डा. सञ्जय खड्गी
अहिलेसम्म पाँच हजारभन्दा बढी व्यक्तिको मिर्गौलाको पत्थरी (किड्नी स्टोन) को शल्यक्रिया गरिसकेको मेरो व्यक्तिगत अनुभवमा ६५ प्रतिशत बिरामी नेपालको पश्चिमी क्षेत्रका छन् । यस क्षेत्रका जनतामा मिर्गौलामा पत्थरी हुनमा धेरै गर्मी, स्वास्थ्य चेतनाको अभाव, ट्युबेलको पानीको अत्यधिक उपभोग आदि कारण देखिएको छ । मिर्गौलामा पत्थरी हुनमा ८० प्रतिशत कारण व्यक्तिको आफ्नो रासायनिक प्रक्रियामा भर पर्छ । २० प्रतिशत कारण पानी कम पिउने, वंशाणुगत, प्याराथाइरोइड ग्रन्थीको वृद्धि, लामो समयसम्म झाडापखाला, जन्मजात मिर्गौलाको नलीमा अवरोध आदि हुन् । मिर्गौलामा पत्थरी भएका कतिपय व्यक्तिमा लक्षण नदेखिन पनि सक्छ । तर कतिपयमा निम्न लक्षण पाइएको छ ।
के के लक्षण देखिन्छ
कुनै बिरामीको दुवै मिर्गौलामा पत्थरी भए पनि केही लक्षण नदेखिन सक्छ । पत्थरीको स्थानअनुसार दायाँ वा बायाँ कोखामा मन्द दुखाइ हुनसक्छ । पिसाबमा रगत देखिन सक्छ । मिर्गौला सुन्निने कारण ज्वरो आउन सक्छ । शरीरमा इन्फेक्सन देखिन सक्छ । यसरी पत्थरी दायाँ वा बायाँ, नलीमा वा पिसाब थैली कहाँ छ भन्ने कुरा लक्षणका आधारमा थाहा पाउन सकिन्छ ।
कस्तो उमेरसमूहलाई हुन्छ ?
जुनसुकै उमेरसमूहका व्यक्तिलाई पनि मिर्गौलामा पत्थरी हुन सक्छ । मैले डेढ वर्षको बच्चाको समेत शल्यक्रिया गरेर मिर्गौलाको पत्थरी निकालेको छु । विशेषगरी पुरुषको तुलनामा कमै मात्रामा महिलालाई मिर्गौलाको पत्थरी हुने गर्छ । दुईजना पुरुषबराबर एकजना महिलालाई मिर्गौलाको पत्थरी देखिने गर्छ । मिर्गौलाको पत्थरी २० देखि ४० वर्ष उमेरसमूहमा हुन सक्ने बढी सम्भावना रहन्छ । ४० वर्षसम्म मिर्गौलामा पत्थरी नभएमा दीर्घकालीन रूपमा नहुन सक्छ ।
मिर्गौलाको पत्थरीको निदान कसरी गरिन्छ ?
मिर्गौलामा पत्थरी भए नभएको हेर्न पेटको भिडियो एक्सरे गर्नुपर्छ । भिडियो एकसरे गरेर पाँच मि.मि. माथिको स्टोन राम्रोसँग देख्न सकिन्छ र मिर्गौलामा परेको असर राम्रोसँग पहिचान हुन्छ । मिर्गौलामा पत्थरी भए, नभएको हेर्न सामान्य एक्सरे केयुवी गर्न सकिन्छ जसमा ९० प्रतिशत पत्थरी भए नभएको थाहा पाउन सकिन्छ । कतिपय अवस्थामा इन्जेक्सन लगाएर आईभीयू एक्सरे गरेर पत्थरीले मिर्गौलालाई पारेको असर र यसलाई झिक्नुपर्ने आवश्यकता थाहा पाइन्छ । तर सिटीस्क्यान गरेमा मिर्गौलामा पत्थरी भए नभएको शतप्रतिशत पहिचान हुन्छ । नेपालका धेरै ठाउँमा यस किसिमको सुविधा छ । यसबाट मिर्गौलाको पत्थरीले कति असर गरेको छ भन्ने कुरा सजिलै पहिचान गर्न सकिन्छ ।
विकसित मुलुकहरूमा पत्थरीको शंका गरिएका व्यक्तिलाई तत्काल सिटी स्क्यान गर्न लगाइन्छ । यसले ऐनाजस्तै छर्लंग पारिदिन्छ । रङ हालेर र नहालेर दुई तरिकाले सिटी स्क्यान गरिन्छ । नेपालमा रङ हालेर गरिएको सिटी स्क्यानको मूल्य करिब ७–८ हजार रुपैयाँ छ भने रङ नराखी गरिएको सिटी स्क्यानलाई बिरामीले करिब ३ हजार ५ सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म शुल्क बुझाउनु पर्छ ।
मिर्गौलाको पत्थरीको उपचार के छ ?
