औषधि व्यवसाय थालेको पाँच दशकभन्दा बढी लामो समयमा सयौं मानिसको ज्यान बचाइयो होला । कत्तिको उद्धार गरियो होला । यहाँ नपाइने औषधि चुनौती मोलेरै भए पनि विदेशबाट आयात गरेर राहत दिइयो होला । हजारौंको आशीर्वाद पाए । मेरो पेसाबाट म सन्तुष्ट छु । किनकि यो व्यवसायबाट मैले पैसामात्र कमाइनँ समाजसेवा पनि गरेको छु । मैले हजारौं बिरामीको आँसु पुछ्न पाएको छु । त्यसैले खुसी छु । तर मेरो व्यावसायिक जीवनमा घटेको एक घटनाले पनि मलाई सधैं घोचिरहन्छ । त्यो घटना म सधंै मेरो मानसपटलमा ताजै छ र रहिरहनेछ । घटना २०४७ सालको हो । स्वरसम्राट् नारायणगोपाल बिरामी हुनुहुन्थ्यो । उहाँलाई मिर्गौलासम्बन्धी समस्या थियो । डाक्टरले फोन गरेर भने, ‘मिर्गौलाको औषधि चाहियो कसरी हुन्छ मगाउनुप¥यो ।’ त्यो सुनेपछि म केही नहेरी भारत गएँ । त्यतिबेला मिर्गौलाको औषधि सजिलै पाइँदैनथ्यो । एकदमै महँगो थियो । मैले ठूलो मेहनत गरेर त्यो औषधि ल्याएँ । नारायणगोपालको अवस्था गम्भीर थियो । हामी जसरी भए पनि उहाँलाई बचाउन चाहन्थ्यौं । जहाजबाट औषधि ल्याएपछि खुसी हुँदै मैले भाउजू पेमलालाई फोनमा भने, ‘भाउजू औषधि आइपुग्यो ।’ भाउजू खुसी हुनुहुन्छ भन्ने मलाई लागेको थियो तर उहाँले मलाई भन्नुभयो, ‘औषधि चाहिएन अब ।’
म त अक्क न वक्क भए । सोधेँ किन र ? भाउजूले भन्नुभयो, ‘उहाँ अब यो संसारमा रहनु भएन ।’ उफ, मलाई जीवनकै नरमाइलो लाग्यो । स्वरसम्राट् नारायणगोपाललाई बचाउन सकिएन । नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भएको आठ वर्ष पुगिसक्यो । त्रिवि शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र वीर अस्पतालमा यो सेवा छ । निजी अस्पतालहरूले पनि सञ्चालन गर्दैछन् । मिर्गौला प्रत्यारोपणपछि सेवन गर्ने औषधि हामीले नै आपूर्ति गर्दै आएका छौं ।
डाक्टरहरूले कुनै पनि मिर्गौलासम्बन्धी औषधि आवश्यक प¥यो भने मलाई नै फोन गर्छन् । मैले कसरी हुन्छ, कहाँबाट हुन्छ, जसरी भए पनि औषधि ल्याएर उपलब्ध गराउँदै आएको छु ।
तर जबजब मिर्गौला रोगको औषधिको कुरा आउँछ मलाई नारायणगोपालको याद आउँछ । त्यति बेला नेपालमै मिर्गौलाको औषधि र अहिलेको जस्तो सहज उपचार भएको भए हामी उहाँलाई त्यति चाँडै गुमाउँदैनथ्यौ कि ? यो प्रश्न मेरो मनमा उठिरहन्छ ।
म १२ वर्षको उमेरदेखि नै औषधि व्यवसायमा लागेको हुँ । मेरो बुवा हेटौंडामा सानोतिनो औषधि पसल चलाउनुहुन्थ्यो । म भारतसम्म पुगेर औषधि आपूर्ति गर्थे । नेपालमा क्यान्सरको औषधि पाइँदैनथियो । क्यान्सरको औषधि किन्न भारत नै पुग्नु पर्दथ्यो । औषधि किन्न भारत धाइरहेका धेरै नेपालीको पीडा देखेपछि मैले क्यान्सरको औषधि नेपालमै उपलब्ध गराउने दृढ संकल्प गरेँ । तर, त्यतिबेला क्यान्सरको औषधि नेपाल भित्र्याउनु भने जति सजिलो थिएन । महँगो र बिक्री नभए घाटा सहनुपर्ने डरले कुनै पनि औषधि विक्रेताले क्यान्सरको औषधि ल्याउँदैनथिए । हामी यसबारेमा डाक्टरलाई सोध्थ्यौं । डाक्डर जवाफ दिन्थे, ‘महँगो छ यहाँ छैन ।’
