• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

यी हुन ग्रिनसिटी अस्पतालका टण्डन

November 25th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन ग्रिनसिटी अस्पतालका  टण्डन

हेल्थ टुडे

प्रहरीको जागिरमै झुन्डिरहेको भए सायद दुई चार तह बढुवा हुन्थ्यो । महिना दिनमा आउने तलबले जेनतेन घरबार चल्थ्यो । २७ महिना हुँदा नहुँदै लोकबहादुर टन्डन (एलबी टण्डन) ले प्रहरीको जागिर छोडे । उनी पाल्पा फर्किए । बुवाले थालेको सानो व्यापार सम्हाले । त्यसमा चार तोला सुन र सात हजार थप लगानी गरेर गाउँका व्यापारी बने । आज तिनै टन्डन देशमै बसेर अस्पताल र ग्लास व्यापारमार्फत करिब पाँच सय जनालाई प्रत्यक्ष रोजगार दिइरहेका छन् ।

दुई हरफमा सारांश लेख्न खोजिएको उनको यो यात्रा नागबेली सडकजस्तै बांगोटिंगो रह्यो । उकालीका कैयौं पहाड उक्लनु प¥यो । जोखिमका कैयौं ओराली झर्नुप¥यो । अवस्था फेर्न  टन्डनले जीवनका पचासौं वसन्त पार गरेका छन् । दुःखको गोरेटोमा कैयौँ जोर जुत्ता फटाएका छन् । सिर्जनाको सोचमा हजारबार घोत्लिएका छन् । संघर्षको पौठेजोरी खेल्दा कैयौं नङ खियाएका छन् ।

गुल्मी साबिकको हर्दिनेटा गाविस— ७ मा २०२१ साल असार १७ गते बुवा रनसिंह र आमा तायकला टन्डनका १६ सन्तानमध्ये एक बनेर जन्मिए लोकबहादुर । दुई वटी आमामध्ये उनी कान्छीपट्टिका जेठा छोरा हुन् ।  ‘म जन्मेको तीन महिनासम्म पनि आमाले राति ब्युँझेर हेर्नुहुन्थ्यो रे !’, टन्डनले भने, ‘छोरीछोरीमात्रै जन्मिएकाले होला उहाँ झोक्किरहनु हुन्थ्यो रे ।’ त्यो समय छोरालाई महत्व दिनेहरूको थियो । टन्डनकी आमाले पनि आठ छोरी र चार छोरा जन्माइन् । जेठी आमापट्टिका चार दाजुदिदी गरेर टन्डन १६ जना भाइबहिनीका बीचमा हुर्र्किए । दुर्गम गाउँको बसाइ, सामान्य परिवारका कारण भनेजस्तो लाउन र चाहिएजस्तो खान सजिलै पुग्ने अवस्था थिएन ।

आमा तोयकलाको छोरालाई पढाउने ठूलो इच्छा थियो । ‘ज्ञान, गुन भएको गाउँका लागि केही गर्न सक्ने छोरो होस् भन्ने चाहना आमाको थियो’, टन्डनले भने, ‘तर, गाउँ नजिक विद्यालय थिएन ।’ २०२६ सालमा उनी हरेक दिन पौने घन्टा हिँडेर लुम्साको भगवती प्राविमा पढ्न थाले । सिलपाटी बोकेर हिँड्दाहिँड्दै उनी थाकेर पानीपानी हुन्थे । ५ कक्षा पास गरेपछि लोकबहादुरको विद्यालयको दूरी झन् बढ्यो । हरेक दिन बिहान एक घण्टा र बेलुकी एक घण्टा हिँडेर उनी श्रीङ्गा निमाविमा पढ्न थाले । आमाको छोरो पढाउने उत्कट चाहनाले टन्डन ८ कक्षा पढ्न मामा भएको ठाउँ भारतको वनारस पुगे । ८ पास गरेपछि भने उनको पढाइ अवरुद्ध भयो । त्यसताका उनी १४ वर्षका थिए ।

