• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

यी हुन् उत्कृष्ठ क्यान्सरका डाक्टर

November 29th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन् उत्कृष्ठ क्यान्सरका डाक्टर

हेल्थटुडे

क्यान्सरको उपचार राजधानी र भरतपुरमा मात्र सीमित छ, त्यो पनि समिति अस्पतालमा मात्र । तीन दशकअघि नेपालमा क्यान्सर उपचारको अवस्था झन् कस्तो थियो होला ? त्यसताका विशेषगरी सरकारी अस्पतालमात्रै थिए । त्यसमा पनि क्यान्सर उपचारका लागि न त छुट्टै विभाग थिए न त विशेषज्ञ चिकित्सक नै । त्यसबेला ‘निको नहुने रोग’का रूपमा हेरिने क्यान्सरको डाक्टर बन्न कमैले मात्र रुचि राख्थे । त्यही समयमा डा.सुदीप श्रेष्ठले मद्रास युनिभर्सिटीबाट एमबीबीएस सकेपछि न्याम्स (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल) बाट इन्टरनल मेडिसिनमा एमडी गरे । करिब २८ वर्ष पहिलेको कुरा हो यो । त्यतिबेला उनका अधिकांश साथीहरू कार्डियोलोजी पढ्न बेलायत र अमेरिका गइरहेका थिए । तर पाएको अवसर छोडेर डा.सुदीप भने गएनन् । धेरैले त्यसबेला क्यान्सरको नेपालमा स्कोप नै छैन भन्ने गर्थे ।

क्यान्सर उपचारको नाममा वीरमा अँध्यारो कुनामा क्यान्सरको डिपार्टमेन्ट थियो । कति बिरामी आउँथे, जान्थे, लेखाजोखा नै हुँदैनथियो । जश नपाउने क्षेत्र भएकाले होला, कोही पनि क्यान्सरको डाक्टर बन्न चाहँदैनथिए त्यतिबेला ।डा.सुदीपले त्यसलाई चुनौतीकै रूपमा लिए । उनलाई अरूले कम पढ्ने क्यान्सर रोग विशेषज्ञ भएर सेवा गर्न उत्साह जाग्यो । त्यतिबेला डा.अञ्जनीकुमार शर्मा क्यान्सर उपचारमा सक्रिय हुनुहुन्थ्यो । सुदीपले  डा. शर्मासँग सल्लाह गरे । डा.शर्माले उनलाई हौस्याए । सानैदेखि सुदीपलाई चुनौती मन पथ्र्याे । डा.सुदीपले सुनाए, ‘‘रिस्क मोलेरै म क्यान्सर रोगविज्ञ बन्न भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल गए । ’ त्यहाँका डा.डीसी डोभलले उनलाई निकै हौसला दिनुभयो । युरोप र अमेरिकामा छात्रवृत्ति छोडेर निजी खर्चमा डाक्टरी पढ्ने कमै डाक्टर हुन्छन् । उनले राजीव गान्धीबाट मेडिकल अंकोलोजिस्टको अध्ययनसँगै  आफूलाई निखार्दै लगे । राजीव गान्धीमा अध्ययन र सेवा गर्ने क्रममा डा.श्रेष्ठमा एक कुशल डाक्टर बन्ने सपनामात्रै सीमित भएन्, त्यहाँका भोगाइ र दृश्यले उनमा नेपाल फर्केर सम्झनलायक काम गर्ने प्रेरणा मिल्यो ।

‘अहिले पनि क्यान्सरलाई सहज रूपमा लिइँदैन, समाजमा’, उनले राजीव गान्धीमा झन्डै दुई दशकअघि देखेभोगेको अवस्था सुनाए, ‘क्यान्सरले पीडित नेपाली उपचारका लागि त्यहाँ पुग्थे, हजार रुपैयाँको उपचारका लागि लाखौंको दुःख, पीडाले च्यापिएका हुन्थे । त्यो मलाई सैह्य हँुदैनथियो ।’ जतिसक्दो चाँडो स्वदेश फर्केर क्यान्सरका बिरामीको उपचार त्यतै गर्ने हुटहुटी उनमा चल्यो । त्यही हुटहुटीले डा.सुदीपमा नेपाल फर्केर राजीव गान्धीस्तरकै अस्पताल खोल्ने योजना जन्मायो ।

