हेल्थ टुडे,
काठमाडौं, १६ कात्तिक : नेपालमा हरेक वर्ष ७ हजारभन्दा बढी व्यक्तिको आत्महत्याका कारण मृत्यु हुनु गम्भीर सार्वजनिक स्वास्थ्य तथा सामाजिक चुनौतीका रूपमा देखिएको विज्ञहरूले बताएका छन्। उनीहरूले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकारहरूले विशेष संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सोमबार राजधानीमा पत्रकारहरूका लागि आयोजना गरेको ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण’ कार्यक्रममा विज्ञहरूले यस्तो बताएका हुन्।
कार्यक्रममा आत्महत्याको अवस्थाबारे प्रस्तुति दिँदै मानसिक रोग अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीले नेपालमा आत्महत्याका घटना चिन्ताजनक रूपमा रहेको बताए। उनले पछिल्ला तीन आर्थिक वर्षको नेपाल प्रहरीको तथ्यांक प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२÷०८३ मा ७ हजार १४० जनाले आत्महत्याका कारण ज्यान गुमाएको जानकारी दिए। त्यस्तै, आर्थिक वर्ष २०८१÷०८२ मा ७ हजार ५५ जना र आर्थिक वर्ष २०८०÷०८१ मा ७ हजार २२३ जनाको आत्महत्याका कारण मृत्यु भएको उनले बताए।
नेपालमा करिब एक प्रतिशत व्यक्तिले जीवनको कुनै न कुनै समयमा आत्महत्याको प्रयास गर्ने गरेको तथ्य प्रस्तुत गर्दै डा. अधिकारीले आत्महत्या रोकथाममा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए। आत्महत्यासम्बन्धी समाचारलाई सनसनीपूर्ण बनाउनुको सट्टा रोकथाम र जनचेतना अभिवृद्धिमा केन्द्रित गरेर सम्प्रेषण गर्नुपर्ने उनको सुझाव थियो।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले आत्महत्या स्वास्थ्य क्षेत्रको मात्र नभई सामाजिक विषयसमेत भएकाले यसको रोकथाममा समाजका सबै वर्ग र क्षेत्रको भूमिका आवश्यक रहेको बताए। उनले समाचार संकलनदेखि सम्प्रेषणसम्मका हरेक चरणमा पत्रकारहरूले संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिए।
नेपालमा हाल प्रतिलाख जनसंख्यामा वार्षिक २४ जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गर्दै डा. पौडेलले सन् २०३० सम्म यो दर घटाएर प्रतिलाख जनसंख्यामा ६ जनामा झार्ने सरकारको लक्ष्य रहेको जानकारी दिए।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाले अभिमुखीकरण कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै आत्महत्या रोकथाममा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताइन्। जिम्मेवार मिडिया रिपोर्टिङलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै उनले आत्महत्यासम्बन्धी समाचार लेखन तथा सम्प्रेषणमा पहिलेको तुलनामा सुधार देखिए पनि थप संवेदनशीलता आवश्यक रहेको बताइन्।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताए।
त्यस्तै, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक शिला श्रेष्ठले आत्महत्यासम्बन्धी समाचारलाई अत्यधिक प्राथमिकता दिई सनसनीपूर्ण ढंगले प्रकाशन तथा प्रसारण गर्दा आत्महत्याका घटनामा कमी आउनुको सट्टा वृद्धि हुन सक्ने जोखिम रहेको बताइन्। त्यसैले यस्ता समाचार सम्प्रेषण गर्दा समाचारको प्राथमिकता, प्रस्तुति र भाषामा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. केदार मरहट्ठासहित विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब तीन दर्जन पत्रकारहरूको सहभागिता थियो।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आत्महत्या रोकथामसम्बन्धी समाचारलाई जिम्मेवार र संवेदनशील बनाउन सञ्चारकर्मीहरूका लागि ‘आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मीहरूका लागि मार्गदर्शन, २०८०’ समेत जारी गरेको छ।







Leave a Reply