बुवाले सिकाएको समाजसेवा

पढाइ रोकिएपछि गाउँमै बसेका टन्डनले बुवाले सञ्चालन गरेको पसलमा सघाए । बुवासँगको संगतले उनी राजनीति बुझ्न थाले । समाजसेवा गर्नुपर्छ भन्ने भावले उनको मस्तिष्कमा बास गब्यो । पञ्चायतकालमा वडाध्यक्ष रहेका बुवा एक दिन गाउँमा मोटर ल्याउने अभियानअन्तर्गत सम्पूर्ण गाउँलेलाई बाटो खनाउने काममा सक्रिए भए । हर्दिनेटावासीले जोर्ते र थोर्गामा बाटो खन्नुपर्ने भयो । लोकबहादुर पनि गाउँलेसँगै बुवाको अगुवाइमा जोर्ते पुगे ।

‘पुरानो गोरेटोमा बुवाहरूले बाटो बनाइदिएका कारण आज हामी त्यसमा चिल्ला गाडी कुदाउँदैछौँ’, टन्डनले भने, ‘आज हामीले सफाइ अभियान थाले भोलि हाम्रा सन्तती पनि सफा र सुन्दर सहरका बासिन्दा बन्नेछन् ।’ ग्रिनसिटी अस्पतालको उद्घाटनमा तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालसँग जोडिएको नाता समाजसेवामा विस्तारित भयो । वागमती सफाइ अभियानको ५०औं साताको अवसरमा टन्डनलाई लीलामणिको फोन आयो । ‘तपाईं पूरै अस्पतालको टिम लिएर वागमती सफाइमा आउनुस्’ भनियो । टन्डन भनेअनुसार वागमती सफा गर्न पुगे ।

यो अभियानमा जोडिएपछि उनलाई लाग्यो ‘गाउँमा बुवाले सिकाएको समाजसेवालाई अगाडि बढाउने मौका यही हो ।’ उनी त्यसयता निरन्तर सरसफाइ अभियानमा जोडिए । ‘सफाइ नै सभ्यता हो, सेवा नै धर्म हो, सफाइ बढी गर्नुस्, अस्पताल कम जानुस्’ भन्ने भावले उनी अहिले पनि वागमती सफाइ अभियानमै छन् । चक्रपथदेखि नयाँ बसपार्कसम्मका बोटवृक्ष रंग्याउने अभियानमा छन् । आज ४०÷५० स्थानमा सरसफाइ अभियान सुरु भएको छ । ‘यो अभियान देशैभर पुग्नुपर्छ’ भन्ने टन्डनको  चाहना छ । राज्यले डम्पिङसाइड र फोहोरबाट ग्यास र बिजुली निकाल्ने प्रबन्ध गर्ने हो भने उनी फोहोरमा मोहर फल्ने देख्छन् ।

टुट्दै जोडिएको पढाइ

आमाको चाहनाअनुसार उनी पढ्न नपाएको भए आज डाक्टर चलाउने व्यक्ति बन्ने थिएनन् । सेन्ट्रल जेलबाट थालेको प्रहरीको जागिरमा उनी कहिले पहाड, कहिले तराई त कहिले हिमालतिर निख्खर जागिरे बनेर हिँडिरहेका हुन्थे । तर टन्डनले आमाकै करजोडमा दिगाममा खुलेको माध्यमिक विद्यालयमा पढाइ सुचारु गरे । १६ वर्षका टन्डनले आमाबुवाको सघाउका लागि हिमकला टन्डनसँग विवाह गरिसकेका थिए । दिनमा तीन घण्टा हिँडेर पढे पनि उनले एसएलसी पास गरे ।

