डा. अञ्जना कार्की,
प्रजनन स्वास्थ्यले व्यक्तिको जीवनभरिको प्रजननसम्बन्धी प्रक्रियाहरूलाई सम्बोधन गर्छ । हरेक व्यक्तिले जिम्मेवारीपूर्ण रूपमा आफूलाई सन्तुष्टि मिल्ने किसिमको सुरक्ष्।ित यौनजीवन यापन गर्न पाउनुपर्छ । उनीहरूले बच्चा पाउने वा नपाउने, कतिवटा र कहिले बच्चा जन्माउने आफैं निर्णय गर्न पाउनुपर्छ । यसको मतलव ती व्यक्तिले परिवार नियोजनका साधनका बारेमा सही सूचना र सेवा, सरल तथा सुलभ किसिमले पाउनुपर्छ । उनीहरूले बच्चा जन्माउन चाहेमा उचित सूचना, सेवा तथा स्याहार पाउनुपर्छ । यी सब प्रजनन अधिकार भित्रका कुराहरू हुन् । स्त्री तथा प्रसूति विशेषज्ञको नाताले मलाई दैनिक रूपमा थुप्रै बालिकाहरू, किशोरीहरू, वयस्क महिलाहरू तथा अधबैंसे र पाका उमेरका महिलाहरूसँग अन्तरसंवाद गर्ने मौका मिल्छ । एउटी बालिका जब किशोरावस्थामा प्रवेश गर्छिन् उनमा शारीरिक, मानसिक तथा संवेगात्माक परिवर्तन आइरहेका हुन्छन् । जसका बारेमा ऊ आफंै अनभिज्ञ हुन्छिन् । शरीर र मनमा के भइरहेछ उनी नबुझेर अलमल्ल परिरहेकी हुन्छिन् । शारीरिक परिवर्तनहरू जस्तै उचाइ बढ्ने, अलिकति मोटाउने, वक्षस्थलको विकास, विभिन्न भागमा रौंहरू उम्रने र महिनावारी सुरु हुन थाल्छ ।
यस अवस्थामा बढी लाज लाग्ने, विपरीत लिंगीप्रति आकर्षण बढ्ने स्वाभाविक कुराहरू हुन् । यस्तो अवस्थामा ती किशोरीले शरीरको स्याहार गर्न सिक्नुपर्छ । उनलाई आमा, सानिमा, फुपू, दिदीहरूका साथै विद्यालयका शिक्षिकाहरूले यी कुराहरू सिकाउनुपर्छ । महिनावारीको समयमा सरसफाइमा ध्यान नपुग्दा विभिन्न संक्रमण हुने सम्भावनासमेत रहने हुनाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।अझै पनि महिनावारी हुँदा कति ठाउँमा छाउपडी गोठमा बस्नुपर्छ । अलग्गै खाना खानुपर्छ । पछिल्ला वर्षमा यसको प्रचलन कम हुँदै गइरहेको भए पनि पूरै निर्मूल हुन सकेको छैन । यसले पनि महिलाको प्रजनन स्वास्थ्यमा समस्या खडा गरेको छ । पढेलेखेका परिवारमा पनि महिनावारीमा लगाउने प्याड किन्न सहजता छैन । धेरै महिलाहरू अझै पनि घरेलु पुरानो कपडाको प्याड प्रयोग गरिरहेका हुन्छन् । यो एकदम गलत हो । महिनावारीका बेला सफा प्याडको प्रयोग जरुरी छ ।
वयस्क भएपछि महिलाका शारीरिक परिवर्तन तथा चाहनाहरू फरक किसिमका हुँदै जान्छन् । पुरुष साथी बनाउने, यौनक्रियाको थालनी हुनुका साथै विवाह पनि हुन्छ । यसपछि उनीहरूलाई सुरक्षित यौनका लागि चाहिने सूचना तथा सामग्रीहरूको सरल तथा सुलभ पहुँच हुनुपर्छ । कुनै पनि दम्पतीले सल्लाहअनुसार कहिले बच्चा जन्माउने, कतिवटा सन्तान पाउने र कतिको फरकमा सन्तान जन्माउने निर्णय आफैंले लिन पाउनुपर्छ । हाम्रो समाजमा यौनक्रिया तथा सन्तान जन्माउने काम विवाहपछि भन्ने मान्यता छ । परिवार नियोजनका कार्यक्रमहरू प्रायः विवाहितलाई लक्ष्य गरिएका छन् । तर विवाह अघि पनि गर्भ रहेको उदाहरण हामीमाझ छन् । त्यसैले सबैलाई प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनु प्रमुख आवश्यकता हो ।
