चुनावी चटारोमा अहिले अधिकांश नेताहरु । दिनरात नभनि चुनावी प्रचार प्रसारमा लाग्नु पर्ने भएकाले उनीहरुको दिनचर्या पूरै फेरिएको छ । शास्त्रले निर्दिष्ट गरेको जीवन चर्या अनुसार युवा नेता एनपी साउदको पनि आहारबिहार मिल्दो छैन । अबेर सुत्नुपर्ने र बिहान अलि अबेर उठ्नुपर्ने बाध्यतालाई आफूले टार्ने प्रयत्न जारी राखेको नेता साउद बताउँछन् । राजनीतिक जिम्मेवारी र परिस्थितिले यो बाध्यात्मक बने पनि उनले सामान्य प्रेसरबाहेक कुनै दीर्घ रोगको सामना भने गर्नु परेको छैन । साउद बिहानको नित्यकर्म गरेर बाहिर निस्कँदासम्म उनी कार्यकर्ताले घेरिएको अवस्थामा हुन्छन् । कार्यकर्तामाझ जानुअघि धर्मपत्नी ज्योत्सना साउदले पस्किएको फलफूल र चियाबाट उनको दिनचर्या सुरु हुन्छ । कार्यकर्ताका सुझाव, सल्लाह र गुनासा धैर्यपूर्वक सुन्नु उनको नित्यकर्मजस्तै हो ।
यति धेरै कार्यकर्ताका गुनासा, आग्र्रह, पूर्वाग्रहले मानसिक रूपमा कति प्रभाव पार्ला ? तर साउद भन्छन्, ‘हामी चाइल्डहुडबाटै राजनीतिमा लाग्यौं, अब त लाग्छ हाम्रो शरीरको मेटापोलिजम नै त्यस्तै बनिसक्यो कि !’ तर कार्यकर्ता तथा नेताका स्वार्थप्रेरित आग्रह पूर्वाग्रहले भने उनको मन पनि कहिलेकाहीँ अस्वस्थ (दिक्क) बनिदिन्छ । साथीभाइसँग बस्ने, उठ्ने, कुरा र गुनासा सुन्ने कुरालाई भने तनावको रूपमा आपूmले नलिने गरेको उनले बताए ।
‘बिमारीको मृत्यु हुँदा बाहिर कोही रोइरहेको, कराइरहेको, दुःखी भइरहेको अवस्थामा कतिको होस हुँदैन, कतिले खाना खाँदैनन् तर डाक्टर अप्रेसन रुमबाट निस्किएर त्यही बिरामीलाई चिरफार गरेर पोस्टमार्टम गर्न पनि कमजोर बन्दैन’, साउदले भने, ‘राजनीतिज्ञको जीवनचर्या पनि त्यस्तै हो, समाजका कुरा सुन्ने, बुझ्ने, सघाउने हो तर आफैं भयंकर दुःखी भइहाल्ने, उत्तेजित हुने, भावुक हुने होइन । आफंै कोलाहलमा मिसिने होइन ।’ त्यसो गर्दा समाजमा लिडरसिप नहुने उनले बुझेका छन् ।
राजनीति एकान्तमा बसेर नहुने भएकाले राजनीतिज्ञले भीडभाडमै रमाउन जान्नुपर्ने उनको धारणा छ । यति हुँदाहुँदै पनि कहिलेकाहीँ परिवार, बालबच्चाका लागि समय निकाल्ने प्रयत्न र रहर भने हुने गरेको साउदले बताए । तर बाध्यता, परिस्थिति र जिम्मेवारीले त्यो पनि पूरा नहुने गरेको अनुभव साउदसँग छ । त्यसले कहिलेकाहीँ मन अस्वस्थ्य (एकखाले खल्लोपन) अनुभूति साउदलाई पनि हुन्छ ।
बालबच्चा, परिवारसँग घरमा बसेर सम्भव भएको दिन सँगै खाना खाने रहर र प्रयास भने साउदको पनि हुन्छ । यी र यस्ता पारिवारिक र सामाजिक विषयले कहीँ न कहीँ मन अस्वस्थ्य भने बनाउने उनको अनुभूतिमा छ । तर सार्वजनिक जीवन बिताइरहेको मान्छेले जिम्मेवारी र दायित्वलाई लत्याएर पार्टी, समाज र देशलाई बिमारी पार्न नहुने उनले बुझेका छन् । त्यसका लागि केही व्यक्तिगत इच्छा र चाहना मार्नुपर्ने उनको अनुभूति छ । ‘घरभरि कार्यकर्ता भरिएको बेला मेरो मुड चल्यो भनेर किताब, कापी लिएर केही पढ्न बस्नु, अध्ययन गर्छु भन्नु त अस्वस्थ्य व्यवहार भयो नि’, साउदले भने, ‘राजनीतिज्ञ यसैका लागि बनेको हो, यसलाई व्यवस्थापन गर्नुपर्छ ।’
साउद स्वस्थ्य मन र शरीरका लागि विपत्सना जान्छन् । मेडिटेसन गर्छन् । भ्याएसम्म योगा गर्छन् । पतञ्जलीका कार्यक्रममा सहभागी हुन्छन् । एकताका १२ दिन जति शिवपुरीमा भएको शिविरमा सहभागी भएका छन् । आर्यमौन गरेका छन् । सम्भव भएसम्म मर्निङ वाक जान्छन् । नेपालीले स्वास्थ्यले वार्निङ बेल नबजाएसम्म स्वास्थ्य जाँच नगराए पनि साउद हरेक भदौको पहिलो हप्ता होल बडी चेक गराउने गरेका छन् ।
साउदको नजरमा आफूहरूजस्ताले बनाउँछु भनेको देश अलमल अलमलका कारण बिरामीस्तो देखिएको बताए । २००७ सालको प्रजातन्त्र स्थापनाको लडाइँदेखि संविधान निर्माण र अहिले कार्यान्वयनको चरणमा पुग्दासम्मका उतारचढावले देश बिमारीजस्तो बनेको उनको ठम्याइँ छ । तर यसलाई दृढतापूर्वक आफूहरू र आफ्नो पार्टी संस्थागत गर्न लागिपरेको बताए । नेपालीले आफू हिँड्ने बाटो तय गरिसकेकाले त्यो बाटोमा समाजका सबै वर्ग, तह, तप्का, लिंग र सोचका मान्छेलाई हिँडाउन सके देश स्वस्थ्यमात्र होइन सुन्दर हुने देखेका छन् ।
‘मैले देखेको छु, मेरो देशमा एउटा मान्छे दुईचार हजार कसैलाई बकस दिँदै हिँड्ने अवस्थामा छ, त्यही समाजमा अर्को मान्छे दुईचार हजारका लागि जिन्दगीभर तड्पिएर बाँचेको छ’, साउदले भने, ‘यो स्वस्थ्य देशको संकेत होइन । यही अवस्थाको अन्त्य गर्नु मेरो र मेरो पार्टीको ध्येय र उद्देश्य हो । राज्यले पनि यस्ता विभेद, असमानता, अन्याय र अभावको अन्त्य गर्नु सुन्दर र स्वस्थ्य देश निर्माणको पहिलो सर्त हो ।’ ( प्रस्तुति शिवराज योगी )
Leave a Reply