डा. अरुणा उप्रेती,
प्रजनन उमेरका महिलालाई उनीहरूको शरीरमा भएका विशेष हर्मोनहरूले प्राकृतिक रूपमा धेरै समस्याहरूबाट बचाएका हुन्छन् । ३५ वर्ष उमेर कटेपछि शरीरमा हर्मोनको मात्रा कम हुँदै जान्छ । शरीरमा हर्मोनको मात्रा कम हुँदै गएपछि हाडहरूको घनत्व पनि कम हुँदै जान्छ । यस्तो अवस्थामा बाहिरबाट हेर्दा खासै समस्या देखिँदैन । तर ४५ देखि ५० वर्ष पार गरेका महिलाको शरीरमा हाडको घनत्व कम हुने हुँदा कतै सानो ठक्कर लाग्दा पनि हाड भाँचिन सक्ने सम्भावना बढी हुन्छ ।
यसरी हाडको घनत्व कम हुँदै गएर हुने रोगलाई अस्टिओपोरोसिस भन्छन् । हाडको यो रोग लागेको बेलामा प्रायः नाडी, हिप र मेरुदण्डका हाडहरू भाँचिने सम्भावना बढी हुन्छ । हाड भाँचिने समस्याबाहेक यस रोगको कारणले शरीर पनि कुप्रो हुँदै जान्छ र दैनिक क्रियाकलाप गर्न पनि गाह्रो हुन्छ । नदेखिने गरी हाडको घनत्व कम हुँदै हात कमजोर हुने तथा यो रोग लागिसकेपछि पनि लामो समयसम्म थाहा नहुने भएकोले यसलाई ‘मौन रोग’ (साइलेन्ट डिजिज ) भनेर पनि भनिन्छ । किनभने धेरैजसो कतै लडेर हाड भाँचिएपछि एक्सरे गराएपछि मात्र यो रोग लागेको थाहा हुन्छ ।
चिकित्सा विज्ञानले निकालेको निष्कर्षअनुसार एस्ट्रोजेनबाहेक अन्य तत्वहरूले पनि यो रोग लाग्नुमा भूमिका खेल्छन् । मानिसको शरीरमा भएका हाडहरू कोषिका र हाडमासीबाट बनेका हुन्छन् । हाड बन्ने प्रक्रियामा क्याल्सिमय र भिटामिन डीको ठूलो भूमिका हुन्छ । रगतमा भएको क्याल्सियमले हाड बन्ने र हाडको जीर्णोद्धार गर्ने प्रक्रियामा लगातार मद्दत पु¥याइरहेको हुन्छ । रगतमा क्याल्सियम कम भयो भने हाडमा भएको क्याल्सियम पनि कम हुन्छ र हाड कमजोर हुन्छ । यदि तपाइं शाकाहारी हुनुहुन्छ भने शरीरमा क्याल्सियमको मात्रा एक दिनमा ८०० मिलिग्राम चाहिन्छ । यदि मांसाहारी हुनुहुन्छ भने एक दिनमा १२०० मिलिग्राम क्याल्सियम चाहिन्छ । मानिसको शरीरमा आन्तरिक प्रक्रियाका निम्ति पनि क्याल्सियम आवश्यक पर्छ । वयस्क मानिसको शरीरलाई दिनभरिका लागि पुग्ने क्याल्सियम चार कप दूध तथा तीन–चार कप दही वा तीन कप भटमासमा पाउन सकिन्छ ।
मौन रोगबाट बच्न क्याल्सियमका साथै हामीले अत्यन्तै ध्यान दिनुपर्ने अर्को तत्व पनि छ । त्यो हो, भिटामिन ‘डी’ । यसले हाम्रो शरीरको हाडका लागि अत्यन्त महत्व राख्छ । भिटामिन डी सूर्यको किरणमा पाइन्छ । भिटामिन डीले शरीरमा क्याल्सियमको शोषण राम्रोसँग गर्नमा मद्दत गर्छ । यदि भोजनमा क्याल्सियम मात्र छ र भिटामिन डी शरीरले प्राप्त गर्न सकेन भने भोजनमा भएको क्याल्सियमको शोषण हुन सक्दैन र हाडको जीर्णोद्धार प्रक्रिया कमजोर हुँदै जान सक्छ । सूर्यको किरणका अतिरिक्त भिटामिन डीका अरू स्रोत अन्डा र माछा पनि हुन् ।