मिर्गौलाको पत्थरीको आकारका आधारमा उपचारका प्रविधिहरू अपनाइन्छ । ४ देखि ५ मि.मि.सम्मको पत्थरीलाई शल्यक्रिया गरिरहन आवश्यक पर्दैन । यो आफैं झर्ने सम्भावना ९० प्रतिशत हुन्छ । १ सेन्टिमिटरदेखि डेढ सेन्टिमिटरसम्मको पत्थरीलाई लेजरबाट इएसडब्लूएल (लिथोस्ट्रिप्सी) बाट झिकिन्छ । यस पद्धतिमा बाहिरबाट विकिरणले हानेर ढुंगा फुटालिन्छ । यसको सफल दर ७० प्रतिशत छ । डेढ सेन्टिमिटरभन्दा ठूलो पत्थरीमा आजभोलि चिर्न आवश्यक छैन । यसका लागि मिनिपिसिएनएल (किड्नी नजिकैको भागमा ५ मि.मि. प्वाल बनाएर दूरबीन भित्र पठाएर पत्थरी फोड्ने र सबै बाहिर निकाल्ने) गर्नुपर्छ । यसलाई अहिलेको भरपर्दो प्रविधि मानिन्छ ।
पत्थरी चिरेर निकालेपछि सबै निख्रिएर आउने हो कि होइन ?
चिरेर निकालेपछि सबै पत्थरी आउने आमधारणा बिल्कुल गलत हो । चिरेर किडनीको पत्थरी निकाल्दा किडनी सब काट्ने होइन र पत्थरी ह्वाङ्गै देखिने चिज पनि होइन । दूरबीनको माध्यमबाट मिर्गौलाभित्र भएको सबै पत्थरी देखिन्छ र त्यसलाई सजिलै निकाल्न सकिन्छ । २–३ सेन्टिमिटरको पत्थरीको साइज भएको र भिडियो एक्सरेमा केही असर देखिएको छैन भने हामी केही अवधि प्रतिरक्षा गर्न सक्छौं ।
शल्यक्रियापछि पत्थरी बल्झिने सम्भावना कति छ ?
एक पटक पत्थरी भइसकेको व्यक्तिलाई पाँच वर्षपछि फेरि आउन सक्ने सम्भावना ५० प्रतिशत हुन्छ । त्यसैले पानी धेरै पिउने, नियमित अल्ट्रासाउन्ड गर्ने आदि गर्नुपर्छ । शरीरभित्रको केमिकल मेटाबोलिजम र केमिकल रियाक्सनका कारण एकपटक डाइग्नोसिस भएपछि पाँच वर्षमा आउन सक्ने ५० प्रतिशत सम्भावना हुन्छ । त्यसैले मिर्गौलामा पत्थरी भएकाहरूलाई कुनै समस्या नभएमा वेट एन्ड वाच गर्न सकिन्छ । तर बीचबीचमा हरेक ६ महिनामा एउटा भिडियो एक्सरे गर्न जरुरी छ । यसबाट मिर्गौलालाई असर गरे नगरेको थाहा हुन्छ ।
गहतको झोल र आयुर्वेद औषधिले फिल्टरेसन राम्रो गराउँछ
संसारमा अहिलेसम्म मिर्गौलाको पत्थरी पगाल्ने औषधि आविष्कार भएको पाइँदैन । गहतको झोल र आयुर्वेदिक औषधिले मिर्गौलामा फिल्टरेसन राम्रो गराउँछन् । राम्रोसँग मिर्गौला फिल्टर भएमा पिसाबको प्रवाह पनि राम्रोसँग हुने गर्छ । तर यस्ता वस्तुको भर परेर बस्दा दुवै मिर्गौला बिग्रिन सक्छन् । त्यसैले चिकित्सकलाई देखाउन ढिलाइ गर्नु हुँदैन ।
पत्थरी नझिकेमा मिर्गौला बिग्रिने
मिर्गौलाको पत्थरी नझिकेमा यसले मिर्गौला बिल्कुलै ड्यामेज गराउन सक्छ । त्यसैले मिर्गौलाको पत्थरीको सही समयमा सही उपचार हुन जरुरी छ । पत्थरीका कारण एउटा मिर्गौला बिग्रिएमा अर्को मिर्गौलाले राम्रोसँग काम गर्ने भए पनि यसलाई जोगाएर राख्नुपर्छ । एउटा मिर्गौलामा पत्थरी भइसकेपछि अर्कामा हुन सक्ने सम्भावना रहन्छ । त्यसैले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । पत्थरी बढ्दै जान्छ । यसका लागि पानी प्रशस्त मात्रामा पिउने, पिसाब रोकेर नबस्ने र पसिना आउने गरी शारीरिक क्रियाकलाप गर्न आवश्यक हुन्छ ।
(डा. खड्की सिनियर कन्सल्टेन्ट युरोलोजिस्ट हुन।)
Leave a Reply