३५ प्रकारका औषधिमाथि प्रतिवन्ध लगाउने स्वास्थ्य मन्त्रालयको निर्णय विरुद्घ आन्दोलनमा उत्रिएका नेपाल औषधि आयातकर्ता संघ ( मियान ) सहित नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संघ, नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्विटिकल तथा कस्मास्विटिकल समाज, नेपाल भेटेनरी औषधि आयातकर्ता संघ र पशुपंछी आषधि व्यवसायी संघले शुक्रबार बिजुलीबजार स्थित औषधि व्यवस्था विभागमा घेराउ सहित विरोध सभा गरेका छन् । सहभागीहरुले सरकारको निर्णय विरुद्घ चर्को नाराबाजी गरेका थिए ।
घेराउपछि आयोजित बिरोध सभालाई सम्बोधन गर्दे नेपाल औषधि तथा विक्री प्रतिनिधि संघका महासचिव अनुप पाण्डेले सिमित औषधि व्यवसायीको औषधिमा एकाधिकार स्थापित गरेर हजारौ विक्री प्रतिनिधि सहित व्यवसायीको रोजीरोटी खोस्ने काम सह्य नहुने चेतावनी दिए । सस्तोमा गुणस्तरीय औषधि आयात भई विक्रीबितरण भइरहेको अवस्थामा सस्तो लोकप्रियताका लागि स्वास्थ्य मन्त्री गगन थापाले आफूहरुलाई बदनाम गर्न खोजेकाले बाध्य भएर आन्दोलनमा उत्रिएको पाण्डेले बताए । कार्यक्रममा मियानका महासचिव पवन आचार्यले स्वदेशी औषधिको तुलनामा आयाततित औषधि गुणस्तरीय भएको तथ्य प्रस्तुत गर्दै डब्लूएचओ जिएममी समेत नलिएका र लिए पछि नविकरण नगराएका कतिपय स्वदेशी औषधि उद्योगको गुणस्तरमाथि शंका रहेको बताए ।
उनले भने, ‘ हामीले सस्तोमा गुणस्तरीय औषधि आयात गरेर बेच्दा कसरी कालाबजारिया भयौ ? यहाँ डब्लूएचओ जिएमपी पनि नलिएका र नविकरण नगराएका स्वदेशी उद्योगले उत्पादन गर्ने औषधि कसरी गुणस्तरीय भयो ? यसको जवाफ चाहियो । ’
नेपाल औषधिगत विक्रीप्रवन्धक संघका अध्यक्ष सुरजित दत्तले विश्व व्यापर संगठनको सदस्य भएको नाताले पनि नेपालले आयात भइरहेका कुनै पनि बस्तुमाथि प्रतिवन्ध गलाउन नसक्ने दाबी गरे । सरकारले जवरजस्ती गर्न खोजे आफूहरु अन्तर्राष्ट्रिय अदालतसम्म जान तयार रहेको उनले बताए । नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्विटिकल तथा कस्मास्विटिकल समाजका उपाध्यक्ष सुरेन्द्र मानन्धरले औषधि व्यवस्था विभागले सिमा नाघेर खाद्य तथा गुण नियन्त्रण विभागको काममाथि हस्तक्षेप गरेर सप्लिमेन्ट फुड आइटममाथि प्रतिवन्ध गलाउने काम गरेकाले आन्दोलनमा होमिएको बताए । विरोध कार्यक्रममा सयौं औषधि आयातकर्ता , बिक्रीप्रतिनिधि, विक्री प्रवन्धक र व्यवासयी सहभागी थिए ।
Leave a Reply