हेल्थ टुडे
काठमाडौं, १५ माघ : दुर्गम क्षेत्रका जिल्ला अस्पतालका अप्रेसन थिएटरहरुमात्र नभएर शल्यक्रियाको अवस्था पनि दयनिय पाइएको छ । निक साइमन्सले स्वास्थ्य मन्त्रालयको सहयोगमा देशका २५ दुर्गम जिल्लाका ३९ अस्पतालमा गरेको अध्ययनले जिल्ला अस्पतालहरुमा हुने शल्यक्रियाको अवस्था निकै दयनिय रहेको देखाएको छ । डा. ओलिभर रोसको नेतृत्वमा निक साइमन्सले जुलाई २०१५ देखि अक्टुबर २०१६ सम्म एक वर्षको समयमा गरेको अध्ययनले दुर्गम जिल्ला अस्पतालमा अप्रेसन थिएटरको अभाव, आवश्यक जनशक्तिको अभाव र विरामीको मृत्यु पछि हुने आक्रमणको डरले गर्न सकिने शल्यक्रिया समेत हुन सकिनरहेको देखाएको छ । अध्ययन गरिएका जिल्लाहरु मध्ये कर्णालीका अस्पतालहरुको अवस्था सबैभन्दा नाजुक देखिएको छ । निक साइमन्सले सरोकारवाला निकायहरुको सहकार्यमा उक्त अध्ययन प्रतिवेदन राजधानीमा सोमबार एक कार्यक्रमबिच सार्वजनिक गरेको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. तारानाथ पौडेलले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला अस्पतालमा जनशक्ति र यन्त्र उपकरण भए पनि त्यसको सही व्यवस्थापन गर्न नसक्दा हुन सक्ने शल्यक्रिया समेत हुन नसकिरहेको स्विकारे । दुर्गम जिल्लाका अस्पतालहरुमा काम गर्ने चिकित्सकहरुलाई चुनौति भए पनि ती चुनौति चिर्दै अगाडि बढ्नु पर्नेमा उनले जोड दिए । शल्यक्रियाका क्रममा हुनसक्ने विरामीको मृत्यु र त्यसपछि उत्पन्न हुने तनावको डरले त्यही गर्न सकिने शल्यक्रिया समेत चिकित्सकले गर्न छाडेको अवस्थालाई सुधार गर्न आवश्यक रहेको उनले बताए । उनले भने, ‘ डाक्टरका अगाडि दुई वटा चुनौति छन, किलर बन्ने की पिलर ? हामीले चुनौति चिर्दे पिलर बन्न सक्नु पर्छ । ’
मुख्य अध्ययनकर्ता डा. रोसले शल्यक्रियाका लागि आवश्यक पर्ने यन्त्रउपकरणको कमि र सुरक्षाको प्रत्याभूति नभएकाले अधिकांश जिल्ला अस्पतालमा हुन सक्ने सल्यक्रिया समेत हुन नसकिरहेको तथ्यांक प्रस्तुत गरे । उनले भने, ‘शल्यक्रियाका लागि आवश्यक पर्ने जनशक्तिको पनि धेरै जसो अस्पतालमा अभाव छ । त्यो भन्दा ठूलो असुरक्षाको भय छ । ’ स्वास्थ्य उपचारका अन्य विधामा विभिन्न दातृ निकायहरुले सहयोग गरिरहेको भए पनि शल्यक्रियाको गुणस्तर सुधार्न कसैले पनि खासै ध्यान दिएको आफूले नपाएको उनले बताए । चिकित्साशास्त्र अध्ययन संस्थानका डीन डा. जगदीश अग्रवालले स्वास्थ्य क्षेत्रका लागि आवश्यक भन्दा बढी जनशक्ति उत्पादन भइरहेको देखिए पनि आवश्यक पर्ने क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुनु विडम्बना भएको बताए । स्वास्थ्य मन्त्रालय चिकित्सा महासाखाका निर्देशक डा. भोलाराम श्रेष्ठले जिल्ला अस्पतालमा शल्यक्रिया गर्ने अधिकांश जनशक्तिको दरबन्दी रिक्त रहेकाले समस्या देखिएको बताउदै रिक्त दरबन्दी पूर्ति गर्न मन्त्रालय लागिपरेको जानकारी दिए । निक साइमन्सका कार्यकारी निर्देशक डा. अनिलबहादुर श्रेष्ठले दुर्गम जिल्ला अस्पतालहरुको शल्यक्रियाहरुको अवस्था देखाउनका लागि मात्र यो अध्ययन नगरिएको जानकारी गराउदै त्यहा हुने शल्यक्रियामा सुधार ल्याउन अध्ययन गरिएको दावी गरे । सरकारले सबै अस्पतालमा हुने शल्यक्रियामा एक रुपता ल्याउन र जिल्लामा हुन सक्ने शल्यक्रिया त्यही हुने बनाउन राष्ट्रिय सर्जिकल प्यान बनाएर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको उनले बताए ।
Leave a Reply