हाडको घनत्व कम भएर लाग्ने अस्टिओपोरोसिसका सम्बन्धमा युरोपेली र अमेरिकाली महिलाहरूमा थुप्रै अध्ययन र अनुसन्धानहरू भएका छन् । त्यसैगरी छिमेकी मुलुक भारतमा भएको एक अनुसन्धानमा झन्डै ६ करोड भारतीय यस रोगबाट पीडित भएको तथ्य सार्वजनिक भएको छ । त्यसमा ७० प्रतिशत महिला थिए । महिला र पुरुष दुवैलाई हुने भए पनि महिलामा यो रोग बढी देखिएको छ । यसको प्रमुख कारण महिलाहरूको प्राकृतिक बनावट हो । महिलाहरूको हाडको घनत्व पुरुषहरूको भन्दा कम हुन्छ । महिलाहरू प्रजनन उमेरमा रहुन्जेल उनीहरूको शरीरमा रहेको हर्मोनले हाडको घनत्व ठीक राख्न मद्दत गरेको हुन्छ । तर जब महिनावारी सुक्ने समय नजिक आउँछ त्यसपछि शरीरमा हर्मोनहरू कम हँुदै जान्छन् । त्यस बेलामा हाडको घनत्व पनि कम हुँदै जान्छ ।
पुरुषहरूलाई उनीहरूको शरीरमा रहेको टेस्टोस्टेरोन नामक हर्मोनले यस रोगबाट बचाउन मद्दत गर्छ । तर ५० देखि ६५ वर्षको उमेरपछि पुरुषहरूको शरीरमा पनि यो समस्या देखा पर्न थाल्छ । यो रोग लाग्नुमा हर्मोनबाहेक अन्य कारण पनि छन् । शारीरिक परिश्रम बढी गर्ने महिलाहरूमा पनि यो समस्या धेरै देखिएको छ । त्यसैगरी अत्यन्तै दुब्ला महिला, धूमपान धेरै गर्ने महिलामा पनि यो रोग धेरै देखिएको छ । नेपालमा यस रोगबाट प्रभावित भएका व्यक्तिहरूको संख्या कति छ भनेर अध्ययन भएको छैन । केवल भारतमा भएको अनुसन्धानलाई आधार मानेर नेपालमा पनि यस रोगबाट पीडितहरू धेरै हुन सक्ने अनुमान गरिएको छ । हर्मोन विशेषज्ञहरूका अनुसार ४० वर्ष उमेर नाघेका महिलाहरू ढाड दुख्ने समस्या लिएर जँचाउन आउँछन्, तीमध्ये झन्डै ७५ प्रतिशतलाई यस रोगले च्यापिसकेको हुन्छ ।
नेपालको सन्दर्भमा यस रोगको एउटा प्रमुख कारण कुपोषण हो । अहिले पनि सुदूरपश्चिमका कतिपय ठाउँमा महिलालाई महिनावारी, गर्भिणी र सुत्केरी अवस्थामा अन्धविश्वासका कारण दूध र दहीजस्ता खाद्यवस्तु खाँदा देउता रिसाउँछन् भनेर खान दिइँदैन । जबकि यस्तो बेलामा पोषणयुक्त र क्याल्सियमयुक्त भोजन चाहिन्छ । गर्भावस्थामा आमाको शरीरबाट विभिन्न भोज्य पदार्थ भ्रूणले लिन्छ । भ्रूणलाई बढ्न चाहिने क्याल्सियम आमाको रगतमा पुगेन भने भ्रूणले हाडमा रहेको क्याल्सियमबाट भोजन बनाएर लिन्छ । यसरी हाडमा रहेको क्याल्सियम भू्रणले लिएपछि आमाको हाड कमजोर हुँदै जान्छ । गाउँघरमा महिलाहरूले धेरै बच्चा पाउने हुनाले ३५ वर्ष नपुग्दै हाड कमजोर भइसक्छ ।
