरमा भयो । विराटनगरको सेन्ट जोसेफ स्कुलबाट एसएलसीसम्मको अध्ययन पूरा गरेका उनले काडमाडौं विश्वविद्यालयबाट आईएससी पास गरे । छोरालाई डाक्टर पढाउने कार्की परिवारमा सल्लाह चलिरहेकै थियो, नभन्दै एमबीबीएस पढ्न लोचन बंगलादेश गए ।
बंगलादेशको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी, चटगाउँबाट २०६१ सालमा एमबीबीएस गरेका लोचनको इन्टर्न भयो, वीर अस्पतालमा । दुई वर्ष काठमाडौं मेडिकल कलेज र हिमाल हस्पिटलमा पनि काम गरे । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) बाट २०६६ मा इन्टरनल मेडिसिनमा एमडी (विशेषज्ञता) हासिल गरे । त्यसपछि उनले वीर अस्पतालमै सेवा सुरु गरे । उनी अहिले वीर अस्पतालमा इन्टरनल मेडिसिन विभागमा सहप्राध्यापक छन् ।
डा. लोचन सानै उमेरदेखि हक्की स्वभावका थिए । अन्यायविरुद्ध आवाज बुलन्द गरिहाल्ने उनको स्वभाव अहिले पनि उस्तै छ । विराटनगरको सेन्ट जोसेफ स्कुल पढ्दादेखि नै विद्यार्थी संगठनमा संलग्न भएका लोचनले केयूमा पढ्दा पनि ‘इस्टुडेन्ट वेलफेयर काउन्सिल’ सँग आबद्ध भएर विद्यार्थी हकहितका पक्षमा थुप्रै काम गरे । बंगलादेशमा एमबीबीएस पढ्दा पनि नेपाली विद्यार्थीको संंगठनमा काम गरे । लोकतन्त्रप्रति आस्था राख्ने परिवारमा हुर्के बढेकाले होला उनी हक अधिकारका विषयमा बढी चनाखो रहन्थे र सँगसँगै कर्तव्यमा पनि जागरूक । वीरमा कार्यरत रहँदा उनी ‘रेजिडेन्ट डाक्टर्स एसोसिएसन’को नेतृत्वमै रहे ।
न्याम्सबाट एमडी सकेकै वर्ष सन् २०१० मा उनी नेपाल चिकित्सक संघको केन्द्रीय सदस्य निर्वाचित भए । कान्छो उम्मेदवार तर सबैभन्दा बढी मतका सात सानदार जित हासिल गरेको क्षण सम्झँदा उनी गौरवान्वित हुन्छन् । सत्यका पक्षमा कहिल्यै टसमस नहुने, डाक्टरहरूको आवाजलाई बुलन्द गर्न सक्ने, संगठनलाई समय दिन सक्ने गुणकै कारण उनलाई देशभरिका डाक्टरहरूले मन पराए । फलस्वरूप, सन् २०१३ मा उनी चिकित्सक संघको सहसचिवमा निर्विरोध निर्वाचित भए र स्वास्थ्य सेवा, चिकित्सकको हकअधिकारबारे धेरै कुरा सिक्ने र गर्ने मौका पाए ।
सन् २०१७ मा चिकित्सक संघको महासचिव निर्वाचित डा. लोचनले अध्यक्षपछिको यो कार्यकारी पदको जिम्मेवारी डटेरै निर्वाह गरे । चिकित्सकको हक, अधिकारका लागि उनले आन्दोलनमै उत्रनुप¥यो । चिकित्सकलाई सडकमा समेत ओरालेर उनले सरकारलाई वार्ताका लागि सहमत गराए । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूको सुरक्षा, सेवासुविधा, पढ्ने अवसर, वृत्ति विकासमध्ये केही मागलाई कार्यान्वयनको तहसम्मै पु¥याए भने केही कार्यान्वयनको चरणमा छन् ।
