भक्तपुर क्यान्सर अस्पतालका रगत रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा.अजयकुमार झासँग ब्लड क्यान्सर र बोनम्यारोको उपचार सम्बन्धि गरिएको कुराकानी :
रगतसम्बन्धी रोग के के हुन्छन् ?
रगतसम्बन्धी थुप्रै रोगहरू छन् । क्यान्सर र क्यान्सर नभएका गरी रगत रोगलाई हामी दुई भागमा बाँड्न सक्छौं । ब्लड क्यान्सरबाहेक रक्तअल्पता, एल्पास्टिक एनिमिया, सिक्लेस एनिमियाजस्ता रगतसम्बन्धी रोगहरूका कारण हजारौं बिरामी पीडित छन् । यिनीहरूमध्ये सबैभन्दा बढी रक्तअल्पताबाट ठूलो संख्यामा नेपाली पीडित छन् ।
रक्तअल्पता के कारणले हुन्छ ?
थुप्रै कारण छन् । तीमध्ये प्रमुख कारण कुपोषण हो । खानामा पर्याप्त आइरनको कमी भएमा, पेटमा जुका परिरहेमा, औलो लागेमा रक्तअल्पता हुन सक्छ । त्यस्तै शरीरबाट बढी रगत बगेमा, गर्भवती भएको अवस्थामाा पनि रक्तअल्पता हुन सक्छ । कहिलेकाहीँ वंशाणुगत कारण र केही रोग विशेषले गर्दा पनि रक्तअल्पता हुने गर्छ । मुख्यकुरा खानेकुरामा आइरनको कमीले गर्दा नै रक्तअल्पता हुने गर्छ । रक्तअल्पताबाट सबै उमेरसमूहका व्यक्ति पीडित छन् । विश्व स्वास्थ्य संगठनका अनुसार ६० प्रतिशत व्यक्तिमा रक्तअल्पताको समस्या छ ।
कुन उमेरसमूहका व्यक्ति यो समस्याबाट बढी पीडित छन् ?
महिला, किशोरी र बालबालिकाहरूमा यो समस्या छ । त्यसमा पनि गर्भवतीलाई यो समस्या अलि बढी छ । नेपालमा आमा बन्ने क्रममा मृत्यु अत्यधिक हुनुमा यो पनि एउटा प्रमुख कारण हो । गर्भवती महिलाको शरीरबाट नै गर्भमा रहेको भ्रूणलाई पोषण, अक्सिजन आदि सबै जाने गर्छ । यस्तो बेलामा महिलाको शरीरलाई केही बढी पोषणको जरुरत पर्छ । हाम्रो समाजमा केही जातिहरूमा गर्भवती महिलालाई दोजिया (दुई जिउकी) भनेर बढी भोजन दिइन्छ भने कतै कम खाना दिइन्छ । केरा खाए बच्चा पाठेघरमा टाँसिन्छ, मेवा खाए गर्भपात हुन्छ, दूधदही खाए गाईभैंसीको दूध सुक्छ भन्ने खालका अन्धविश्वास पनि छन् । यसले गर्दा गर्भवती महिलाहरू कुपोषण र रक्तअल्पताजस्ता रोगहरूबाट पीडित हुने गर्छन् । यसैगरी सुत्केरी भएको बेलामा आमालाई हरियो सागपात, दाल खान दिएमा बच्चाको पेट दुख्छ, पखाला लाग्छ भनेर खान दिइँदैन । यस्ता अन्धविश्वासले पनि महिलाहरूमा रक्तअल्पता धेरै हुने गरेको छ । बालबालिकामा पनि रक्तअल्पता धेरै छ ।
पर्याप्त खानेकुरा पाउनेलाई पनि हुन्छ त रक्तअल्पता ?
पहिले जुन घरका बालबालिकाले पर्याप्त मात्रामा खाना पाउँदैनन् प्रायः त्यस घरका बालबालिकामा रक्तअल्पता हुने गर्छ भन्ने मान्यता थियो । तर आजको समयमा रक्तअल्पता हुने कारण्हरू अरू पनि छन् । पर्याप्त मात्रामा खाना उपलब्ध हुने घरका बालबालिकामा पनि रक्तअल्पता भएको पाइएको छ । विशेषगरी पुरियाबन्द तथा आधुनिक तयारी खाना बढी प्रयोग गर्ने बालबालिकाहरूमा यो समस्या देखिएको छ ।
रक्तअल्पता रोकथाम गर्न सरकारले गरिरहेको प्रयासलाई कसरी लिनु हुन्छ ?
