डा प्रकाश ज्ञवाली,
अहिले हरेक मन्त्रालयले संघीय संरचना अनुसार पुनर्सरचना गर्ने काम गरिरहेका छन् । स्वास्थ्य मन्त्रालय पनि संघीय संरचना बनाउने काममा जोडतोडले लागिरहेको छ । जसमा चारवटा विभाग र महाशाखाहरुको प्रस्ताव गरिएको छ । अहिले मन्त्रालयले बनाएको संरचना हेर्ने हो भने आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धति होमियोप्याथि, प्राकृतिक चिकित्सा, योग, युनानी, सोरोप्पा, एकुपंचर लगायतका चिकित्सा पद्धतिलाई बेवास्ता गरिएको छ ।
आयुर्वेदको र वैकल्पिक चिकित्साको विकाश र विस्तारकोलागि स्वास्थ्य मन्त्रालयमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा स्थापना हुनुपर्छ । आयुर्वेदको विभाग मात्र हुने तर मन्त्रालयमा यी विषयको छुट्टै महाशाखा नहुने हो भने हाम्रा विषयले कहिल्यै महत्व नपाउने निश्चित छ । मन्त्रालय र विभाग बिचको समन्वय गर्ने पुलको रुपमा रहेको महाशाखा नहुदाँ हाम्रा कुरा मन्त्रालयमा बुझाउन समस्या पर्छ । महाशाखा नहुदाँ अन्य मन्त्रालय र अन्तर विभागिय गर्नुपर्ने छलफलका विषयमा अरु महाशाखाले बुझाउन सक्दैनन् । आजको दिनसम्म आयुर्वेद र वैकल्पिक चिकित्सालाई मन्त्रालयमा शाखामा सीमित गराइएकाले हाम्रा फाइलहरु अघि बढाउन चिकित्सा महाशाखाको भर पर्नुपर्ने अवस्था छ । हामीले उठाएका विषयहरु प्राथमिकतामा नपर्दा फाइलहरु बिचमै हराउने, कामहरु रोकिने र हाम्रा विषयमा विषय बाहिरका व्यक्तिले निर्णय गर्ने परिपाटीले जतिमात्रामा विकास र विस्तार हुनपर्ने हो त्यो हुन सकेको छैन ।
हामीले आयुर्वेद र वैकल्पिक चिकित्साको विकासकालागि छुट्टै महाशाखा हुनपर्छ भनेर संर्घष गर्दै आएका छौँ तर यहाँ त भएको शाखालाई पनि हटाएको विषय हाम्रा लागि दुखद कुरा हो । र यो कुरा हामीलाई मान्यहुने छैन् । हाम्रा विषयलाई ओझेलमा पार्ने, यसको विकास र विस्तारमा बाधक बन्ने काम स्वास्थ्य मन्त्रालयबाट नहोस् भन्न चाहन्छौ । अहिले बाहिरी देश अझ हाम्रै छिमकी देशले पनि आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धतिलाई महत्वका साथ अघि बढाएको अवस्थामा हाम्रो देशमा यी विषयमा चरम लापरवाही ढंगले व्यवहार गर्नु दुखद विषय हो । कुनै पनि चिकित्सालाई मान्यता दिइसकेपछि त्यसको समय समयमा अनुगमन नियमन गर्नुपर्ने हुन्छ । त्यसकालागि विभाग बनाइ सकेपछि पनि त्यस भित्र पनि होम्योप्पेथिक ,प्राकृतिक चिकित्सा, युनानी, योग, एकुपंचर लगायत प्रचलित चिकित्साको अलग्लै महाशाखा बनाइएर अगाडि बढाउनुपर्छ । आयुर्वेद विभागमा जनस्वास्थ्य, अनुगमन तथा समन्वय महाशाखा राख्नु उपयुक्त हुन्छ । त्यस्तै जडिबुटी अनुसन्धान तथा वौद्दिक सम्पत्ति संरक्षण महाशाखा राख्नुपर्ने देखिन्छ । अहिलेको नयाँ स्वास्थ्य नीतिमा पनि आयुर्वेद र वैकल्पिक चिकित्साकाबारेमा स्पष्ट उल्लेख गरिएको छैन । होमियोप्याथि, प्राकृतिक चिकित्सा, योग, युनानी, सोरोप्पा, एकुपंचर आदि परम्परागत चिकित्सा विधिको बारेमा नीतिमा एक शब्द समेत उल्लेख गरिएको छैन ।
यी बिधिहरु सरकारले मान्यता दिएर सरकारी र गैरसरकारी क्षेत्रबाट संचालित छन् । यिनीहरुको विकाश र विस्तार र अनुगमन निरीक्षणकोलागि समेत नीतिमा उल्लेख गरि विभागमा महाशाखा राख्नु पर्ने हुन्छ । अहिलेको प्रस्ताव हेर्दा स्वास्थ्य मन्त्रालयलाई एलोपेथिक मन्त्रालयको रुपमा विकास गर्न खोजिएको छ । यसले समग्र आयुर्वेद र वैकल्पिक चिकित्साको विकाश र विस्तारमा अवरोध हुन्छ र कालान्तरमा हामी स्वास्थ्यमा परनिर्भर हुदै जान्छौं । वैकल्पिक चिकित्सालाई महत्व दिई अघि बढ्ने हो भने देशमा रहेका अद्धितीय जडिबुटीको पनि विकास बिस्तार र त्यसको उचित सदुपयोग हुने छ । र स्वास्थ्यमा परनिर्भरता घट्दै जानेछ । अहिले नेपालले विश्वलाई स्वास्थ्यमा गर्ने योगदान भनेकै जडिबुटी हो । जडिबुटीको खेति र उपयोगबाट स्वास्थ्य र समृद्दी, रोजगारीको साथसाथै विश्वभरि नै हाम्रो पहिचान र उपस्थिति कायम गर्न सक्छौ । छिमेकी मुलुक भारत र चीन वैकल्पिक चिकित्साको विकाशकोलागि मन्त्रालय बनाएर अघि बढ्दै छन् भने हामी झन् झन् पछाडी फर्किदै छौ । त्यसैले सरकारले पनि बैलल्पिक चिकित्साको विकासमा अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो । ( डा. ज्ञवाली नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्ष हुन् । )
Leave a Reply