सहज थिएन सपना

हरेक सपना जति सुन्दर हुन्छन् त्यसलाई पूरा गर्न त्यति नै कठिन हुन्छ । डा.श्रेष्ठले देखेको सपना पनि कम कठिन थिएन । उनको यो सपनाले आकार लिन करिब एक दशक उनको मात्रै होइन उनकी धर्मपत्नी स्वरूपा श्रेष्ठको समेत नीद उडायो । सपनाले आकार लिँदै गरेको नेपाल क्यान्सर अस्पतालकी निर्देशक रहेकी स्वरूपाले भनिन्, ‘उहाँले कल्पना गरेको यो अस्पताललाई आकार दिन दिनरात नभनी यसैमा समर्पित भयौं । मैले मेरो पेसा नै त्यागेँ,’ एउटा आकार दिइसकेपछि यसलाई नेपालकै नम्बर एक क्यान्सर अस्पतालका रूपमा स्थापित गर्ने र क्यान्सरको सम्पूर्ण उपचार यही गर्न अब थप जिम्मेवारी थपिएको श्रेष्ठ दम्पती सुनाउँछन् ।

भक्तपुर क्यान्सर अस्पतालमा जागिर गर्दागर्दै छोडेर सम्पूर्ण सेवासहितको नेपाल क्यान्सर अस्पतालको परिकल्पना गरेर यता लागेका डा.श्रेष्ठसँग सुरुवाती दिनका अथक अनुभव छन् । उनले यो अस्पताल स्थापनाको खाका बोकेर हरेक उद्योगपतिको दैलो टेके । ‘व्यापारी, उद्योगपतिहरूले रिटर्न खोज्दो रहेछ’, उनले भने, ‘मैले त यो सेवामूलक व्यवसाय भएकाले रिटर्नको ग्यारेन्टी गर्न सकिनँ ।’ १५ लाखपुँजीले अर्बको संरचना तयार गर्न श्रेष्ठ दम्पतीले हार मानेन । काठमाडौंका हरेक कुनामा अस्पताल स्थापनाका लागि जग्गा खोज्न भौतारिए । मेडिकल क्षेत्रकै केही शुभचिन्तकहरूको साथ र सहयोगले श्रेष्ठ दम्पतीलाई ऊर्जा भर्ने काम ग¥यो । राजीव गान्धी अस्पतालले प्रदान गर्ने तालिम र प्राविधिक सहयोगको उनीहरूलाई सपना साकार पार्न झन् सहज बनायो ।

सन् २००६ तिर उनीहरू सातदोबाटोमा एउटा घर भाडामा लिएर ऋणका लागि अधिकांश बैंकमा धाए । एभरेस्ट बैंकले ‘हुन्छ हुन्छ’ भन्दै एक वर्ष झुलायो । सिभिल बैंकका तत्कालीन अध्यक्ष किशोर महर्जनले ऋण दिन सहजता देखाएको उनीहरू सम्झन्छन् । उनीहरूले ५० करोडको योजना बनाएर ५० शैयाको  अस्पतालको लागि ललितपुरको हरिसिद्धिमा २७ रोपनी जग्गा लिए । जग्गामा विवाद देखिएपछि सुरुमा केही अवरोधहरू आए तर अस्पतालको महत्वका विषयमा बुझेपछि स्थानीयवासीले  अस्पताल निर्माणमा सघाए । विभिन्न राजनीतिक दलका नेताहरूले त्यो अवस्थामा लगाएको गुन श्रेष्ठ दम्पती बिर्सन चाहँदैनन् । पछि त बिरामीकै आफन्तले पनि अस्पताल निर्माणमा दुई करोडसम्म पैसा हाल्न इच्छा देखाए । ‘अब यो अस्पताल हाम्रोमात्र हो भन्ने अवस्था छैन’, डा.श्रेष्ठले भने, ‘हामीले त परिकल्पना ग¥र्यौं, अब त हरेक बिरामीका आफन्तले पनि यसमा लगानी गरेका छन्, धेरैको अपनत्व यसमा छ ।’

