हेल्थ टुडे,
चितवन,९ चैतः भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ । देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपनि जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।
केन्द्रका प्रमुख डा विजयकुमार श्रेष्ठले मकवानपुर, काठमाडौँ र पोखरामा बर्डफ्लु देखिए पनि यहाँ भने समस्या नभएको जानकारी दिएका छन् । कृषकले जैविक सुरक्षामा सजगता अपनाएका कारण जिल्लामा बर्डफ्लु भित्रन नपाएको उनको भनाई छ ।
केन्द्रले नियमितरुपमा नमूना सङ्कलन गर्ने, जिल्लास्थित प्रयोगशालामा परिक्षण गर्ने र शङ्कास्पद देखिएमा केन्द्रीय प्रयोगशालामा पठाउने काम गरिरहेको छ ।
कृषकले कुखुरा मरेमा परीक्षणका लागि प्रयोगशालामा ल्याउने गरिरहेका छन् । केन्द्रले हाटबजार र शङ्कास्पद खोरको नमूना लिने काम गरिरहेको छ । ठूलो सङ्ख्यामा कुनै पनि खोरमा कुखुरा नमरेको श्रेष्ठले जनाएका छन् ।
एच नाइनका कारण केही कुखुरा मरेका भए पनि सङ्ख्यात्मक रुपमा कुखुरा नमरेको उनले बताए । देशकै आधाभन्दा बढी कुखुराजन्य उत्पादन चितवनमा हुन्छ ।
Leave a Reply