हुन त डा. लोचनसँगैका चिकित्सक सरकारी अस्पताल, निजी क्लिनिक धाएर राम्रै कमाइ गरिरहेका छन् । कसैकसैले आफ्नै अस्पताल पनि खोलेका छन् भने कोही राम्रो कमाइको आसले विदेश पलायन पनि भएका छन् । तर डा. लोचनले त्यसो गरेनन् । अधिकांश समय संघमै समर्पित भए । ‘पेसांगत संगठनमा कसै न कसैले त लाग्नै प¥यो नि । संगठन दह्रो भयो भने मात्र आफू पनि सुरक्षित भइन्छ र अरूलाई पनि सुरक्षित राख्न सकिन्छ । मेरो अरू कुनै स्वार्थ छैन’, चिकित्सक संंघमै बढी समय दिनुको कारण स्पष्ट गर्दै उनी भन्छन् ।
एजेन्डा ः सुरक्षा, सु्विधा र सिट
नेपाल चिकित्सक संघमा अहिले करिब १० हजार चिकित्सक सदस्य छन । डा. लोचनको अनुभवमा अहिले नेपालका चिकित्सकको मुख्य समस्या सुरक्षा हो । ‘उपचारका क्रममा बिरामीको मृत्यु भएपछि त्यसलाई चिकित्सकको लापरबाहीसँग जोडेर आन्दोलन, हूलहुज्जत, चिकित्सकमाथि हातपात, अस्पताल तोडफोड र लाखौंलाख क्षतिपूर्ति माग गर्ने प्रवृत्ति बढ्दै गएकाले अहिले सुरक्षा नै चिकित्सकको सबैभन्दा ठूलो समस्या भएको छ’, उनी भन्छन् ।
संघको महासचिवको तीनबर्से कार्यकालमा हरेक साता स्वास्थ्य संस्था र चिकित्सकमाथि हुने हातपातविरुद्ध विज्ञप्ति निकाल्दै, सरोकारवालालाई बुझाउँदै, ज्ञापनपत्र बुझाउँदै र आन्दोलन गर्दै बिताउनु परेको उनको अनुभव छ । आफू सुरक्षित भएपछि मात्र चिकित्सकले उपचार गर्ने वातावरण बन्ने उनको ठम्याइँ छ । सुरक्षापछि चिकित्सकको समस्या भनेको सेवासुविधा हो । आईएस्सी पास गरी आठ वर्ष चिकित्सा शिक्षा पढेपछि बल्ल विशेषज्ञ चिकित्सक बन्न पाइन्छ । ठूलो मेहनत र लगानीपछि मात्र त्यो सम्भव छ । ‘एक जना डाक्टर उत्पादन गर्न परिवारले ठूलो लगानी गरेको हुन्छ । समय र मेहनतको कुरै नगरौं । तर, सरकारले परिवार पाल्न सक्ने तलबसम्म तोकेको छैन । ४० हजार तलबले अहिलेको महँगीलाई थेग्न सक्दैन । चिकित्सकहरूको तलब सुविधा कम्तीमा पनि अहिलेको भन्दा दोब्बर पार्नुपर्छ’, उनी भन्छन् ।
नेपालमै एमबीबीएस पास गर्ने चिकित्सकको संख्या अहिले दुई बर्सेनि हजारको हाराहारीमा छ । एमबीबीएसले मात्र धेरैको पढाइ पुग्दैन । विशेषज्ञ चिकित्सक (एमडी, एमएस) पढ्ने चाहना धेरैको हुन्छ । ‘हाम्रो देशमा ती सिट एकदमै न्यून छन् । ती सिट बढाइएका छैनन् । हो, समस्या यही छ । अब सरकारले सिट बढाउनुपर्छ’, उनको आग्रह छ ।
‘जेल विदआउट बेल’