राज्यको उदासीनता

गोजीमा १५ लाख लिएर देशकै नमुना क्यान्सर अस्पताल बनाउन हिँडेको करिब दशकपछि नेपाल क्यान्सर अस्पतालले विशाल आकार लिँदैछ । आलिसान भौतिक संरचना, अत्याधुनिक उपकरण, अनुभवी र मिजासिला स्वास्थ्यकर्मी यसका गहना हुन् । तर राज्यले भने उपकरण खरिदमा छुट, ऋणमा सहुलियत ब्याज, जग्गा, काम गर्ने वातावरण, करमा छुट त परै जाओस् बाटो, पानी, ढल निकासको सम्म व्यवस्था गरेको छैन । ‘निजी स्तरबाट भए पनि हामीले यत्रो जोखिम मोलेर देशकै जनताको सेवा गरेका छौं’, डाक्टर श्रेष्ठ भन्छन्, ‘राज्यले केही नभए सफ्टलोन, उपकरमा छुट, बत्ती, पानी र ढलको व्यवस्था गरिदिनुपर्ने हो, केही गरेको छैन, कम्तीमा बिरामीको उपचारमा त कर नलगाई देओस् ।’

विदेश जाने बिरामी घटे

नेपाल क्यान्सर अस्पताल स्थापनापछि उपचार सुरु गरेपछि अहिले क्यान्सर उपचारका लागि विदेश जाने बिरामीको संख्या घटेको छ । अधिकांश नेपाली बिरामी नयाँदिल्लीमा रहेको राजीव गान्धी क्यान्सर अस्पताल जान्छन् । त्यहाँ पाइने उपचार सर्वसुलभ रूपमा स्वदेशमै पाइन थालेपछि विदेश जाने बिरामीको संख्या घटिरहेको अस्पताल प्रशासनको आकलन छ । राजीव गान्धी क्यान्सर अस्पतालबाट फर्केर यही उपचार गराइरहेका बिरामी पनि अस्पतालमा भेटिन्छन् । डा. श्रेष्ठ भन्छन्, ‘यो स्वदेशी चिकित्सक र सेवाप्रतिको विश्वास हो ।’ नेपालमा क्यान्सरका बिरामीको संख्या बढ्दो छ । अहिले पनि स्वदेशी चिकित्सक र सेवाप्रति विश्वास नगर्ने बिरामी उपचारका लागि विदेश गइरहेका छन् । पैसावालहरू उपचारका लागि विदेश नै जानैपर्ने प्रवृत्तिका कारण यही हुने उपचारका लागि पनि अबौं रुपैयाँ बिदेसिने गरेको छ । त्यसमा पनि नेपालका राजनीतिक दलका नेताहरू उपचारका लागि राज्यकोषबाट मनलाग्दी खर्च गरेर विदेश जाने प्रवृत्तिका कारण समस्या देखिएको छ ।

राजीव गान्धीस्तरकै सेवा

अहिले पनि क्यान्सरको उपचारका लागि हुनेखाने र ठूलाबडाहरू भारतलगायतका विदेशी मुलुकमा जाने क्रम रोकिएको छैन । तर नेपाल क्यान्सर अस्पतालमा राजीव गान्धी क्यान्सर अस्पतालस्तरकै सेवा उपलब्ध भएको दाबी डा.सुदीपको छ । आफूहरूकहाँ अत्याधुनिक उपकरण र अनुभवी चिकित्सकले सम्पूर्ण क्यान्सरको उपचार भइरहेको उनको दाबी छ ।  ‘निको भएकाहरू आफूलाई क्यान्सर भएको बारेमा बोल्न चाहँदैनन्, डा.श्रेष्ठले भने, ‘त्यही कारणले पनि हाम्रो उपचारको अवस्थाको धेरै प्रचार हुन नसकेको हो ।’

