क्यान्सरको उपचार अहिले राजधानी र चितवनको भरतपुरमा मात्र सीमित छ, त्यो पनि समिति अस्पतालमा मात्र । तीन दशकअघि नेपालमा क्यान्सर उपचारको अवस्था झन् कस्तो थियो होला ? क्यान्सर उपचारका लागि न त छुट्टै विभाग थिए न त विशेषज्ञ चिकित्सक नै । त्यसबेला ‘निको नहुने रोगका रूपमा हेरिने क्यान्सरको डाक्टर बन्न कमैले मात्र रुचि राख्थे । त्यही समयमा डा.सुदीप श्रेष्ठले मद्रास युनिभर्सिटीबाट एमबीबीएस सकेपछि न्याम्स (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल) बाट इन्टरनल मेडिसिनमा एमडी गरे । करिब २८ वर्ष पहिलेको कुरा हो यो । त्यतिबेला उनका अधिकांश साथीहरू कार्डियोलोजी पढ्न बेलायत र अमेरिका गइरहेका थिए । तर विदेशमा पाएको अवसर छोडेर डा.सुदीपले भने नेपालमै सेवा दिने प्रण गरे । त्यतिबेला धेरैले भन्ने गर्थे, नेपालमा क्यान्सरको स्कोप नै छैन ।
त्यतिबेला वीरको अँध्यारो कुनामा क्यान्सरको डिपार्टमेन्ट सिमित थियो । कति बिरामी आउँथे, जान्थे, लेखाजोखा नै हुँदैनथियो । जश नपाउने क्षेत्र भएकाले होला, कोही पनि क्यान्सरको डाक्टर बन्न चाहँदैनथिए । डा.सुदीपले त्यसलाई चुनौतीकै रूपमा लिए । उनलाई अरूले कम पढ्ने क्यान्सर रोग विशेषज्ञ भएर सेवा गर्न उत्साह जाग्यो । त्यतिबेला डा.अञ्जनीकुमार शर्मा क्यान्सर उपचारमा सक्रिय हुनुहुन्थ्यो । सुदीपले डा. शर्मासँग सल्लाह गरे । डा.शर्माले उनलाई क्यान्सर रोग विज्ञ बन्न हौस्याए । सानैदेखि सुदीपलाई चुनौतीको सामना गर्न मन पथ्र्याे । डा.सुदीपले सुनाए, ‘ रिस्क मोलेरै म क्यान्सर रोगविज्ञ बन्न भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल गए । त्यहाँका डा.डीसी डोभलले मलाई निकै हौसला दिनुभयो । ’ युरोप र अमेरिकामा छात्रवृत्ति छोडेर निजी खर्चमा डाक्टरी पढ्ने कमै डाक्टर मध्येका एक हुन् डा. सुदीप । उनले राजीव गान्धीबाट मेडिकल अंकोलोजिस्टको अध्ययनसँगै आफूलाई निखार्दै लगे । राजीव गान्धीमा अध्ययन र सेवा गर्ने क्रममा डा.श्रेष्ठमा एक कुशल डाक्टर बन्ने सपनामात्रै सीमित भएन्, त्यहाँका भोगाइ र दृश्यले उनमा नेपाल फर्केर सम्झनलायक काम गर्ने प्रेरणा मिल्यो ।‘अहिले पनि क्यान्सरलाई सहज रूपमा लिइँदैन, समाजमा’, उनले राजीव गान्धीमा झन्डै दुई दशकअघि देखेभोगेको अवस्था सुनाए, ‘क्यान्सरले पीडित नेपाली उपचारका लागि त्यहाँ पुग्थे, हजार रुपैयाँको उपचारका लागि लाखौंको दुःख, पीडाले च्यापिएका हुन्थे । त्यो मलाई सैह्य हँुदैनथियो ।’ जतिसक्दो चाँडो स्वदेश फर्केर क्यान्सरका बिरामीको उपचार नेपालमै गर्ने हुटहुटी उनमा चल्यो । त्यही कारण डा.सुदीपमा नेपाल फर्केर राजीव गान्धीस्तरकै अस्पताल खोल्ने योजना जन्मायो ।