सुरक्षा, सुविधा र सिट, यी तीनवटै समस्या सजिलै हल हुने होइनन् । डा. लोचनले यी समस्या समाधानका लागि महासचिवका रूपमा धेरै प्रक्रिया अगाडि बढाएका छन् । केही कार्यान्वयनको चरणमा छन् त केही मुद्दामा अझै सरकारलाई दबाब दिनुपर्ने अवस्था छ । चिकित्सक संघको बारम्बारको माग, धर्ना र दबाबपछि २०६६ सालमा सरकारले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सुरक्षा ऐन ल्यायो । त्यसको तीन वर्षपछि २०६९ मा नियमावली आयो । यो ऐनले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात गर्ने र हूलहुज्जत गर्नेमाथि कारबाही हुने व्यवस्था भयो । तर यसरी आक्रमण गर्नेलाई धरौटीमा रिहा गर्न सक्ने व्यवस्थाको फाइदा उठाउँदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका शृंंखला आशा गरेअनुसार घटेनन् । त्यसपछि चिकित्सक संघले ‘जेल विदआउट बेल’को व्यवस्था गर्नुपर्ने माग अगाडि सा¥यो । ‘जेल विदआउट बेल’ भनेको स्वास्थ्य संंस्था र स्वास्थ्यकर्मी माथि आक्रमण गर्नेलाई धरौटीमा छोड्न नपाइने भन्ने हो । अदालती प्रक्रियासम्म पुगेपछि मात्र दोषी देखिए सजाय हुने र नदेखिए छोडिनुपर्ने व्यवस्था हो । ऐनमा यही व्यवस्था थप्नका लागि चिकित्सक संघले ठूलो आन्दोलन गर्नु परेको डा. लोचन बताउँछन् ।
२०७४ साल असोज दसंैका बेला हजारौं चिकित्सक सुरक्षाको माग गर्दै सडकमा ओर्लिए । असोज १३ गते सरकार चिकित्सक संंघको माग पूरा गर्न मागमा सहमत भयो । ऐन र नियमावली परिमार्जन गरी ‘जेल विदआउट बेल’को व्यवस्था थप्न स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालय सहमत भयो । यो प्रक्रिया अहिले मन्त्रिपरिषद्मा पुगेको छ । मन्त्रिपरिषद्ले पास गरेपछि त्यसलाई संसद्ले पनि परिमार्जनसहित पास गनुर््पर्ने हुन्छ, जुन प्रक्रिया पूरा हुनै बाँकी छ । मन्त्रिपरिषद्सम्म पु¥याउन पनि निकै पापड पेल्नु परेको डा. लोचनको अनभुव छ ।
चिकित्सक संघकै आन्दोलन र दबाबका कारण अस्पताल तोडफोड गर्नेहरूमाथि कारबाही चलाएर जरिबानासमेत भराउन सफल भएको छ । गत महिना चितवन मेडिकल कलेज तोडफोडमा संलग्नलाई पक्राउ गरेर ११ लाख रुपैयाँ जरिबाना तिरेको घटना ताजै भएको उनी स्मरण गर्छन् ।
विश्वास बढाउने पहल
चिकित्सक असुरक्षित मात्र हैन, बिरामीको उपचारमा हुने लापरबाहीका घटना पनि बढी रहेका छन् । चिकित्सक र बिरामीबीच अविश्वासको खाडल बढ्दै जानु चिन्ताको विषय हो, यसप्रति डा. लोचन चिन्तित र सजग छन् । ‘चिकित्सक र बिरामीबीचको सम्बन्ध सुमधुर बनाउन हामीले केही काम गरिसकेका छांैं र केही गर्न बाँकी छन्’, उनी भन्छन् ।