गर्भवती अवस्थाको महिलाले उचित स्याहार पाउनुपर्छ । कुनै दम्पतीले सन्तान जन्माउन चाहेमा उनले गर्भावस्थामा नियमित जाँच गराउने, विशेष सल्लाह, सूचनाका बारेमा ज्ञान हुनुपर्छ र महिलाले उचित सेवा पाउनुपर्छ । यो उनको नैर्सगिक अधिकार पनि हो । यदि महिलाले नचाहेको अवस्थामा गर्भ रहन गएको खण्डमा उनले सुरक्षित, सरल तथा सुलभ किसिमले गर्भपतनको सेवा पाउनुपर्छ । महिनावारी सुकेपछि महिलाले स्वास्थ्यको हेरविचार पनि उत्तिक्कै आवश्यक हुन्छ । महिनावारी सुक्ने समयको आसपासको समयमा महिलाहरूलाई हार्मोनको घटबढ हुन्छ । जसले विभिन्न लक्षणहरू देखा पर्छन् । जीउ तात्ने, पसिना खलखल आउने, निद्रा नपर्ने, यौन चाहनामा कमी आउने, मानसिक तनाव बढने, महिनावारी अघिपछि भई धेरै रगत बग्नेजस्ता समस्या हुन सक्छ । यो समयमा महिलाहरूमा पाठेघरको क्यान्सरको उच्च जोखिम रहन्छ । साथै स्तनको क्यान्सरको पनि उत्तिकै जोखिम हुन्छ ।
बुढेसकालमा प्रजनन स्वास्थ्यमा विचार नपु्याउँदा उच्च रक्तचाप, मधुमेहजस्ता रोगले आक्रमण गर्ने खतरा पनि उत्तिकै रहन्छ । त्यसैले बढ्दो उमेरसँगै प्रजनन स्वास्थ्य र शारीरक, मानसिक अवस्थामा महिला स्वयं नै सचेत भएर नियमित उपचार र परामर्श लिनुपर्छ । प्रजनन स्वास्थ्यमा ध्यान नदिँदा महिलाहरूमा बुढेसकालमा समेत आङ खस्ने समस्या देखिएको पाइएको छ । महिलाहरूले बेलैमा महिला स्वास्थ्य र प्रजनन स्वास्थ्यका बारेमा बुझेर नियमित परामर्श गरेको खण्डमा धेरै समस्याबाट जोगिन सकिन्छ । कतिपय ठाउँमा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूले नै महिलाहरूलाई प्रजनन स्वास्थ्यका बारेमा त्यति चासो नदिएको पनि पाइन्छ । अस्पतालमा जचाउन लाइन बस्दा, डाक्टरको कोठामा बस्दा अन्य कर्मचारीहरू हुनुदेखि अस्पतालका चेकिङ कक्षमा पुग्दासम्म महिलाले गोपनीयताको महसुस गर्ने अवस्था छैन । उनले लाजका कारण पनि आफूलाई चाहिने सूचना स्वास्थ्यकर्मीसँग माग्न सक्दिनन् भने आफ्ना सबै समस्या खुलेर भन्न सक्ने वातावरण पनि छैन । अझ एउटी अविवाहित केटी आफ्नो यौन जिज्ञासा लिएर अस्पतालसम्म पुग्दा देख्नेहरूको नजरमा उनी गलत साबित हुन्छिन् । के अविवाहितका यौन जिज्ञासा र प्रजनन स्वास्थ्यका सम्बन्धमा जान्न पाउने अधिकार छैन र ? दुईभन्दा बढी बच्चा भएका महिलाहरू उपचारका लागि आएका महिलाहरूलाई स्वास्थ्यकर्मीबाटै कति धेरै बच्चा पाएको, अनि रोग लाग्छ नि भन्ने कुरा पनि सुन्नुपर्छ । यसले महिलाहरूमा डर र असहजता पैदा गर्छ । उनीहरू अस्पताल जान र समस्या भन्न समेत डर मान्ने गरेका छन् । अझ गर्भपतन सेवा लिन आउने महिलाहरूलाई अनैतिक त होइन वा परिवारको इच्छा विपरीत वा दबाबमा हो कि ? भन्ने जस्ता प्रश्नको सामनासमेत गर्नुपर्छ । कतिपय महिलाहरूले आफ्ना बच्चाको संख्या घटाएर भन्ने पनि गरेको पाइन्छ ।
नियमित परामर्श सेवाका जटिलतामा कतिपय अवस्थामा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको मात्र दोष नभएर महिलाहरू आफैं पनि यस्ता कुरामा सजग छैनन् । उनीहरूले आफ्नो लागि आफंै निर्णय गर्ने बानी बसालिसकेका छैनन् । परिवार नियोजनका साधन कुन चाहिँ प्रयोग गर्ने भनी परामर्श गर्न आएका कति महिलाहरू अन्त्यमा पतिलाई सोध्नुपर्छ भनी पछि आउँछु भनी उठेर जान्छन् । परिवारका सदस्यहरू विशेषगरी सासूले कम्तीमा