डा. कल्पना शर्मा
मानिस जन्मेपछि २० वटा दाँत उम्रिन्छन् र यिनीहरू क्रमशः साटिन्छन् । वयस्कमा ३२ वटासम्म दाँत हुने हुनाले बाँकी १२ वटा दाँत पछि आउँछन् । यी साटिँदैनन् । जन्मेपछि सुरुमा देखा पर्ने दाँतलाई जनजिब्रोमा दूधेदाँत भनिन्छ । यी दाँतका परावर्तीय सूचक दूधसँग मिल्ने भएकाले यसो भनिएको हो । सामान्यतया बच्चा ६ महिनाको भएपछि मुखको अगाडितिरको च्यापुमा पहेँलो दाँतहरू देखा पर्छन् र लगभग तीन वर्षसम्म २० वटै दाँत आउँछन् । ६ वर्षको उमेरदेखि दाँत साट्ने प्रक्रिया सुरु भई १२–१३ वर्षको उमेरसम्म नयाँ दाँत आइसक्छन् । कसैमा भने यो क्रम ढिलो–चाँडो हुन सक्छ ।
दूधेदाँतहरू पनि वयस्कमा हुने दाँतजस्तै प्रकृतिले खाना चपाउने प्रयोजनका लागि हामीलाई दिएको हो । तसर्थ खाना चपाएर मसिनो बनाएर पाचनयोग्य बनाउन दूधेदाँत बलियो हुनु आवश्यक छ । यसबाहेक बढ्ने उमेरको बालबालिकाको च्यापुको हाडको वृद्धि र विकासमा दूधेदाँतको भूमिका हुन्छ । यस्तो भनिन्छ कि खानामा परहेज गर्ने सम्भावना मुखको स्वास्थ्य कमजोर भएका बच्चामा स्वस्थ बच्चाको भन्दा १२ गुना बढी हुन्छ ।
मुख र अनुहारको सौन्दर्य पनि दाँतले कायम राखेको हुन्छ । बच्चाको बोलीको सिकाइ पनि सानो उमेरमा सुरु हुने हुँदा दाँतको सहायताले उत्पत्ति हुने बोलीको विकासमा यिनीहरू काम लाग्छन् । दूधेदाँतको अर्को महत्वपूर्ण काम भनेको पछि आउने दाँतका लागि बाटो देखाउने र स्थानलाई सुरक्षित गर्ने पनि हो । अर्को शब्दमा भन्नुपर्दा स्थायी दाँत आउन्जेलसम्म त्यो भागमा दूधेदाँत रहिरहनु अत्यावश्यक छ । यदि समय नपुगी दूधेदाँत निकालिएमा स्थायी दाँतले ठाउँ नपाउने, बांगोटिंगो गरी आउने वा निकालिएको भागतिर छेउछेउका दाँत ढल्किने जस्ता विविध समस्याहरू हुन सक्छन् ।
दुवै दाँतमा देखा पर्ने सबैभन्दा समस्या भनेको दाँतमा लाग्ने कीरा नै हो । वयस्कमा होस् या बच्चामा यो दाँत स्वास्थ्यको ठूलो शत्रु हो । झन् बच्चामा यसको बिगबिगी धेरै हुनु स्वाभाविक हो । किनभने बच्चाहरू गुलियो खानेकुरा अत्यधिक सेवन गर्छन् । दाँतको सफाइ गर्न उतिसारो अग्रसर हुँदैनन् । सन् २०१३ मा भक्तपुरमा विद्यालय जाने उमेरका व्यक्तिहरूमा गरिएको अनुसन्धानमा ६ सय ६५ जनाले एक पटक, तीन सय ४५ जनाले दुई पटक, सात सय ३५ जनाले बिहान मात्र, अनि दुई सय ७५ जनाले रातिमात्र दाँत माझ्ने गरेको पाइएको थियो । कीरा लाग्नेबाहेक दाँतको वरिपरि रहेको गिँजा सुन्निने, पाक्ने, दाँतमा चोटपटक लाग्ने, दाँतको कीराको संक्रमण भित्री नसासम्म पुगेर हाड, गला, मुखको भित्री भाग र घाँटीसम्म सुन्निने समस्या पनि यदाकदा देखिन्छ ।
