हेल्थ टुडे,
काठमाडौँ, १६ कार्तिक : देशभर आन्दोलनरत नर्स र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच निजी अस्पतालमा कार्यरत नर्सलगायत स्वास्थ्यकर्मीलाई सरकारीसरह मासिक तलब सुविधा दिने सहमति भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ४ खण्डमा २३ बुँदे सहमति भएको जनाए । उनका अनुसार ठूला अस्पताल र मेडिकल कलेजले कात्तिक १ गतेदेखि नै नर्स, डाक्टर तथा स्वास्थ्यकर्मीलाई सरकारी सरह नै मासिक तलब सुविधा उपलब्ध गराउने सहमति भएको छ । ‘विस्तृत रूपमा सहमतिको बुँदा पनि सार्वजनिक गर्छौ,’ उनले भने । अन्य अस्पतालले भने कात्तिकदेखि नै सरकारीमा तोकिएको ८० प्रतिशत तलब दिनुपर्ने सहमति भएको छ । देशभरको नर्सहरूको आन्दोलनको नेतृत्वको गरेको नेपाल नर्सिङ संघसँग उक्त सहमति भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही नर्सहरूले भने सहमतिमा असन्तुष्टि जनाएका छन् । नर्सहरूले सरकारी पाँचौँ तहसरह सेवा सुविधा माग्दै आएका हुन् । स्वास्थ्य सेवामा कार्यरत सहायक पाँचौँ तहका नर्सले न्यूनतम ३४ हजार ७ सय ३० रुपैयाँ पाउँछन् । त्यसमा ग्रेडदर थपिँदा अझ बढी हुन आउँछ । तर निजी अस्पतालमा कार्यरत नर्सहरूले १५ हजार पनि नपाएको गुनासो छ ।
सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ संयोजकत्वको कार्यदलले थप काम गर्ने बुढाथोकीले बताए ।
निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने







Leave a Reply