मैले यो चुनौतीको सामना गर्ने निधो गरेँ । क्यान्सरको औषधि नेपाल भित्र्याउने चुनौतीमात्र नभएर पटनाकै मूल्यमा नेपालमा क्यान्सरको औषधि उपलब्ध गराउने आँट गरेँ । बिक्री नभएर मिति गुज्रेपछिको नोक्सानी सहन पनि तयार भएँ । त्यो औषधि विक्रीबापत मैले कुनै नाफा नलिने निर्णय नै गरेँ । बरु एकदुई वर्षसम्म मन्दिर गएर कसैलाई दान नदिने निर्णय गरेँ । बरु त्यो दानमा जाने रकम क्यान्सर रोगीलाई नै हुने भयो । त्यतिबेला क्यान्सरको औषधि भारतमा बन्दैनथ्यो, स्विट्जरल्यान्डबाट ल्याइन्थ्यो । मैले सीधै स्विट्जरल्यान्डबाटै औषधि आयात गर्न खोजेँ तर नेपालमा धेरै व्यापार हुँदैन भन्ने सुरुमा दिनै मानेनन् ।
दुई वर्षपछि इटलीको फार्मिटालिया कम्पनीले उत्पादन गरेको क्यान्सरको औषधि एन्ड्रामाइसिन ल्याउन सफल भएँ । स्विट्जरल्यान्डको रोस कम्पनीबाट औषधि आयात गर्न झन्डै पाँच वर्ष लाग्यो । क्यान्सरको औषधि नेपालमै पाइन थाल्यो, त्यो पनि भारतमै पाइने दाममा । त्यसो भएपछि क्यान्सर रोगी, उनका आफन्त र उपचारमा संलग्न चिकित्सक सबैमा खुसी छायो । क्यान्सरको औषधि बेचेर मलाई त्यसबाट आर्थिक नाफा केही भएन । तर त्यसबाट मैले जीवनमै पाउन नसकिने सन्तुष्टि पाएँ । सयौं बिरामी र उनीहरूका आफन्तको मुहारमा छाएको खुसी अहिले पनि बिर्सन सक्दिनँ । थुप्रै डाक्टरहरूले समेत मलाई यो कामका लागि स्याबासी दिए ।
अहिले त्यस्तो अवस्था कहाँ छ र ? अहिले भारतमै क्यान्सरको औषधि बन्छ । औषधि सजिलै उपलब्ध गराउन सकिन्छ । अहिले त डाक्टर पनि पहिलेको तुलनामा धेरै छन् । औषधि पनि धेरै छन् । मलाई भने क्यान्सरको औषधिले औषधिकै क्षेत्रमा दत्तचित्त भएर लाग्न प्रेरणा प्रदान ग¥यो । अहिले पनि क्यान्सरको औषधि सर्वसुलभ रूपमा उपलब्ध गराइरहेको छु । सबै बिरामीले निर्वाध रूपमा औषधि किनिरहेको देख्दा पुराना याद आउँछ र आफै प्रफुल्लित हुन्छु । क्यान्सर रोगीका लागि व्यापारभन्दा समाजसेवा गरेको रहेछु ।
पन्ध्र वर्ष अगाडिसम्म एचआईभी पोजिटिभ भनेपछि नेपालमा अधिकांश मानिस तर्सिन्थे । एचआईभी संक्रमितका लागि पनि औषधि हुन्छ र त्यसले काम गर्छ भन्दा पत्याउने कमै थिए । डाक्टरहरूसमेत एचआईभीको औषधि भित्र्याउनुपर्छ भन्नेमा सहमत थिएनन् । खाए पनि मान्छे मर्ने नै हो, नखाए पनि मर्ने नै हो भने किन मोटो रकम खर्च गरेर औषधि किनेर खाने ? भन्ने तर्क त्यति बेला डाक्टरहरूले गर्थे । म भने केही दिन भए पनि बाँच्न चाहनेको बाँच्ने चाहना मर्न दिनु हुँदैन भन्थेँ । १५ वर्षअघि एचआईभी र एड्सको औषधि नेपाल ल्याउने निर्णय गरेँ ।
भारतमा पनि एचआईभीको औषधि पाइँदैनथ्यो । हिम्मत गरेर स्विट्जरल्यान्डको एजेन्सीमार्फत औषधि ल्याएँ । औषधि ल्याएपछि धेरैको मनमा बाँच्ने आशा पलायो । संक्रमितमध्ये केहीले औषधि खान थाले । एआरभीले काम गर्न थालेपछि धेरैले बधाई दिए । यसबाट पनि कुनै नफा नै नखाई बिक्री गरेँ । मेरो हिम्मतबाट स्विट्जरल्यान्डको रोस कम्पनीका मालिक निकै प्रभावित भए । मेरो सहारा र बिरामीका लागि गरेको समर्पण देखेर प्रभावित भएका थिए ।
