हेल्थ टुडे,
सुर्खेत,२७ चैतः कर्मचारी समायोजनका क्रममा कर्णाली प्रदेश बाहिरका एक जना डाक्टरले मात्र कर्णाली प्रदेश रोजेका छन् । कर्णालीमै कार्यरतमध्ये पनि अधिकांश डाक्टरले समेत प्रदेश बाहिरकै अस्पताललाई कार्यथलो छानेका छन् । कर्णाली प्रदेशमा ११८ डाक्टरको दरबन्दी छ । कार्यरत १४ डाक्टरले यही क्षेत्र रोजेका छन् । कार्यथलो कर्णाली छानेका बाहिरका एकसहित १५ मध्ये १० प्रदेशमातहतका अस्पताल र ५ स्थानीय तहमा रहने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाले जनाएको छ ।
स्वास्थ्य सेवातर्फ कार्यरत कर्णालीका डाक्टर–कर्मचारीसहित ४० जनाले प्रदेश बाहिरका जिल्ला, स्थानीय तह र संघलाई रोजेका छन् । डाक्टर–कर्मचारी गरी ३३ जनाले कर्णालीलाई आफ्नो रोजाइमा पारेकामा १६ जना कर्णाली बाहिरका छन् । कतिपय डाक्टरले भने कर्णाली प्रदेश रोजे पनि सरकारले संघमा पारेको बताएका छन् । डाक्टरले कर्णाली नरोजेको भन्दा पनि सरकारले कर्णालीमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाइएको छ । संघ रोजेका डा.गणेश थापालाई प्रदेशमा पारिएको छ । कर्णालीमा ९ जिल्ला अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र, आठ जिल्ला आयुर्वेद केन्द्र र दुई आयुर्वेद औषधालय छन् ।
समायोजनको असर प्रदेश अस्पताल सुर्खेतमा पनि देखिएको छ । २४ विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा अहिले कार्यरत ११ मध्ये ९ जनाले संघ र अरू प्रदेश रोजेका छन् । प्रदेश अस्पतालमा समायोजनपछि दुई जना मात्र विशेषज्ञ डाक्टर हुने भएपछि अप्रेसनलगायतका महत्त्वपूर्ण विशेषज्ञ सेवा प्रभावित हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.डम्मर खड्काले बताए । समायोजनको पदस्थापनापछि अस्पतालमा स्त्रीरोग विशेषज्ञ डा. अमित सिंह र सर्जन डा. सुजन सापकोटा मात्र रहनेछन् । चार जना स्थायी मेडिकल अधिकृतमध्ये एक जनाबाहेक अरूले कर्णाली प्रदेश रोजेनन् ।
आफूहरूलाई संघमातहत राखेर सबैतिर जाने व्यवस्था गर्नुपर्ने माग डाक्टरहरूको छ । प्रदेश अस्पतालको स्तरोन्नति गरेर कर्णालीमै सर्वसुलभ स्वास्थ्य सेवा दिने लक्ष्यमा केन्द्र सरकारले बाधा पैदा गरेको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आरोप लगाए । प्रदेश अस्पताललाई तीन सय शय्याको बनाएर उपचार सेवा प्रभावकारी बनाउने कर्णाली प्रदेश सरकारले उद्घोष गरेको थियो । समायोजनको यो प्रारुप देखिएपछि अब प्रदेश सरकारको योजना असफल हुने देखिएको छ ।(कान्तिपूर दैनिकबाट)
Leave a Reply