पढाइका बेला पनि उनी बुवाको पसल र आमाको घाँसपातमा पनि उत्तिकै सघाउँथे । बुवाआमाको सेवाले उनलाई एउटा अनुभूति भयो, ‘बावाआमाको सेवा ग¥यो भने कुनै मन्दिरमा गएर अगरबत्ती बाल्नु पर्दैन ।’ योभन्दा उनी नास्तिक होइनन् । थप पढाइका लागि बुटवल झरेपछि भने घरपरिवारबाट कमाउनुपर्ने दबाब आयो । उनी राजधानी हानिए । त्यहीबेला प्रहरीमा जागिरे भए । उनको पोस्टिङ सेन्ट्रल जेलमा भयो ।

राजनीतिमा कृष्णप्रसाद र गिरिजाको प्रेरणा

प्रहरीमा जागिरे बनेर सेन्ट्रल जेलमा खटिएपछि उनको भेटघाट त्यसबेला जेल परेका गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईसँग भयो । ‘देशमा प्रजातन्त्रका लागि प्लेन नै अपहरण गर्ने ती व्यक्तित्वप्रति प्रहरी भए पनि भित्रैबाट उहाँहरूप्रति श्रद्धा जाग्यो’, टन्डनले भने, ‘उहाँहरूकै प्रेरणाले मलाई राजनीतिप्रति रुचि जाग्यो ।’

प्रहरीमा जागिर खाँदै गर्दा उमेरले ८४ टेकिसकेका बुवा टन्डनलाई लिन आउनुभयो । थप पढ्छुभन्दा हाकिमले नमानेका कारण उनलाई पनि प्रहरीमा जागिर खान मन थिएन । तर, टन्डनले यो कुरा बुवालाई भनेनन् । बुवाले ‘अब म बूढो भएँ, व्यापार सम्हाल, घर सम्हाल’ भन्दा उनले सर्त राखे ‘केही गरी भोलि मैले गर्न सकिनँ भने, अपजस दिन पाइँदैन नि’ भनेर । उनी बुवासँगै गुल्मी फर्किए ।

व्यापार सम्हाले, राम्रै भयो । उनले त्यही व्यापारबाट सफलताको एउटा सूत्र सिके ‘शब्द त्यही हो, मिलाएर बोले त्यही मीठो हुँदो रहेछ । सबैको मन जित्न सकिँदो रहेछ ।’ त्यहीबेला बहुदलका लागि आन्दोलन सुरु भयो । समाजसेवा र राजनीतिमा चाख भएका टन्डन किन थामिन्थे । उनी बुटवल झरे । त्यहाँ जसको हातमा जुन झन्डा प¥यो ऊ त्यही बन्यो । त्यसताका कांग्रेस, एमालेका मात्रै झन्डा थिए । उनी २०४६ साल चैत १९ गते बुटवलको आन्दोलनमा सक्रिय थिए । नाराबाजी हुँदै थियो । त्यहीबेला गोली चल्यो ।  उनको छेवैमा भएका एकजना भुइँमा ढले । त्यसपछि उनी कोठामा गएर पल्टिए । ‘निद्रा परेन’, टन्डनले भने, ‘उम्लँदो खुन थियो, के मन मान्थ्यो, कि वार कि पार भनेर फेरि सडकमा ओर्लिएँ ।’ काम विशेषले उनी २२ चैतमा काठमाडौं हिंडे । २५ गते फेरि बुटवल पुगे । २६ गते बहुदल घोषणा भएपछि उनी गुल्मी फर्किए ।

राजनीतिले व्यापार व्यवसाय बिग्रने देखेपछि उनी राजनीतिबाट टाढा भए । २०४७ पुस ३ गते चन्द्र भण्डारी, त्रैलोक्यप्रताप सेन र फणीन्द्र भण्डारी संगठन बनाउन गुल्मीको दिगम आए । उनीहरूलाई थुनेर घाँस हालियो । त्यो कुरा कांग्रेसीले थाहा पाएपछि ठूलो जत्था लिएर कांग्रेसी कार्यकर्ता त्यहाँ पुगे । ‘आफ्ना नेता थुनेको झोकमा कांग्रेस कार्यकर्ताले कुटेर कमल श्रेष्ठलाई घाइते बनाए’, टन्डनले भने, ‘अब गाउँमा एमालेले बसीखान दिएन, कांग्रेस सफाया अभियान चलायो, म बुटवल झरेँ ।’

