हेल्थ टुडे,काठमाडौँ, ६ मंसिर – नेपालमा पनि विश्व अकुपन्चर दिवस मनाइएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रमको सभामुख देवराज घिमिरेले उदघाटन गरेका हुन ।प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विश्व अकुपंचर दिवसको अवसरमा आयोजित कार्यक्रममा बैकल्पिक चिकित्सा सेवाका विविध पक्षहरूलाई व्यवस्थित रूपमा अगाडि बढाउन सुझाव दिएका छन्।
नेपाल अकुपंचर मोक्जिबुसन एण्ड एक्युप्रेसर एसोसिएसन र चाइनिज मेडिसिन डाक्टर्स सोसाइटी अफ नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले अकुपंचर, मोक्जिबुसन र अकुप्रेसर सेवाहरू नेपालमा लोकप्रिय भइरहेको बताए।
एसोसिएसनका अध्यक्ष सुदर्शन बस्नेतले नेपालमा अकुपंचरप्रति जनविश्वास बढ्दै गएको जानकारी दिए। उनले आगामी वर्षहरूमा यस पद्धतिलाई अझ व्यापक रूपमा प्रवर्द्धन गर्ने योजना रहेको पनि बताए।
बस्नेतले अकुपंचरलाई पाँच हजार वर्ष पुरानो चीनको परम्परागत उपचार पद्धति भन्दै, शरीरका विशेष विन्दुहरू (अकुप्वाइन्ट्स) मा सियोले उपचार गर्ने यस पद्धति औषधिविहीन भएको व्याख्या गरे।
अकुपंचर विशेषज्ञहरूले क्यान्सर, संक्रमण वा हड्डी भाँचिएको अवस्था बाहेक अधिकांश रोगमा यस पद्धति प्रभावकारी रहेको बताएका छन्। पेट, आँखाको समस्या, हड्डी-जोर्नी, रक्तचाप लगायतका रोगमा यसको सफल प्रयोग भएको र विशेषगरी हड्डी, नसाका रोग तथा विभिन्न दुखाईमा अझ प्रभावकारी देखिएको बस्नेतले बताए।
कार्यक्रममा सिंहदरबार वैद्यखाना विकास समितिका प्रमुख डा. प्रदीप केसी, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुवोध शर्मा, स्वास्थ्य मन्त्रालयका पुष्पराज पौडेल लगायतले शुभकामना दिएका थिए।
चिनियाँ प्रतिनिधि तथा अकुपंचर विज्ञहरूले यस पद्धति प्रयोग र यसको महत्वबारे प्रस्तुति दिएका थिए।







Leave a Reply