स्वास्थ्य सेवा लिएबापत बिरामीसँग अतिरिक्त ५ प्रतिशत सेवा शुल्क लिने प्रावधानलाई चिकित्सक संंघकै दबाबमा सरकारले हटाएको छ । सेवा शुल्कमा लाग्ने १३ प्रतिशत भ्याटसमेत हटाउन चिकित्सक संघ भिडिरहेको छ । यसका साथै बिरामीको उपचारका लागि नेसनल गाइडलाइन बनाउन सरकारलाई दबाब पनि दिइरहेको छ । यसले चिकित्सक र बिरामीको सम्बन्ध सुधार हुनेमा उनी आशाबादी छन् ।
पछिल्ला दिनमा ल्याब टेस्टका नाममा बिरामीबाट चिकित्सकले बढी शुल्क लिने गरेको आरोपलाई पनि डा. कार्कीले नजिकबाट बुझेका छन् । उपचारका क्रममा रोग पत्ता लगाउन ल्याब टेस्ट नै नगरी कसरी हुन्छ ? तर बिरामी र आफन्तको आरोपप्रति उनी सचेत छन् । ‘यो सबै चिकित्सकको सुरक्षासित जोडिएको विषय हो । सुरक्षा नभएकाले रक्षात्मक मानसिकताका साथ उपचार गर्न बाध्य छौं । जोगिएर काम गर्नु परेको छ’, उनी भन्छन्, ‘कतिखेर कसले लापरबाहीको आरोपमा आक्रमण गर्ने हो थाहा छैन ।’ यही कारण टाउको दुखेर कोही बिरामी आयो भने ‘सिटी स्क्यान गरेर हेरौ न त’ भन्नु परिरहेको उनी बताउँछन् । पहिले डाक्टर अलि अनुभव, अलि विश्वास, अलि जाँच र अलि रिस्कका आधारमा उपचार गर्थे । अहिले त्यो वातावरण नभएकाले टेस्टमा विश्वास गर्न थालिएको उनको स्पष्टोक्ति छ ।
अवश्य हुनेछ, कामको मूल्यांकन
डा. लोचन कार्की अहिले चुनावी चटारोमा छन् । नेपाली डाक्टरहरूको छाता संगठन नेपाल चिकित्सक संंघको नयाँ नेतृत्वका उनी प्रमुख दाबेदार हुन । चिकित्सक संघको नयाँ नेतृत्वका लागि लोकतान्त्रिक समूहबाट १३ जना चुनावी मैदानमा छन् । लोकतान्त्रिक समूहबाट अध्यक्ष अर्थात् लिडर हुन् डा. लोचन । उपत्यका बाहिर यही माघ ३ र ४ गते निर्वाचन भइसकेको छ । उपत्यकामा भने यही माघ १७ देखि २१ सम्म मतदान हुँदैछ । मतदान र मतगणना सकिएपछि नयाँ नेतृत्वको अन्तिम फैसला हुनेछ । देशव्यापी चुनावी दौड सकेर भर्खर काठमाडौं फर्किएका डा. लोचन उत्साहित छन् । भन्छन्, ‘चिकित्सक संघको महासचिवका रूपमा मैले गरेका कामबाट सबै साथीहरू सन्तुष्ट हुनुहुन्छ । युवा चिकित्सकको वृत्ति विकासलगायतका थुप्रै काम पूरा हुने चरणमा छन् । ती कामलाई टुंगोमा पु¥याउनकै लागि म नेतृत्व लिन तयार भएको हुँ ।’
विगतका निर्वाचनजस्तै यसपटक पनि आफूले सबैको आशीर्वाद पाउनेमा डा. लोचन आशावादी छन् । संघमा कार्यरत रहँदा यस क्षेत्रका समस्या र समाधानका बाटाहरू देखेका डा. लोचन अध्यक्ष निर्वाचित भएपछि एक दिन पनि विलम्ब नगरी सीधै समस्या समाधानतिर लाग्ने प्रतिबद्धता व्यक्त गर्छन् । ‘मेरो नेतृत्वमा संघले प्रगति गर्न सक्छ भन्ने चिकित्सकहरूको विश्वास नै मेरो जितको बलियो आधार हो’, उनी भन्छन्, ‘हाम्रा सार्थक एजेन्डाकै कारण लोकतान्त्रिक टिमले विजय हासिल गर्ने पक्का छ ।’
Leave a Reply