हरेक सपना जति सुन्दर हुन्छन् त्यसलाई पूरा गर्न त्यति नै कठिन हुन्छ । डा.श्रेष्ठले देखेको सपना पनि कम कठिन थिएन । उनको यो सपनाले आकार लिन करिब एक दशक उनको मात्रै होइन उनकी धर्मपत्नी स्वरूपा श्रेष्ठको समेत नीद उडायो । सपनाले आकार लिँदै गरेको नेपाल क्यान्सर अस्पतालकी निर्देशक रहेकी स्वरूपाले भनिन्, ‘उहाँले कल्पना गरेको यो अस्पताललाई आकार दिन दिनरात नभनी यसैमा समर्पित भयौं । मैले यसको लागि आफ्नो पेशा नै त्यागेँ,’ एउटा आकार दिइसकेपछि यसलाई नेपालकै नम्बर एक क्यान्सर अस्पतालका रूपमा स्थापित गर्ने र क्यान्सरको सम्पूर्ण उपचार यही गर्न अब थप जिम्मेवारी थपिएको श्रेष्ठ दम्पती सुनाउँछन् ।
भक्तपुर क्यान्सर अस्पतालमा जागिर गर्दागर्दै छोडेर सम्पूर्ण सेवासहितको नेपाल क्यान्सर अस्पतालको परिकल्पना गरेर यता लागेका डा. श्रेष्ठ दम्पतीसँग सुरुवाती दिनका अथक अनुभव छन् । उनले यो अस्पताल स्थापनाको खाका बोकेर हरेक उद्योगपति र सम्बन्धित निकायको दैलो टेके । ‘व्यापारी, उद्योगपतिहरूले रिटर्न खोज्दो रहेछन् ’, उनले भने, ‘मैले त यो सेवामूलक व्यवसाय भएकाले रिटर्नको ग्यारेन्टी गर्न सकिनँ ।’ तर, १५ लाख पुँजीले अर्बको संरचना तयार गर्न श्रेष्ठ दम्पतीले हार मानेन । काठमाडौंका हरेक कुनामा अस्पताल स्थापनाका लागि जग्गा खोज्न भौतारिए । मेडिकल क्षेत्रकै केही शुभचिन्तकहरूको साथ र सहयोगले श्रेष्ठ दम्पतीलाई ऊर्जा भर्ने काम ग¥यो । राजीव गान्धी क्यान्सर अस्पतालले प्रदान गर्ने तालिम र प्राविधिक सहयोगले उनीहरूलाई आफ्नो सपना साकार पार्न झन् प्रेरणा मिल्यो ।
सन् २००६ तिर उनीहरू सातदोबाटोमा एउटा घर भाडामा लिएर ऋणका लागि अधिकांश बैंकमा धाए । एभरेस्ट बैंकले ‘हुन्छ–हुन्छ’ भन्दै एक वर्ष झुलायो । सिभिल बैंकका तत्कालीन अध्यक्ष किशोर महर्जनले भने ऋण दिन सहजता देखाएको उनीहरू सम्झन्छन् । उनीहरूले ५० करोडको योजना बनाएर ५० शैयाको अस्पतालको लागि ललितपुरको हरिसिद्धिमा २७ रोपनी जग्गा लिए । जग्गामा विवाद देखिएपछि सुरुमा केही अवरोधहरू आए तर अस्पतालको महत्वका विषयमा बुझेपछि स्थानीयवासीले अस्पताल निर्माणमा सघाए । विभिन्न राजनीतिक दलका नेताहरूले त्यो अवस्थामा लगाएको गुन श्रेष्ठ दम्पती बिर्सन चाहँदैनन् । पछि त बिरामीकै आफन्तले पनि अस्पताल निर्माणमा दुई करोडसम्म पैसा हाल्न इच्छा देखाए ।
‘अब यो अस्पताल हाम्रोमात्र हो भन्ने अवस्था छैन’, डा.सुदीपले भने, ‘ अब त हरेक बिरामीका आफन्तले पनि यसमा लगानी गरेका छन्, धेरैको अपनत्व यसमा छ ।’ गोजीमा १५ लाख लिएर देशकै नमुना क्यान्सर अस्पताल बनाउन हिँडेको करिब दशकपछि नेपाल क्यान्सर अस्पतालले विशाल आकार लिँदैछ । आलिसान भौतिक संरचना, अत्याधुनिक उपकरण, अनुभवी र मिजासिला स्वास्थ्यकर्मी यसका गहना हुन् । तर राज्यले भने उपकरण खरिदमा छुट, ऋणमा सहुलियत ब्याज, जग्गा, काम गर्ने वातावरण, करमा छुट त परै जाओस् बाटो, पानी, ढल निकासको सम्म व्यवस्था गरिदिएको छैन । ‘निजी स्तरबाट भए पनि हामीले यत्रो जोखिम मोलेर देशकै जनताको सेवा गरेका छौं’, डाक्टर श्रेष्ठ भन्छन्, ‘राज्यले केही नभए सफ्टलोन, उपकरमा छुट, बत्ती, पानी र ढलको व्यवस्था गरिदिनुपर्ने हो, त्यति पनि गरिदिएको छैन, कम्तीमा बिरामीको उपचारमा त कर नलगाई देओस् ।’ नेपालमा क्यान्सरका बिरामीको संख्या बढ्दो छ । अहिले पनि क्यान्सरको उपचारका लागि हुनेखाने र ठूलाबडाहरू भारतलगायतका विदेशी मुलुकमा जाने क्रम रोकिएको छैन । तर नेपाल क्यान्सर अस्पतालमा राजीव गान्धी क्यान्सर अस्पतालस्तरकै सेवा उपलब्ध भएको दाबी डा.सुदीपको छ । आफूहरूकहाँ अत्याधुनिक उपकरण र अनुभवी चिकित्सकले सम्पूर्ण क्यान्सरको उपचार भइरहेको उनको दाबी छ । ‘निको भएकाहरू आफूलाई क्यान्सर भएको बारेमा बोल्न चाहँदैनन्, डा.श्रेष्ठले भने, ‘त्यही कारणले पनि हाम्रो उपचारको अवस्थाको धेरै प्रचार हुन नसकेको हो ।’
बोनम्यारो प्रत्यारोपणदेखि नेपालको क्यान्सर इन्स्टिच्युटका रूपमा अस्पताललाई विकसित गरेर हरेक युनिटलाई सेन्टरको रूपमा स्थापित गर्ने अबको योजना रहेको डा. सुदीप बताउँछन् । उपचारका लागि राजीव गान्धी पुग्ने बिरामीलाई त्यहाँका चिकित्सकले समेत ‘यहाँ हुने सबै उपचार नेपाल क्यान्सर अस्पतालमै हुन्छ किन यहाँ आएको ?’ भन्ने प्रश्न गर्न थालेपछि अहिले त्यहाँबाट फर्केका बिरामी पनि यही उपचार गराउँदै आएका छन् । एक्लो प्रयासले मात्र अस्पतालको सेवा चुस्त दुरुस्त बनाउन सकिँदैन । प्रभावकारी उपचारका लागि डा. सुदीपलाई दक्ष चिकित्सकहरूको साथ छ । मिसन, भिजन र गोलमा उनको टिम कटिबद्ध छ ।
डा.सुदीपले बिरामीको उपचारमात्रै गरेर रोग निको नहुने विधिलाई आत्मसात गरेका छन् । उनी बिरामीसँगै उसको परिवार, आफन्तसँगको अन्तरक्रियालाई प्रमुखता दिन्छन् । बिरामीका कुरा आरामले सुन्ने, उसको आर्थिक अवस्था, सामाजिक अवस्था, धार्मिक आस्थालाई पनि ध्यान दिएर उपचार गर्न सकियो भने उपचार सहज हुने डा. सुदीपको अनुभव छ । र उनले यही विधिलाई आत्मसात गरिरहेका छन् । यसका लागि अस्पतालमा भएकै जनशक्तिलाई प्रशिक्षण दिन सके स्वास्थ्य उपचार प्रभावकारी हुने र अस्पतालले भोग्नु परेका झन्झट कम हुने उनको मत छ । त्यो विधिलाई देशभरका अस्पतालले लागू गराउनुपर्नेमा डा. सुदीपले अभियान नै थालेको बताए । प्यालेटिभ केयरमा ध्यान दिन नसक्दा चिकित्सक र विरामीबीच अविश्वास बढी रहेको उनको विश्लेषण छ । प्यालेटिभ केयरको गाइडलाइन बनाउन अमेरिकन सोसाइटी अफ अंकोलोजीले केही दिन पहिले आयोजना गरेको सम्मेलनमा दक्षिण एसियाली राष्ट्रबाट चीन, भारतसँगै नेपालबाट डा. सुदीप संलग्न थिए । त्यो गाइडलाइन अनुसरण गर्न सके नेपालमा पनि प्यालेटिभ केयर स्थापित हुने उनको तर्क छ । पुरुषको सफलतामा नारीको ठूलो भूमिका हुन्छ भन्ने सत्य डा.सुदीपको जीवनमा लागू भएको छ । श्रीमती स्वरूपा श्रेष्ठ सुदीपकी दुःखसुखकी सारथिमात्र होइनन् हरेक योजनाकी कुशल पहरेदार बनिन् । डा.सुदीपका हरेक संघर्ष र सफलतामा उनको पनि उत्तिकै पसिना बग्यो, त्यत्ति नै मेहनत लाग्यो । आफ्नो पेसा व्यवसाय नै छोडेर उनले रातदिन नभनी श्रीमान्को परिकल्पनालाई मूर्तरूप दिन भौतिक र मानसिक रूपमा साथ दिइन् । स्वरूपा अस्पतालकी निर्देशकमात्र होइनन्, उनैको अथक साथले यहाँसम्म आइपुगिएको डा.सुदीप सम्झन्छन् । अझै कम शुल्कमा स्वदेशमै क्यान्सरको उपचार सेवा कसरी उपलब्ध गराउन सकिन्छ यसै विषयमा श्रेष्ठ दम्पती लागिपरेका छन् ।
Leave a Reply