अकबरे खुर्सानी जिब्रोको लागि मात्र नभएर स्वास्थ्यका लागि पनि लाभदायक छ । यसमा भिटामिन ‘ए’ र ‘सी’ पाउनुका साथै विभिन्न प्रकारका खनिज पदार्थ र इन्जाइम तत्वहरू पाइन्छन् । अकबरे खुर्सानी खाएपछि पेट पोल्ने समस्या पनि कम हुन्छ । खानामा रुचि नहुनेहरूका लागि र ग्यास्ट्रिक तथा अल्सरका बिरामीलाई पनि यसले फाइदा गर्छ । यसको खेती नेपालका विभिन्न भागमा गरिन्छ । त्यसमा पनि पूर्वीपहाडी जिल्लाहरूमा त यसको व्यावसायिक खेती ह्वात्तै बढेको छ । अकबरे खुर्सानीको अचारको लोकप्रियता पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । विदेशमा समेत निर्यात हुन थालेपछि यसको व्यावसायिक खेती ह्वात्तै बढेको छ । यसको आकार तथा रंगका आधारमा अकबरे नामकरण भएको हो । फलको आकारको आधारमा गोलो तथा लाम्चा र रंगको आधारमा गाढा रातो, कलेजी रातो र रातो भनी नामकरण गरेको छ । नेपालमा ठूलो गोलो लाम्चो जातको अकबरे लोकप्रिय छ । यो बास्नादार र निकै पीरो हुन्छ ।
मध्यपहाडको एक हजार मिटर उचाइसम्ममा यसको खेती गर्न सकिन्छ । यसका लागि साधारणतया दिनको तापक्रम २२–२५ डि.से. र रातको तापक्रम १५–२० डि.से. हुनुपर्छ । साधारणतया सबै प्रकारको माटोमा यसको खेती गर्न सकिए पनि पानी नजम्ने, मलिलो दोमट माटो यसका लागि उपयुक्त हुन्छ । प्रशस्त प्रागांरिक पदार्थ भएको, पीएच ६–७ भएको नयाँ माटो अकबरे खुर्सानीका लागि उपयुक्त हुन्छ ।
Leave a Reply