हेल्थ टुडे,
काठमाडौं, ५ चैत : ६ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार राजधानीमा दुई दिने राष्ट्रिय परिवार योजना सम्मेलन सम्पन्न भएको छ । परिवार नियोजन सेवाको पहूँच बाहिर रहेकाहरुलाई सेवाको पहूँच भित्र ल्याउन आवश्यक रणनीति तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत परिवार कल्याण महासाखाले सम्मेलन आयोजना गरेको हो ।
सम्मेलन समापनका अवसरमा परिवार कल्याण महासाखाका निर्देशक डा. रामपदारथ बिच्छाले ६ बुँदे राष्ट्रिय परिवार योजना राष्ट्रिय सम्मेलन, २०७५ घोषणापत्र पढेर सुनाएका थिए । घोषणापत्रमा परिवार नियोजनको सेवाको पहूँच बाहिर रहेका समुदाय र भौगोलिक क्षेत्र पहिचान गरि नक्सांकन गरि लक्षित समूहका लागि सेवा बिस्तार गर्ने, एफपी २०२० को संकल्प अनुसार परिवार नियोजन सेवाको बजेट बढाउने, संघिय र स्थानिय तहमा परिवार नियोजनका सेवा पुनसंरचना गर्ने, विद्यालयको पाठ्यक्रममा अनिवार्य रुपमा वृहत्तर यौनिकता शिक्षा समावेश गर्ने, स्कुलहरुमा स्टाप नर्स मार्फत प्रजनन् स्वास्थ्य सेवा सुरु गर्ने र निजी संस्थाहरुको सहकार्यमा सेवा विस्तार गर्ने गरी ६ वटा बाचा गरिएको छ । निर्देशक डा. बिच्छाले सम्मेलन सोचे भन्दा सफल भएको दावी गर्दै सम्मेलनले नयाँ दिशा निर्देश दिएको बताए ।
समापन कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव चन्द्र घिमिरेले अहिले संघियताको नयाँ अनुभव गर्दे अगाडि बढ्दै गर्नु परेकाले परिवार नियोजन सेवामा केही समस्या विद्यमान रहेको स्विकार्दै सम्मेलनले यस क्षेत्रका समस्या पहिचान गरि अगाडि बढ्न मार्गप्रसस्त गरेको बताए । कार्यक्रममा यूएनएफपीएकी नेपाल प्रतिनिधि लुब्ना बाकीले नेपालको संसदले केही समय पहिले मात्र प्रजनन् स्वास्थ्य ऐन पास गरेर यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा राम्रो काम गरेकोमा खुशी व्यक्त गर्दै अब यसको सफल कार्यन्वयनमा लाग्नु पर्ने बेला आइसकेको बताइन । कार्यक्रममा यूएसएआईडीका नेत्र भट्ट, डिएफएआईडीका दीपक कार्की, स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. गुणराज लोहनी लगायतले सरकार र गैरसरकारी संस्थाहरुबिचको सहकार्यले परिवार नियोजनको सेवामा सहज पहूँच पुग्नेमा जोड दिए ।
यूएनएफपीए र आड्रा नेपालको मुख्य सहयोग र यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत २० भन्दा बढी गैरसरकारी संस्थाको सहयोगमा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा भाग लिन यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी साडे ३ सयभन्दा बढी सहभागी थिए । सम्मेलनमा ३० वटा प्रस्तुतिकरण र २८ वटा पोस्टर प्रस्तुति गरिएको थियो । सम्मेलन सफल बनाउन उल्लेख्य भूमिका निभाउनेहरुलाई आयोजक परिवार कल्याण महासाखाका निर्देशक डा. बिच्छाले प्रमाण पत्र र मायाको चिनो प्रदान गर्दै आभार व्यक्त गरेका थिए । सम्मेलन सम्पन्न गर्न करिव ५४ लाख रुपैया खर्च भएको आयोजकले जनाएको छ ।
Leave a Reply