सरकारले गर्भवती महिलालाई निःशुल्क आइरन चक्की बाँडिरहेको छ । तर गर्भवती महिलालाई मात्र बाँडेर भएन । रक्तअल्पताको समस्या नेपालमा सबै उमेरसमूहमा छ । त्यसमा पनि बालबालिकामा बढी देखिएको छ । सरकारले बालबालिकालाई पनि आइरन चक्की बाँड्ने जस्तै कार्यक्रम ल्याउनु आवश्यक छ । भारतमा बालबालिकाका लागि एनिमिया प्रिभेन्सन प्रोग्राम ल्याएको छ । त्यसले त्यहाँ रक्तअल्पता कम गर्न सहयोग मिलेको छ । नेपाल सरकारले पनि बालबालिकाका लागि कार्यक्रम सुरु गर्नुपर्छ ।
ब्लड क्यान्सरको उपचारका लागि थुप्रै नेपाली विदेश जान्छन् । नेपालमै सबै उपचार सम्भव छैन ?
ब्लड क्यान्सरको उपचार नेपालमै गर्न सकिन्छ । भक्तपुर क्यान्सर अस्पतालमा हामी सयौंको उपचार गरिरहेका छौ । वर्षमा मैले तीन सयभन्दा बढी बिरामी त मैले नै हेर्ने गरेको छु । अरू डाक्टरसाबहरूले पनि उपचार गर्छन् होला । त्यसैले धेरै पैसा खर्च गर्न र अत्याधुनिक सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन विदेश गए भइगो । तर ब्लड क्यान्सरकै उपचारकै लागि विदेश जानु पर्ने अवस्था छैन । नेपालमै हामी उपचार गरिरहेका छौं ।
ब्लड क्यान्सरका लक्षण के के हुन सक्छन् ?
जोर्नी दुख्ने, रगतमा हेमोग्लोबिन कम हुने, ब्लिडिङ हुने, संक्रमण हुनेजस्ता लक्षण भएमा ब्लड क्यान्सरको शंका गर्न सकिन्छ । तर बिना स्वास्थ्य परीक्षण यसको निक्र्यौल गर्न भने सकिन्न ।
बोनम्यारो प्रत्यारोपण कहिले सुरु हुन्छ भक्तपुर क्यान्सर अस्पतालमा ?
बेनम्यारो प्रत्यारोपण त्यति सजिलै गर्न सकिने चिज होइन । एकजना बोनम्यारो प्रत्यारोपणविद्ले मात्र गर्न सक्ने चिज होइन । यो मल्टिप्यासलिटी भएको अस्पतालमा मात्र सम्भव छ । त्यसका लागि विज्ञ चिकित्सक, अत्याधुनिक प्रयोगशाला, पर्याप्त सुविधा, अस्पतालको वातावरण सबै कुराले निर्धारण गर्छ । भक्तपुर क्यान्सर अस्पतालमा अहिले नै सम्भव छैन । हामीले भविष्यमा योजना भने बनाएका छांै ।
क्यान्सर बिरामीको उपचारमा सरकारको सहयोग पर्याप्त भएन भन्ने गुनासो छ नि ?
सरकारले क्यान्सर रोगको उपचारका लागि विपन्न बिरामीलाई सहायताका नाममा एक लाख रुपैयाँ दिएर झारा टार्ने गरेको छ । क्यान्सर रोग उपचारका लागि एक लाखले कुनै अर्थ राख्दैन । तीन करोड जनसंख्याका लागि सरकारले एकमात्र सरकारी क्यान्सर अस्पताल खोलेको छ भरतपुरमा । बर्सेनि ३० हजार क्यान्सरका बिरामी थपिन्छन् नेपालमा । के तिनीहरूको उपचार बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले मात्र गर्न सक्छ त ? कि सरकार आफंैले हरेक प्रदेशमा कम्तीमा पनि एकएकवटा क्यान्सर अस्पताल खोल्नु प¥यो । त्यो सक्दैन भने न्यूनतम शुल्कमा उपचार सेवा दिइरहेका भक्तपुर क्यान्सर अस्पतालजस्ता अस्पताललाई सहयोग गर्नु प¥यो । क्यान्सर रोग विशेषज्ञ एकदमै कम छन् । बढाउन पहल गर्नुपर्छ । पलायन रोक्नुपर्छ । त्यसो भएमात्र हामी क्यान्सरका बिरामीको उपचार स्वदेशमै गर्न सक्छांै ।
Leave a Reply