हेल्थ टुडे
विभिन्न किसिमका सूक्ष्म जीवाणु (ब्याक्टेरिया) ले धेरै किसिमका रोग जन्माउँछन् । यस्ता सूक्ष्म जीवाणुको संक्रमणबाट विभिन्न रोग लाग्नुका साथै ज्वरो आउने, घाउ पाक्ने, खोकी लाग्ने, शरीर सुन्निने आदि विभिन्न लक्षणहरू देखा पर्दछन् । सूक्ष्म जीवाणुको संक्रमणका विरुद्धमा प्रयोग हुने औषधिलाई एन्टिबायोटिक भनिन्छ । सूक्ष्म जीवाणुको किसिमअनुसार प्रयोग गर्नुपर्ने एन्टिबायोटिक पनि फरकफरक हुन्छ र एउटै एन्टिबायोटिक सबै संक्रमणमा उपयोगी हुँदैन । दिनमा कति पटक प्रयोग गर्ने र कति अवधिसम्म प्रयोग गर्ने भन्ने पनि संक्रमण र एन्टिबायोटिकअनुसार फरकफरक हुन्छ । यी कुराको जानकारी चिकित्सक र स्वास्थ्यकर्मीलाई हुने भएकाले उनीहरूको सल्लाहअनुसार मात्र एन्टिबायोटिकको प्रयोग गर्नुपर्दछ ।
१. चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना बिरामी स्वयंले एन्टिबायोटिक औषधिको सेवन गर्नु हुँदैन । चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना एन्टिबायोटिक औषधिको प्रयोग गर्दा औषधिले संक्रमणबाट मुक्ति नदिनेमात्र होइन, रिएक्सन भएर मानिसको ज्यान जोखिममा पर्न सक्छ ।
२. गर्भवती वा स्तनपान गराइरहेकी महिलाले आफूखुसी एन्टिबायोटिक औषधि सेवन गर्दा शिशुमा समेत नराम्रो असअर पर्न सक्छ तथा अंगभंग भएको वा सुस्तमनस्थिति भएको बच्चा जन्मन सक्दछ ।
३. एन्टिबायोटिकको पूरा मात्र नखानाले ब्याक्टेरियाले एन्टिबायोटिक विरुद्धमा लड्ने क्षमता (प्रतिरोध) को विकास गर्दै र अर्को पटक सो एन्टिबायोटिकको प्रयोग गर्दा रोग निको नहुने हुन सक्छ ।
४. प्रतिरोध विकास गरेको ब्याक्टेरियाको संक्रमण जोसुकैलाई भए पनि सो एन्टिबायोटिकले असर नगर्ने भएकाले प्रतिरोध विकास गर्नु भनेको समुदाय र व्यक्तिको लागि मात्र होइन, विश्वकै लागि समस्या हुन सक्छ । त्यसैले सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टिबायोटिकको प्रयोग गरौं, गराऔं ।
५. नियम र अवधि नपु¥याएर एन्टिबायोटिक सेवन गरेमा रोगका लक्षणहरू नदेखिने भए पनि रोग निको नभई पुनः बल्झिने हुन सक्छ र अरूलाई उक्त रोग सर्न सक्दछ जसले गर्दा उनीहरूमा पनि त्यो समस्या देखा पर्दछ ।
६. भाइरसबाट हुने रूघाखोकीलगायत अन्य साधारण रोगमा एन्टिबायोटिकले असर गर्दैन ।
७. एन्टिबायोटिक औषधि सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा तोकिएको मात्रा र अवधिसम्म अनिवार्य रूपमा प्रयोग गरौं ।
Leave a Reply