सन् २००० मा त रोसको मालिक पिटर होफम्यान र उनको छोरा आन्ड्रे होपम्यान मलाई भेट्न नेपालमै आए । अहिले त अवस्था फेरिएको छ । अधिकांश संक्रमितहरूले औषधि सेवन गरिरहेका छन् । औषधि सेवनकै कारण मृत्युको नजिक पुगिसकेका भनिएका एचआईभी संक्रमित लामो समय बाँचेर जीवन अगाडि बढाइरहेका छन् ।
अहिले भारतमै एचआईभीको औषधि बन्छ । नेपाल सरकारले पनि अहिले त एचआईभीको औषधि वितरण गरिरहेको छ । अहिले सोच्छु मैले उठाएको कदम वास्तवमै सही थियो ।
खोपले रोग लाग्नबाट बचाउँछ भन्ने चेतना विस्तार भइसकेको छ । तर १५ वर्षमात्र फर्केर हेर्ने हो भने स्थिति अर्कै थियो । सुरुमा फ्रान्सको पाश्चर कम्पनीद्वारा उत्पादित खोप नेपाल भित्रिएको हो । टाइफाइड, इन्फ्लुएन्जा, एलोफिभरलगायतका रोगविरुद्धको खोप नेपाल भित्र्याउँदा खोपप्रतिको धारणा सकारात्मक थिएन यहाँ । सरकारले यी रोगविरुद्धको खोप उपलब्ध गराउँदैनथ्यो । खोप लगाउने चलन नै थिएन । बच्चालाई खोप लगाउने चलन नै थिएन । बच्चालाई खोप लगाउन डाक्टर नै डराउँथे । त्यतिबेला डा. नीलम अधिकारी, डा.रमेश मल्लले खोपको चलन बसाउनमा ठूलो सहयोग गरे । खोपका विषयमा जनतालाई बुझाउनै ५।६ वर्ष जति लाग्यो । तर अहिले खोपका विषयमा धेरै बुझाउनै पर्दैन ।
सरकारले पनि आठ किसिमका खोप बालबालिकालाई उपलब्ध गराइरहेको छ । निजी क्षेत्रले आयात गरेका खोपहरू लगाउनेको संख्या पनि बर्सेनि बढिरहेको छ । केही रोगहरूलाई छोडेर अधिकांश रोगविरुद्धको खोप नेपालमा उपलब्ध छन् । जापानिज इन्सफ्लाइटिस विरुद्धको खोप चीनबाट आयात ग¥यौं । अहिले सरकारले दिइरहेको जेई खोप हामीले नै उपलब्ध गराइरहेका छौं । हामीले उपलब्ध गराइएको जेईविरुद्धको खोपले जेईका बिरामीको संख्या घटेकाले राम्रो काम गरेको जस्तो लाग्छ ।
बिरामीलाई निको बनाउन डाक्टरले मात्र सक्दैन । त्यसका लागि औषधि पनि हुनुपर्छ । औषधि उपलब्ध गराएर लाखौं मानिसको ज्यान बचाउन सकेकोमा खुसी छु ।
२०४४ सालमा स्थापना गरेको यती क्याम्प डिस्टिब्युटर्सले अहिले नेपालमा सयौं किसिमका स्वदेशी र विदेशी औषधि बिक्रीवितरण गर्दै आइरहेको छ । २०२२ सालमा १२ वर्षको उमेरदेखि हेटांैडाको ललित मेडिकल हलबाट बुवाबाट सिक्दै सुरु गरेको औषधि व्यवसायकै माध्यमबाट म समाजमा चिनिएँ । तीन लाखबाट सुरु गरेको व्यापारले अहिले अर्ब रुपैयाँभन्दा बढीको कारोबार नाघेको छ । व्यवसायको सफलता देख्दा खुसी लाग्छ । मैले रसायनशास्त्रमा स्नातकोत्तर (एमएसस्सी) पास गरेपछि पूर्ण रूपमै औषधि व्यवसायमा आफूलाई समर्पित गरेको हुँ । पैसाप्रतिको इमानदारिता, मेहनत र समाजसेवाको भावनाले आफूलाई यो उचाइमा पु¥याएको हो जस्तो लाग्छ । मैले व्यापार गरेँ । तर त्यसबाट नचाहिने नाफा कहिल्यै लिइनँ । जनआन्दोलनका बेला निःशुल्क रूपमा समेत औषधि उपलब्ध गराएँ । मैले सञ्चालन गरेको यती क्याम्पमार्फत अहिले ७० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
(प्रभुराज वैद्य
यती केम डिस्टिब्युटर्सका कार्यकारी निर्देशक हुनुहुन्छ ।)
Leave a Reply