सेवाग्राहीले महँगो भने पनि नेपाल क्यान्सर अस्पताल भारतको राजीव गान्धी अस्पतालभन्दा आधा सस्तो भएको उनले बताए । अबको योजना बोनम्यारो प्रत्यारोपणदेखि नेपालको क्यान्सर इन्स्टिच्युटका रूपमा यसलाई विकसित गरेर हरेक युनिटलाई सेन्टरको रूपमा विकसित गर्ने रहेको डा. सुदीप बताउँछन् । खुल्ला र स्वच्छ वातावरण भएको यो अस्पतालले बिरामीको विश्वास जित्दै गइरहेको छ । उपचारका लागि राजीव गान्धी पुग्ने बिरामीलाई त्यहाँका चिकित्सकले समेत ‘यहाँ हुने सबै उपचार नेपाल क्यान्सर अस्पतालमै हुन्छ किन यहाँ आएको ?’ भन्ने प्रश्न गर्न थालेपछि अहिले त्यहाँबाट फर्केका बिरामी पनि यही उपचार गराउँदै आएका छन् ।एक्लो प्रयासले मात्र अस्पतालको सेवा चुस्त दुरुस्त बनाउन सकिँदैन । प्रभावकारी उपचारका लागि डा. सुदीपलाई दक्ष चिकित्सकहरूको साथ छ । मिसन, भिजन र गोलमा उनको टिम कटिबद्ध छ ।

प्यालेटिभ केयरमा जोड

डा.सुदीपले बिरामीको उपचारमात्रै गरेर रोग निको नहुने विधिलाई आत्मसात गरेका छन् । उनी बिरामीसँगै उसको परिवार, आफन्तसँगको अन्तरक्रियालाई प्रमुखता दिन्छन् । विदेशमा प्रचलनमा आइसकेको यो विधिमा बिरामीका कुरा आरामले सुन्ने, उसको आर्थिक अवस्था, सामाजिक अवस्था, धार्मिक आस्थालाई पनि ध्यान दिइने गरेको बताउँछन् । अस्पतालमै उनी बिरामीले धार्मिक, सामाजिक र मानसिक क्रियाकलाम गर्ने वातावरण तयार गरिदिने गरेको बताउँछन् । प्यालेटिभ केयरमा बिरामीका कुरा सुन्नेमात्र नभएर बिरामी र बिरामीका आफन्तका जिज्ञासा, प्रश्न र चासोलाई हरेक स्वास्थ्यकर्मीले झर्को नमानी हजारपटक सुन्ने र सम्झाउनुपर्ने विधि हो । नम्रता, कुरा सुन्ने धैर्य र सकारात्मक परामर्शका लागि कुनै नयाँ जनशक्ति नचाहिने डा. श्रेष्ठको मत छ । यसका लागि भएकै जनशक्तिलाई प्रशिक्षण दिन सके स्वास्थ्य उपचार प्रभावकारी हुने र अस्पतालले भोग्नु परेका झन्झट कम हुने उनको मत छ । त्यसैले यो विधिलाई देशभरका अस्पतालले लागू गराउनुपर्नेमा उनले अभियान नै थालेको बताए । प्यालेटिभ केयरमा ध्यान दिन नसक्दा यो समस्या बढी रहेको उनको विश्लेषण छ । प्यालेटिभ केयरको कन्सेप्ट विकास गरी लागू गर्न उनी लागिपरेका छन् । उनी भन्छन्, ‘हामीहरूले गाइडलाइन बनाइदिएका छौं । त्यसलाई कार्यान्वयन गरिदिनु प¥यो ।’ प्यालेटिभ केयरको गाइडलाइन बनाउन अमेरिकन सोसाइटी अफ अंकोलोजीले केही दिन पहिले आयोजना गरेको सम्मेलनमा दक्षिण एसियाली राष्ट्रका चीन, भारतसँगै नेपालबाट डा. सुदीप संलग्न थिए । त्यो गाइडलाइन अनुसरण गर्न सके नेपालमा पनि प्यालेटिभ केयर स्थापित हुने उनको तर्क छ ।

