काठमाडौं, २१ मंसिर: स्वास्थ्य मन्त्रालयको रिक्त सचिवमा सरकारले नयाँ नियुक्ति गर्ने तयारी गरेको छ । स्वास्थ्य सचिव डा. किरण रेग्मीले चार दिन पहिले अनिवार्य अवकाश पाएपछि रिक्त पदका लागि प्रतिस्पर्धामा रहेका १२ औं तहका तीन उम्मेदवार मध्ये एकलाई सचिवमा नियुक्ति गर्ने सरकारले तयारी गरेको हो । तीन प्रतिस्पर्धी मध्ये डा. पुष्पा चौधरी सबैभन्दा विवादस्पद छविकी मानिन्छिन् । उनी आफूलाई सचिव बनाउन दौडधूपमा भने सबैभन्दा अघि देखिएकी छन् । चौधरीसंग आफ्नो जागिरको ३८ वर्ष राजधानी बाहिर सेवा गरेर १२ औं तहमा बढुवा भएपछि मन्त्रालय आएका डा.सुशिल प्याकुरेल र डा. विनोदमान श्रेष्ठ सचिवको दौडमा छन् ।
डा. श्रेष्ठले चार तिन महिनापछि अवकाश पाउने भएकाले चौधरीले सरकारका उच्च व्यक्तिलाई भेटेर आफूलाई नै सचिव बनाउन भनसुन गर्न थालेको सरकारी उच्च स्रोतको दाबी छ । दाम चढाएर स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक समेत भइसकेकी डा. चौधरी अहिले पनि एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको संयोजकका रुपमा रहेकी छिन् । कुनै पनि सरकारी अधिकृतले अर्को विदेशी संस्थाको सदस्य हुन र दुई ठाउँमा काम गरेर दोहोरो तलव सुविधा लिन नपाउने स्पष्ठ कानूनी व्यवस्था छ । चौधरीलाई दोहोरो सुविधा लिइरहेको आरोप मात्र होइन प्रमाण पनि छ । यस बिषयमा अख्तियार र स्वास्थ्य मन्त्रालयमा उजुरी पनि परेको थियो । तर रामजनम चौधरी स्वास्थ्य मन्त्री भएका बेला डा. पुष्पाले सबै फाइल मिलाएर मुद्दा मिलाउन लगाएको स्वास्थ्यका एक अधिकारीले बताए । डा. चौधरी स्त्री तथा प्रसूति रोग विशेषज्ञको पेसागत संगठन ( नेसोग) र सोही समबन्धि अन्तर्राष्ट्रिय संगठन ( फिगो ) को सहकार्यमा सञ्चालित परिवार स्वास्थ्यसँग सम्बन्धित पिपिआईयूडी कार्यक्रमको संयोजकका रुपमा कार्यरत रहेको स्रोतको दाबी छ ।
सन् २०१५ देखि २०१७ को डिसेम्बरसम्म सम्झौता गरेकी उनले त्यस बाफत मासिक १ लाख ५० हजार ( १५०० अमेरिकी डलर) अझै पनि लिइरहेकी छिन् । कुनै पनि सरकारी कर्मचारीले दोहोरो सुविधा लिए बर्खास्तमा पर्ने कानूनी प्रावधान रहेको स्वास्थ्य सेवा ऐनमा व्यवस्था छ । समान्य प्रशासन मन्त्रालयले यस्ता कर्मचारीको सूची तयार पार्ने काम भइरहेको र उनीहरु माथि भित्री रुपमा अनुसन्धान समेत भइरहेको जनाएको छ । निजामती सेवामा रहेका राष्ट्रसेवकले गैरसरकारी संस्थामा आवद्घ भई पारिश्रमिकमा काम गर्न नपाइने मन्त्रालयले जनाएको छ । डा. पुष्पाले आफ्नो घर समेत आफ्नै पति डा. श्रवणकुमार चौधरीको नाममा सोही संस्थासँग मासिक ४० हजार लिने गरि भाडामा दिएकी छन् । सन् २०१५ देखि तीन वर्षका लागि गरिएको भाडा सम्झौतामा ४० हजार प्रति महिना भाडा, ४ हजार मर्मत र बार्षिक १० प्रतिसत भाडा बढाउने सम्झौता छ । राजजनम चौधरी स्वास्थ्य मन्त्री भएका बेला नियम विपरित विभागको निमित्त महानिर्देशक बनेकी चौधरीलाई सही नेतृत्व दिन नसकेपछि त्यसपछि स्वास्थ मन्त्री भएका गगन थापाले महानिर्देशकबाट हटाएर मन्त्रालय सरुवा गरेका थिए । डा. चौधरी नागरिकतामा उमेर हद विवादको घेरामा समेत रहेकी छन् । उनले उमेर ढाटेर नागरिकता लिएको स्रोतको दाबी छ । डा. चौधरीको माइती भारत हो । उपत्यका बाहिर गएर काम नगरेको, पैसाको बलमा सधै राजधानीमा रहेको, प्रसाशनको कुनै ज्ञान नभएको जस्ता आरोप उनलाई लागेको छ । स्रोतका अनुसार गत वर्ष विभागको महानिर्देशक बन्दा कर्मचारी सरुवामा डा. चौधरीले करोडौ चलखेल गरेकी थिइन । पैसाका भरमा सचिव बन्ने होडका रहेकी डा. पुष्पाका हरेक निर्णय र गतिविधि मन्त्रालयका चर्चा र विवादको बिषय बन्ने गरेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । ( आजको शौर्य दैनिकबाट )
Leave a Reply