हेल्थ टुडे,
काठमाडौ,४ बैशाखः काठमाडौं विश्वविद्यालय (केयु) ले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुल्ने गरेको भेटिएको छ । केयूको विस्तारित कार्यक्रमका रूपमा स्थापित विराटनगरको विराट मेडिकल कलेज र रूपन्देहीको देवदह मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी असुल्दै आएका हुन् ।
ऊक्त शुल्कसहित अतिरित्त रकम समयमै नबुझाउनेसँग यी कलेजले ब्याजमाथि ब्याज लिने गरेका छन् । दुवै कलेज काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेसद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत पर्छन् । केयूको क्षमताका कारण सम्बन्धन दिन नसकिने भएपछि प्रत्यक्ष रूपमा चल्ने गरी कार्यक्रम विस्तार गरिएको थियो । विराटले सार्वजनिक सूचना नै प्रकाशन गरी विद्यार्थीले तिर्ने ५० हजार शुल्कबराबर प्रतिदिन दुई सयका दरले ब्याज दिनुपर्ने जनाएको छ ।
सरकारले काठमाडौं उपत्यकाबाहिर एमबीबीएस अध्ययन गर्न ४२ लाख शुल्क तोकेको छ । पहिलो किस्तामा ५० प्रतिशत रकम बुझाएर विद्यार्थी भर्ना हुन्छन् । दोस्रो किस्तामा करिब १० लाख रुपैयाँ बुझाउनुपर्छ । उक्त रकम समयसीमाभित्र नबुझाए कलेजले चर्को ब्याज असुल्ने गरेको हो । १० लाखको ४ सयका दरले दैनिक ब्याज मात्रै ४ हजार उठ्छ । करिब १० लाखको तेस्रो किस्तामा पनि यसै गरी ब्याज असुलिन्छ ।
यसबाहेक पनि यी कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिन्छन् । उक्त रकममा पनि सोही दरले ब्याज लिने गरिएको एक अभिभावकले बताए । ब्याजबापत एउटै विद्यार्थी १० लाखसम्म तिर्न बाध्य भएको अभिभावकको गुनासो छ । अतिरिक्त शुल्क र ब्याजको बिलभर्पाइ भने दिइँदैन ।
विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकजु, डिन राजेन्द्र कोंजुलगायत पदाधिकारीको संरक्षण र मिलमतोमा कलेजले मनोमानी शुल्क र ब्याज लिएको विद्यार्थीको गुनासो छ । पदाधिकारीहरू निजी कलेजले अतिरिक्त रकम असुले पनि धुलिखेलको आंगिक क्याम्पसले बढी रकम नलिएको भनी पन्छिने गरेका छन् । पटकपटक गुनासो र उजुरी गर्दा पनि कारबाहीका लागि चासो नदिएको पीडित विद्यार्थी बताउँछन् ।(कान्तिपुर दैनिकबाट)
Leave a Reply