बुटवल पुग्दा पनि उनले सुख पाएनन् । उनलाई श्रीङ्गामै एमालेको ठूलो हूलले समात्यो । त्यहाँबाट लछारपछार गर्दै, कुट्दै लगियो । उनको ६५ हजार नगद हरायो । एमाले कार्यकर्ताले २५ हजार होटेलको तिर्न लगाए । मरणासन्न हुने गरी कुट्न थालेपछि टन्डनकी आमाले निकै आग्रह गरिन् । हरि कँडेलले जोगाउन मानेनन् । आमाले छोरालाई बर्कोले छाप्नुभयो । ‘आमाले बरु मलाई मार, यसलाई छोडिदेऊ’ भनेपछि उनलाई छोडियो । हरि ज्ञवाली र दानबहादुर घर्तीले लोकबहादुर टन्डनलाई त्यो हूलबाट उम्काएर लगे ।

गाउँमा एमालेले बसिखान नदिएपछि टन्डनसहितको टोली ‘गुल्मीमा शान्ति सुव्यवस्था कायम गर’ भनेर ७२ घन्टा अनशन बस्यो । पछि दमननाथ ढुंगाना र सीपी मैनाली गुल्मी पुगेर जुस खुवाएर उनीहरूको अनशन तोडाए ।

कोरियाले कोरेको बाटो

देशमा बहुदल आए पनि उनको मन उकुसमुकुस थियो । आर्थिक भार र अभावले उनलाई केही गर्नैपर्ने दबाब थियो । उनी पासपोर्ट बनाउन काठमाडौं आए । २०४९ सालमा साउथ कोरिया पसे । ११ महिना २२ घन्टाका दरले नसुती काम गरे । त्यो अवधिमा २० लाख कमाए । त्यो पैसा बोकेर उनी पुनः गुल्मी फर्किए । ‘गाउँमै बसेर प्रगति नहुने देखेँ’, टन्डनले भने, ‘बुवाको इच्छा नहुँदा नहुँदै म चार सन्तान लिएर बुटवल झरेँ ।’ त्यहाँ उनले घर जग्गा जोडे । ग्लास हाउस चलाए । करिब १० वर्ष बुटवल बस्दा उनी गन्यमान्य व्यापारी बन्न पुगे ।

आफूमात्रै होइन, उनले गाउँमा केही गर्न खोज्ने आफन्त, छिमेकीलाई पनि बुटवल झर्न प्रेरित गरे । सकेको सहयोग गरे । तींमध्ये कति एक रुपैयाँ नहुनेहरू आज करोडपति बनेको उनको जिकिर छ । ‘इमान, जमानले हुँदो रहेछ’, टन्डनले भने, ‘मैले मिहिनेत गरेँ, इमान राखेँ, त्यही भएर आजको अवस्थामा छु ।’

२०६२ सालमा टन्डनकी भाञ्जी नीरुले नर्सिङ पढ्ने इच्छा गरिन् । कतै पढ्ने संस्था थिएन । ‘मलाई लाग्यो, आफैं किन नर्सिङ कलेज किन नचलाउने’, त्यसपछि टन्डन पूर्वाञ्चल युनिभर्सिटी पुगे । उनले त्यहाँको सम्बन्धन लिएर सञ्जीवनी नर्सिङ कलेज बुटवलमा सुरु गरे । २० जनाको सिट संख्याबाट सुरु गरेको उक्त कलेज अहिले त्यस क्षेत्रको नामी कलेज बन्न सकेको उनी बताउँछन् ।

अमेरिकी दूतावासले नपत्याएपछि

२०६४ सालमा टन्डनलाई अमेरिका जाने रहर जाग्यो । उनी काठमाडौं आए । भिसाका लागि उनले अमेरिकन दूतावासमा निवेदन दिए । दूतावासले ‘तिमी योग्य छैनौं’ भनेर अस्वीकार गरिदियो । दूतावासले तोकेको त्यही अयोग्यता टन्डनको जीवनमा नयाँ मोड बनेर आयो । ‘बन्द भएको एउटा मार्गले अर्को अवसर देखाउँछ’ भन्ने सत्य उनको जीवनमा लागू भयो ।