प्रारम्भिक चरणमा गरिने प्राथमिक तथा रोकथामजन्य उपचारहरू सजिला र सस्ता हुन्छन् भने जटिलता बढ्दै गएपछि हुने प्रवद्र्धनात्मक, उपचारात्मक र पुनस्र्थापनासम्बन्धी उपचार निकै जटिल, समय लाग्ने अनि खर्चालु पनि हुन्छन् । समयमा लगाएको बारले पशुबाट बालीनाली बचाएजस्तै समयमा गरिने उपचारले बच्चाको शारीरिक स्वास्थ्यको सुरक्षा त गर्छ नै मानसिक तनाव हुन पनि दिँदैन । बच्चाको शिक्षामा असर पर्दैन र अभिभावकको समय र पैसाको बचत हुन्छ ।
विश्वभरि ६०–९० प्रतिशत स्कुले बालबालिकालाई दाँतमा कीरा लागेको तथ्यांक छ । सन २००४ मा नेपालमा गरिएको एक अनुसन्धानअनुसार १२÷१३ वर्षका २५.६ प्रतिशतलाई दाँतमा कीरा लाग्ने समस्या छ भने ६२.८ प्रतिशतलाई गिजाको समस्या पाइन्छ । यी तथ्यहरूले पनि दूधेदाँत त हो, साटिएर गइहाल्छ भनेर नकार्न नहुने संकेत गर्छन् । नानीहरूको मुख र दाँतको स्याहार जन्मेपछि हैन कि जन्मनुपूर्व नै सुरु भइसकेको हुन्छ । आमाले सन्तुलित आहार गर्नु, कुलतबाट मुक्त रहनु, आमाको दाँत र मुखमा रोग भए त्यसको उपचार गर्नु, प्रयोग गर्न नमिल्ने औषधि प्रयोग नगर्नुजस्ता कुरा बच्चाको समग्र स्वास्थ्य अनि दाँतको स्वास्थ्य दुवैसँग गाँसिएका विषय हुन् । नानी जन्मेपछि दाँत नआउँदासम्म सफा र नरम कपडाले मुखको सफाइ गर्नुपर्छ भने दाँत आइसकेपछि भने सुरुमा अभिभावकले अनि पछि बच्चा आफैंले दाँतको सरसफाइ गर्न थाल्नुपर्छ । यसका लागि चार कुरामा ध्यान दिनु जरुरी छ । पहिलो कुरा बच्चालाई सानैदेखि सिकाउनुपर्छ । दोस्रो आफू पनि सँगै दाँत माझ्नुपर्छ । तेस्रो दाँत माझ्ने वा मुखको सफाइलाई झन्झटिलो हैन कि रमाइलो क्रियाको रूपमा विकास गर्नुपर्छ । चौथो सरसफाइमा बच्चालाई बढी सहभागी गराउनुपर्छ ।
बच्चाको दाँत र मुखसम्वबधी स्वास्थ्यमा छुटाउनै नहुने केही कुरा छन् । अभिभावकले बच्चाको दूधेदाँत भनेर खेलवाड गर्नु हुँदैन । निरन्तर सफा गर्ने, गुलियो खानेकुरा खान नदिने, दिनुपरे दिनभरि दिनुको सट्टा अन्य खानेकुरा खाएकै बखत दिएर तुरुन्त कुल्ला गर्ने वा दाँत माझ्ने बानी बसाउनुपर्छ । यस्तै यदि दाँतमा कीरा लाग्न सुरु भएको छ भने ढिलो नगरी स्वास्थ्यकर्मीकोमा लैजानुपर्छ । अनि वच्चालाई दाँत दुख्नसमेत थालेको भए त झनै सतर्कता अपनाइहाल्नुपर्छ । बेलाबेलामा स्वास्थ्य संस्थामा लगेर बच्चाको दाँतको स्वास्थ्य परीक्षण गरियो भने भविष्यमा हुन सक्ने समयको नोक्सानी, आर्थिक व्यवहार र मानसिक तनावबाट बच्च सकिन्छ ।
Leave a Reply