सन्ध्या केसी
स्वदेशमा कयौं सुविधासम्पन्न अस्पताल खुलेका छन् । कति खुल्ने क्रममा छन् । आफूलाई अन्तर्राष्ट्रिय स्तरको उपचार सेवासुविधा उपलब्ध गराउने अस्पताल दाबी गर्ने अस्पतालको संख्या पनि बढ्दै गइरहेको छ । निजी स्वास्थ्य क्षेत्रमा ठूलो लगानी भित्रिएको छ विगत दुई दशकमा । विशेषज्ञ चिकित्सकको संख्या पनि बढ्दै गइरहेको छ । विधागत अस्पतालको संख्या पनि थपिने क्रम जारी छ ।
तर विडम्बना हाम्रा राजनीतिक दलका नेता र उनका परिवारका सदस्यहरूले भने स्वदेशका अस्पताल र चिकित्सकप्रति विश्वास गर्न सकेका छैनन् । यदि विश्वास गर्न सकेका भए यही सजिलै गर्न सकिने उपचारका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल किन जान्थे बैंकक ? किन जान्थे केपी ओली सिंगापुर ? किन जान्थे रामवरण जापान, अमेरिका ? जनताले स्वदेशमै उपचार गराउन हुने तर तिनै जनताले मत दिएर जिताएर सत्तामा पु¥याएका नेताहरूले भने सानोतिनो रोगको उपचारका लागि विदेश जानैपर्ने अवस्था चिन्ताको विषय हो । त्यो राज्यकोषको दुरुपयोग हो । स्वदेशमा हुन सक्ने रोगको उपचार यही गर्नुपर्छ । नेताहरूबाट जनताले सिक्ने हुन् । नेताहरूले हाम्रो स्वास्थ्य प्रणालीमाथि विश्वास गरेमात्र जनताले विश्वास गर्ने हुन् । नेताहरूले नै सानोतिनो रोगको उपचारका लागि दिल्ली, बैंकक, सिंगाापुर, जापान वा अमेरिका जाने हो भने नेपालको स्वास्थ्य उपचार सेवा माथिको जनताको विश्वास बढ्न सक्दैन । यसको नेपाली राम्रा चिकित्सकहरूको मनोबल घट्न जान्छ ।
हाम्रा नेताहरूले स्वदेशकै अस्पतालमा उपचार गराइदिए ती अस्पतालको सेवासुविधा गुणस्तरीय हुने थियो । निजी अस्पतालको तुलनामा सरकारी अस्पतालको अवस्था नाजुक छ । मनपरी तन्त्र मौलाएको छ । जनतालाई जस्तो उपचार सेवा दिए पनि भयो । किनकि त्यो सरकारी अस्पताल हो । नेता र उनका परिवारका सदस्यहरूले यहाँका अस्पतालमा उपचार गराउनु पर्दैन । अनि अस्पतालका अधिकारी पनि किन देऊन त स्तरीय सेवा । चिकित्सक पनि तलब पचाउने र छिटो निजी अस्पतालमा गएर पैसा कमाउने धाउन्नमा हुन्छन् । वीर अस्पतालमा विशिष्ट व्यक्तिहरूको उपचारका लागि खोलिएको उपचार कक्ष खाली छ ।
त्यहाँ कुनै पनि उपल्लो स्तरको नेताले उपचार गराएको छैन । रामवरण यादव राष्ट्रपति हुने बेला दाँतको उपचारका लागि वीर आउँथे । बाबुराम भट्टराई पनि एक पटक आए । त्यसैले पनि होला वीरको डेन्टल विभाग अहिले पनि अरू विभागको तुलनामा राम्रो छ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको उपचार ओम हस्पिटलमा भयो । उनी निको पनि भए । उपराष्ट्रपति नन्दबहादुर पुनको उपचार त्रिवि शिक्षण अस्पतालमा भयो । उनी निको पनि भए मिर्गौला रोगबाट । नेपालका सबै सरकारी अस्पतालको सेवा कामै नलाग्ने छ भन्ने होइन । केहीले राम्रो सेवा पनि दिएका छन् वा दिने कोसिस गरेका छन् । तर जबसम्म राजनीतिक नेतृत्वले त्यसलाई महत्व दिँदैन तवसम्म हामीले जति नै अन्तर्राष्ट्रिय स्तरको अस्पताल खोले पनि हुँदैन । सबैभन्दा ठूलो कुरा हो, विश्वास । नेपालको स्वास्थ्य उपचार सेवाप्रति राजनीतिक दलहरूका नेता, सत्तासीन नेता र उनका कार्यकर्तामा हुनु नितान्त जरुरी छ । उनीहरूले विश्वास गरेपछि न जनताले विश्वास गर्छन् ।
त्यसैले पछिल्ला वर्ष नेपालमा भइरहेको स्वास्थ्य उपचारसेवाप्रति नेताहरूले विश्वास गर्नुपर्छ । आफ्नो, आफ्नो परिवारका सदस्यहरूको सम्पूर्ण उपचार यही गर्नुपर्छ । गर्नै नसकिने उपचारका लागि मात्र विदेश जानुपर्छ । राज्यकोषबाट रकम पाइहालिन्छ किन यहाँको अस्पतालमा उपचार गर्ने ? भन्ने मानसिकता त्याग्नु आवश्यक छ । स्वदेशमा उपचार गराउँदैमा सानो भइने र विदेशमा उपचार गराउँदैमा ठूलो मान्छे भइने होइन ।
Leave a Reply