भिसा नपाएको दोस्रो दिन एकाबिहानै उनी राजधानीको चक्रपथमा चक्कर लगाउन निस्किए । जडीबुटीमा पसल गर्न लायक स्थान पाएपछि टन्डनले ग्लास हाउस स्थापना गरे । त्यो व्यापार काठमाडौंको तीन स्थानमा फैलियो । उनले यही बीचमा २०६५ तिर यति साइन्स कलेज किने । कलेजका लागि आवश्यक अस्पताल चलाउन उनले युनिटी इन्सुरेन्स कम्पनीको अस्पताल चलाउँदा भने जीवनमा नमीठो अनुभव सँगाल्नुप¥यो । २०३५ सालमा उनका एकजना गुरुले भनेको कुरा त्यसबेला मिल्यो । ‘गुरुले तिमी जेल जान्छौ, त्यो पनि तीन पटक भन्नुभएको थियो’, टन्डनले भने, ‘मैले राम्रै होला भनेर लिएको हस्पिटल चलाउने क्रममा युनिटीका कारण तीनैपटक जेल गएँ ।’

आज उनीसँग यती हेल्थ साइन्स क्याम्पस, सञ्जीवनीमात्र होइन, राजधानीको बसुन्धरामा सुविधा सम्पन्न ग्रिन सिटी अस्पताल सञ्चालनमा छ । बुटवल र काठमाडौंमा सञ्चालित विभिन्न संस्थामा गरेर आज टन्डनका संस्थाहरूमा करिब पाँच सय नेपालीले प्रत्यक्ष रोजगार पाएका छन् । २०६९ साल माघ १६ गते एक सय बेडबाट सुरु गरेको ग्रिनसिटी अस्पताललाई अमेरिकामा रहेका नेपालीको समेत अपनत्व हुने गरी उनले तीन सय बेडको बनाउने योजना अघि सारेका छन् । मुटुको अप्रेसन, इन्फर्टिलिटी सेन्टर, अर्थोपेडिक र ट्रमा सेन्टरका लागि विशेष सुविधा रहेको अस्पताललाई अब कुरुवारहित अस्पतालमा विकास गर्ने लक्ष्य रहेको टन्डनले बताए ।

व्यापारसँगै सेवा

गाउँको जीवन, दुःखको यात्रा र गरिबीको पीडा भोगेर यहाँ आइपुगेका टन्डन कमाउने उद्देश्यले मात्रै विभिन्न पेसामा संलग्न छैनन् । उनी यतिबेला समाजसेवाको भावले प्रेरित छन् । त्यही भएर उनी हरेक महिना दुईवटा बिरामीका जटिल केस निःशुल्क उपचार गर्छन् । वागमती सफाइका क्रममा भेटिएका जन्डिसले ग्रस्त दृष्टिविहीन सन्तु मुखियालाई उनले त्यहाँबाट उठाएर अस्पताल लगे । ८० हजारबराबरको निःशुल्क औषधि उपचार गरेर उनलाई निको पारे । हप्तौं दिनसम्म दिसा पेटमै बोकेर बसेकी १३ वर्षीया बालिकालाई अप्रेसन गरेर निको पारे । उनले दैलेख पुगेर ३६ जना पाठेघर खसेका आमाहरूको निःशुल्क उपचार गरे । दुर्घटना, प्राकृतिक विपत् परेका बेला ग्रिनसिटी पहिला उपचार त्यसपछि मात्रै व्यवहारको कुरा गरिने संस्कारको विकास भएको उनले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ३०० बेडको हुने भयो सेती अञ्चल अस्पताल
Next article बच्चाको दूधेदाँत कसरी बचाउन सकिन्छ 

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web