एउटा सन्तान छोरा पाउनुपर्ने दबाब दिएका घटनाहरू हामी समाजमा सुन्दै आएका छांै । एउटा व्यक्तिको गोपनीयता उसको लागि तथा उसको परिवारका लागि नितान्त महत्वपूर्ण कुराहरू हुन् । यी कुराहरू आफैंलाई परेपछि मात्रै अनुभव गर्न सकिन्छ । हामो समाज सधैं परिवर्तनशील छ । आजको युग इन्टरनेट, मोबाइल, कम्प्युटर आदिको युग हो । धैरै कुराको ज्ञान यसका माध्यमबाट हासिल गर्न सकिन्छ । तथापि यस माध्यमबाट लिइएका सूचनाहरू सधैं सबै सही नहुन सक्छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बिरामी जाँच्न तथा कुनै किसिमको शल्यक्रिया वा उपचारका विधिहरूसँग सम्बन्धित काम गर्दा सधैं बिरामी वा बिरामीका अभिभावकको मञ्जुरी लिनुपर्ने हुन्छ । तर सबैले यो प्रकिया अपनाएको पाइँदैन । बिरामीका आफन्तजनहरूले अस्पताल तोडफोड गरेको तथा स्वास्थ्यकर्मीहरूलाई कुटपिट गरेका खबरहरू पत्रिकाहरूहरूमा आउने गरेका छन् । ती बिरामी तथा आफन्तजनलाई बिरामी उपचारका क्रममा आउन सक्ने जटिलताहरूका बारेमा विस्तृत रूपमा बुझ्ने गरी चेतना नभएर यस्ता घटना घट्ने गरेको छ ।
नेपालको वर्तमान कानुनअनुसार गर्भपतन गराउन पतिको मञ्जुरी आवश्यक पर्दैन तर कतिपय अवस्थामा महिलाहरूलाई यो कुराको ज्ञान नभएको भेटिन्छ । एउटी अविबाहित किशोरी गर्भवती भएमा उनले गर्भपतन गराउन आधिकारिक स्वास्थ्यसंस्थामा नगएर अनैतिक रूपमा खुलेका गर्भपतन केन्द्रमा जाने गर्छिन् । अविवाहित किशोरीले परिवार नियोजनका साधन किन्न वा स्वास्थ्य संस्थामा माग्न गएमा कतिले गाली गरेर पठाइदिने प्रवृत्तिले यस्तो समस्या निम्ताइरहेको छ । यौन चाहना हरेकमा हुन्छ, चाहे ऊ विवाहित होस् वा अविवाहित त्यसैले प्रजनन स्वास्थ्यका सम्बन्धमा व्यक्तिगत गोपनीयता प्रत्येक स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले कायम गरिदिएको खण्डमा महिलाहरूमा धेरै हदसम्म सहजता आउने थियो ।
अहिले हाम्रो देशका सरकारी स्वास्थ्य संस्थाहरूमा प्रसूति सेवा निःशुल्क छ । यो सरकारी तवरबाट महिलाहरूको प्रजनन स्वास्थ्यको लागि दिइएको सहुलियत हो । प्रजनन स्वास्थ्य सेवा अहिले महिलाहरूको अधिकारको रूपमा लिइन्छ । जुन सकारात्मक परिवर्तन हो । सेवा उपलब्धमात्र भएर पुग्दैन, त्यो सेवा महिलाको पहँुचमा हुनुप¥यो साथै सुलभ तथा स्तरीय पनि हुनुपरयो । सरकारी स्वास्थ्य संस्थामा चार पटकसम्मको गर्भवती जाँच निःशुल्क छ साथै चार पटक जँचाएका महिलालाई केही रकम पनि दिइन्छ । त्यस्तै गर्भपतन सेवा सरकारी संस्थामा न्यून शुल्कमा देशका थुपै्र ठाउँमा उपलब्ध छ । हाल निःशुल्क सेवाका रूपमा अस्पताल तथा शिविरहरूमा आङ खसेका महिलाको उपचार भइरहेछ । सरर्सती हेर्दा महिलाहरूको प्रजनन स्वस्थ्यको सेवा तथा अधिकारका क्षेत्रमा धेरै काम भएको देखिन्छ । सेवा दिन स्वास्थ्यकर्मीहरू पनि उत्साहित भेटिन्छन् । ज्ञान तथा सीप अभिवृद्धिका लागि उनीहरू उच्च शिक्षा तथा तालिम लिइरहेका भेटिन्छन् । यसलाई महिलाका अधिकारका रूपमा स्थापित गराई परिवार, समाज, स्वास्थ्यकर्मीका साथै महिला स्वयम्ले पनि अधिकारका रूपमा हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ ।
Leave a Reply