स्वरूपाको साथ

पुरुषको सफलतामा नारीको ठूलो भूमिका हुन्छ भन्ने सत्य डा.सुदीपको जीवनमा लागू भएको छ । श्रीमती स्वरूपा श्रेष्ठ सुदीपकी दुःखसुखकी सारथिमात्र होइनन् हरेक योजनाकी कुशल पहरेदार बनिन् । डा.सुदीपका हरेक संघर्ष र सफलतामा उनको पनि उत्तिकै पसिना बग्यो, त्यत्ति नै दिन उड्यो । आफ्नो पेसा व्यवसाय नै छोडेर उनले रातदिन नभनी श्रीमान्को परिकल्पनालाई मूर्तरूप दिन भौतिक र मानसिक रूपमा साथ दिइन् । स्वरूपा अस्पतालकी निर्देशकमात्र होइनन्, उनैको अथक साथले यहाँसम्म आइपुगिएको डा.सुदीप सम्झन्छन् । अझै कम शुल्कमा स्वदेशमै क्यान्सरको उपचार सेवा कसरी उपलब्ध गराउन सकिन्छ ? यसै विषयमा श्रेष्ठ दम्पती लागिपरेका छन् ।

छोराको प्रगतिमा खुसी

श्रेष्ठ दम्पतीको दुई सन्तान छन्, छोरी श्रेया र छोरा सरिफ । सरिफ अमेरिकामा अध्ययनरत छन । अमेरिकामा छोराले हालै पाएको ह्यामिल्टन कलेज क्याम्पस सर्भिस अवार्डले उनीहरू थप उत्साहित छन् । सरिफले हालै ग्राजुएसन सकेका छन् । सन्तानको प्रगतिमा उनीहरू गर्व गर्छन् ।

उपचारसँगै रोकथाम

क्यान्सरको उपचारमा मात्र नभएर रोकथाममा पनि डा.सुदीपले विशेष पहल थालेका छन् । विश्व स्वास्थ्य संंगठनको मान्यताअनुसार उपचारमात्र नभएर बिरामीको पारिवारिक, सामाजिक, धार्मिक, आर्थिक, मनोवैज्ञानिक पक्षमा पनि ध्यान दिइनुपर्छ भन्ने प्रिन्सिपल उनले नेपालमा लागू गर्ने प्रयत्न गरेका छन् । यसरी गरिने उपचार प्रभावकारी हुने र अपजश पनि नआउने उनको विश्वास छ । त्यही अनुरूप क्यान्सर अस्पतालमा सेवा सञ्चालन गरेका छन् । नेपालमा उपलब्ध एकसेएक क्यान्सर विशेषज्ञ र स्वास्थ्यकर्मीको साथले उनी सेवाप्रति विश्वस्त र समर्पित छन् । दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको साथ र सहयोगले नै होला अस्पतालले स्थापनाको दुई वर्षमा नै ख्याति कमाउन सफल भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीले बिरामी तथा उनका आफन्तसँगको व्यवहार र सञ्चारका कारण नेपालका अधिकांश अस्पतालहरूमा तोडफोडका घटना भइरहेको डा.सुदीपको विश्लेषण छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उच्च कोलेस्टेरोल पनि हृदयाघातको कारण
Next article राजधानीका अस्पतालमा भुत !

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131852
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web