यसरी गाउँघरमा अन्धविश्वासका कारण समस्या छ भने सहरमा चाउचाउजस्ता विभिन्न प्रकारका पुरियाबन्द तयारी खाद्यपदार्थ तथा कोक, फ्यान्टा र पेप्सीजस्ता पेयपदार्थहरूको बढ्दो प्रयोगले समस्या निम्त्याइरहेका छन । यस्ता तयारी खाद्यपदार्थ र पेयहरूमा क्याल्सियम र लौहतत्व हुँदैनन् केवल नुन र बोसोमात्र हुन्छन् । बढी नुनको प्रयोगले भोजनमा रहेको क्याल्सियमको पोषण कम गर्छ र पेय पदार्थहरूमा हुने क्याफिननामक पदार्थले रगतबाट क्याल्सियम हटाउँछ, जसले गर्दा हाडको घनत्व घटेर जान्छ । अनि रोगले आफ्नो ठाउँ बनाउन थाल्छ ।
विदेशतिर महिलालाई कुनै खास उमेर पुगेपछि हाडको घनत्व जाँच गर्ने सल्लाह दिइन्छ । शरीरमा हाडको घनत्व कम देखिएमा हाडको घनत्व बढाउन अनेक किसिमका उपायहरू सिकाइन्छन् । तर नेपालका महिलाहरूमाझ यस्ता सुविधाहरू पु¥याउन हाल सम्भव छैन । त्यसैले रोग लाग्ने कारणहरूको जानकारी धेरै महिलाहरूको माझमा पु¥याएर सुरक्षात्मक उपायहरू अपनाउनु नै उपयुक्त हुन्छ । यसमा प्रमुख उपाय भोजनको विषयमा राम्रो जानकारी दिनु नै देखिन्छ । भोजनको कुरा गर्दा रजोनिवृत्ति भइसकेका महिलादेखि किशोरीका बारेमा पनि सोच्नुपर्छ । ३० वर्षको उमेरसम्म हाम्रो हाडको घनत्व पूर्णरूपले बनिसक्छ । त्यसमा ७० प्रतिशत हाडको घनत्व १८ वर्षको उमेरसम्ममा बन्छ र बाँकी ३० प्रतिशत १२ वर्षको अवधिमा बन्ने प्रक्रिया हुन्छ । यसरी ३० वर्षको उमेरपछि हाडको घनत्व बन्ने प्रक्रिया रोकिन्छ । यसैले किशोरावस्थामा खाएको भोजनले भविष्यमा हुने हाडका समस्याहरूलाई बचाउनमा महत्वपूर्ण भूमिका खेल्छ ।
क्याल्सियम हाडका लागिमात्र नभएर मुटुका लागि पनि निकै महत्वपूर्ण हुन्छ । मुटु खुम्चिने–फैलने कामका लागि क्याल्सियमको जरुरत पर्छ । शरीरका अन्य मांसपेशीहरूका निम्ति पनि क्याल्सियमको आवश्यक पर्छ । बाल्यावस्थादेखि नै भोजनको प्रयोगको सम्बन्धमा ध्यान पु¥याउने हो भने भविष्यमा आउन सक्ने धेरै समस्याहरूबाट आफूलाई बचाउन सक्नुहुन्छ । यो समस्याबाट आफू र आफ्ना परिवारका सदस्यहरूलाई टाढा राख्न चाउचाउ, चीजबलजस्ता तयारी खाद्यपदार्थहरू तथा कोक फ्यान्टाजस्ता पेयपदार्थहरूको प्रयोग कम गर्नुहोस् । आधुनिकताको नाममा प्रयोग गरिने ती चीजहरूले नोक्सान नै बढी गर्छन् । गर्भवती महिला र दूध ख्वाइरहेकी महिलालाई दिइने भोजनमा लौहतत्व र क्याल्सियमयुक्त होस् भनेर विशेष ध्यान दिनुपर्छ । पारम्परिक खानाहरू चाकु, सक्खर आदि भोजन क्याल्सियमयुक्त र लौहत्वयुक्त हुन्छन् ।
Leave a Reply