हेल्थ टुडे,
काठमाडौं, २१ जेठ : नेपाल चिकित्सक संघले बुधबारदेखि स्वास्थ्यकर्मीका लागि अनलाइन तालिम सञ्चालन गरेको छ । अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानी र स्वास्थ्यका अन्य विविद् बिषयमा अनलाइन मार्फत विज्ञ चिकित्सकहरुले तालिम दिन सुरु गरेका छन । पाँच दिनसम्म चल्ने यो तालिम नेपाल चिकित्सक संघको फेसबुक पेजबाट हरेक दिन दिउसो २ देखि ५ बजेसम्म फाइभ हुने छ । संघको कार्यालयमा बुधबार भएको तालिम उद्घाटन कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अमेरिका–नेपाल मेडिकल फाउन्डेसन, नेपालका अध्यक्ष डा. भुपेन्द्र बस्नेतले एक आपसमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो तालिमका लागि फाउण्डेसनले संघलाई साडे सात लाख रुपैया उपलब्ध गराएको छ । उद्घाटन कार्यक्रममा संघका अध्यक्ष डा. कार्कीले स्वास्थ्यकर्मी पनि कोरोनाको चपेटामा परिरहेको अवस्थामा यसबाट आफु बच्न र अरुलाई बचाउने उपायका बिषयमा तालिम उपलब्धीमूलक हुने विश्वास व्यक्ति गरे । चिकित्सक संघको काम आन्दोलन गर्नु मात्र नभएको बताउदै डा. कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको व्यवसायिक ज्ञानको दायरा पनि फराकिलो बनाउनु आवश्यक रहेकोले तालिम आयोजना गरिएको बताए । संघका महासचिव डा. बद्री रिजालले अहिलेको परिस्थितिमा सबै ठाउँमा गएर तालिम दिन सम्भव नभएकाले अनलाइनमार्फत तालिम दिएर भए पनि स्वास्थ्यकर्मीमा हुने संक्रमणलाई जोगाउन तालिम दिन लागिएको बताए ।
विशेष गरी कोभिडका संक्रमित व्यक्तिबाट कसरी बच्ने, पिपिईको प्रयोग कसरी गर्ने, भेन्टिलेटर वा आइसियुमा रहेका बिरामीबाट अन्य मानिसमा संक्रमण फैलन नदिन कस्ता काम गर्ने जस्ता विषयवस्तुमा समावेश गरिएको डा. रिजालले जानकारी दिए । फाउन्डेसनका अध्यक्ष डा. भूपेन्द्र बस्नेतले फाउन्डेसनले बिगतमा त्रिवि शिक्षण अस्पतालमा करिव एक करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गरेको स्मरण गर्दै चिकित्सक संघसँग भविश्यमा पनि सहकार्य गरेर अगाडि बढ्नेमा जोड दिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष डा. चोपलाल भुसाल, डा. अन्जनी झा, डा. मनिन्द्र रन्जन बराल, डा. रमेशकान्त अधिकारी सहित बरिष्ठ चिकित्सक उपस्थित थिए ।



 
                    
                



Leave a Reply