हेल्थ टुडे,
काठमाडौ,२७ चैतः कर्मचारी समायोजनप्रति बिरोध जनाउँदै सरकारी चिकित्सकले आकस्मिकबाहेकका सेवा बहिष्कार गरेको पाँच दिन बितिसक्दा पनि समस्या समाधानको सरकार पक्षबाट कुनै पहल भएको छैन् । आन्दोलनरत चिकित्सकहरुले जुनसुकै बेला समस्या समाधानका लागि वार्तामा जान तयार रहेको जनाएपनि सरकारले भने समस्या समाधानको लागि मंगलबारसम्म कुनै पहल गरेको छ । चिकित्सकको हडतालले सरकारी अस्पतालका सेवा बन्द भएपछि बिरामी अलपत्र परेका छन् ।
सबैलाई संघीय सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मुख्य मागसहित शुक्रबारदेखि सरकारी चिकित्सकहरू देशव्यापी रूपमा आन्दोलित छन् । उनीहरू अवैज्ञानिक र असमान ढंगले समायोजन गरेको, स्थानीय तहमा कनिष्ठ कर्मचारीमातहत राख्ने व्यवस्था गरिएको, चिकित्सकको अध्ययन वृत्ति–विकासमा अप्रत्यक्ष अवरोध गरेको जस्ता कारण देखाउँदै आन्दोलनमा उत्रिएका हुन् ।
चिकित्सकहरूको छाता संगठन, नेपाल चिकित्सक संघले मंगलबार सरकारी चिकित्सकको समस्याबारे उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग छलफल गरे पनि निष्कर्ष निस्केन ।
सरकार भने वार्ताको माध्यमबाट समस्या गर्नुको सट्टा आन्दोलनरत चिकित्सकहरुलाई कारबाही गर्ने चेतावनी दिईरहेको छ । चिकित्सकले मंगलबारसम्ममा आन्दोलन जारी राखेमा आवश्यक सेवा सञ्चालन ऐन र अन्य प्रचलित कानुनको अधिनमा रही कारबाही प्रक्रिया अघि बढाउने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ । तर चिकित्सकहरु भने आफुहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान राख्दै आएका छन् ।
समायोजनले चिकित्सकलाई मात्र होइन जनतालाई समेत असर गरेको आन्दोलनरत चिकित्सकहरुले बताएका छन् । उनीहरुले समायोजनलाई नसच्याए कर्णाली र सुदूरपश्चिममा सबैभन्दा धेरै चिकित्सक अभाव हुने जिकिर गरेका छन् । सरकारले माग पूरा नगरे सामूहिक राजीनामा दिन तयार रहेको आन्दोलनरत चिकित्सकहरुले चेतावनी दिएका छन् । यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चिकित्सकको मागका विषयमा अनौपचारिक छलफल भईरहेको जानकारी दिएका छन् ।
सरकारी अस्पतालको सेवा ठप्प भएपछि विभिन्न जिल्लाबाट रिफर भएर आएका बिरामीको विचल्ली भएको छ । सरकारी चिकित्सक संघ(गोदान) को आह्वानमा भएको उक्त आन्दोलनमा नेपाल चिकित्सक संघले समेत ऐक्यबद्धता जनाएको छ । चिकित्सकहरुको आन्दोलनले देशभर दैनिक ५० हजारभन्दा बढी बिरामीहरु प्रभावित हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौंका वीर, ट्रमा सेन्टर, कान्ती, शुक्रराजलगायतका अस्पतालमा शल्यक्रियाका लागि पालो कुरेर बसेका बिरामी पनि सेवा पाउनबाट बञ्चित भएका छन् ।
Leave a Reply