हेल्थ टुडे,
रूपन्देही कञ्चन २ का २४ वर्षीय लोकमणि थारू कुष्ठ प्रभावित हुन् । उनका हात कुष्ठरोगका कारण समस्या छ । लुगाधुने, खाना बनाउने, सागपात काट्नेजस्ता काम गर्न सक्दैनन् । उनी १६ वर्षको हुँदा उनको हातका औंलामा समस्या देखियो । सुरुमा स्वास्थ्य संस्थामा गए पनि पत्ता नै लागेन । बल्ल चार वर्षपछि बुटबलमा पत्ता लाग्यो । स्कुल पढ्दा थाहा पाएपछि साथीहरूले खिसी गर्ने भन्ने डरले उनले कसैलाई पनि बताएनन् । एक मनले भन्थ्यो, कसैले थाहा पाएपछि भेदभाव गर्नेछन् । के गर्ने होला ? तर अर्को मनले भन्थ्यो, मैले के अन्याय गरेको छु र ? सुरुमा परिवारलाई पनि नबताएका लोकमणिले परिवारलाई आफ्नो समस्या बताए । धन्न उनको हात अंगभंग हुन पाएनन् । हातका औंला राम्ररी चल्दैनन् । उनी पञ्जा लगाउँछन् अधिकांश समय । दायाँ हातका औंलाबाहेक उनी ठीक छन् । अरू काम काम गर्न सक्छन् । भन्छन्, गाह्रो काम गर्न सक्दिनँ । अरू सबै ठीक छ । अहिले उनका श्रीमती र बच्चासँग जीवन निर्वाह गरिरहेका छन् । आत्मबल उच्च गरेकाले आफूलाई समाजले भेदभाव गर्न नपाएको उनी बताउँछन् । आत्मबलभन्दा ठूलो अरू कुनै शक्ति छैन, उनको ठम्याइँ छ ।
बुटबल बेलवासीकी सावित्री थारूको कथा भने फरक छ । सानैदेखि उनको दुवै हातका औंला कुष्ठरोगका कारण अंंगभंग भए । थुप्रै हस्पिटल गए पनि सही उपचार हुन नसकेकाले यो समस्या आएको उनी बताउँछिन् । चार वर्षको उमेरमा देखिएको समस्या १० वर्षकी हुन्जेलसम्म सही उपचार हुन नसकेकाले हातका सबै औंला गुमाउनु परेको उनको अनुभव छ । अन्तिममा पोखरामा रोग पत्ता लागेको र उपचार सम्भव भएको उनी बताउँछिन् । आमा र परिवारमा कुष्ठरोग भएको थाहा पाएपछि सबैले चिन्ता गरेको तर आफूलाई भने यो ठूलो समस्या नभएको जस्तो लागेको उनी बताउँछिन् । आमा रुनु हुन्थ्यो तर मलाई किन रुनु भएको होला जस्तो लाग्दथ्यो । आमाले अब तिमीले एक्लै जंगलमा बस्नुपर्छ भन्ने कुरा सुनाए पछि पनि आफू नडराएको सावित्रा सुनाउँछिन् । दिउँसो जंगलमा बसे पनि राति घरमा आइहाल्छु नि भन्दै आमालाई नि चकित पारिदिन्थे । यही आत्मबलका कारण २० वर्षको उमेरमा बिहे गरेको उनी सगर्व बताउँछिन् । दुई छोराकी आमा सावित्राले आफंै दुःख गरेर छोराहरूलाई एसएलसीसम्म पढाएको बताउँछिन् । हातका औंला अंगभंग भएकै कारण श्रीमान्ले छाडेर डिभोर्स दिएको उनले सुनाइन् । भनिन्, यस्तै हात देखेर विवाह गर्नुभयो । यस्तै हातका कारण श्रीमान्ले डिभोर्स गरेर छोडेर गए । श्रीमान्ले छोडेर गए पनि छोराहरूले आफूलाई माया गरेर हेरविचार गरिरहेको उनी बताउँछिन् । बुटवलको सुकुमबासी टोलमा बसोबास गर्ने सावित्रा उच्च आत्मबलकै कारण छोराहरू पढाउन सकेको र श्रीमान्ले छोडेर गए पनि सहज जीवन निर्वाह गरिरहेको बताउँछिन् । आत्मबलकै कारण समाजले भेदभाव गर्ने आँट नगरेको उनको अनुभव छ ।
नवलपरासी, सुनवल १२ का नारायाण चौधरीको कथा पनि फरक छैन । खुट्टामा समस्या देखिएपछि कसैले खुट्टा काट्नुपर्छ भन्न थाले त कोही कामै नलाग्ने भयौं भन्न थाले । तर आफूले हिम्मत नहारेकै कारण अहिलेसम्म बाँचेको उनको अनुभव छ । परिवारले भेदभाव नगरेपछि समाजले पनि गर्न आँट गर्दो रहनेछ, उनी भन्छन् । आत्मबलकै कारण कसैले पनि भेदभाव गर्ने आँट गरेनन् । अहिले त समाजमा रहेका कुष्ठ प्रभावित मिलेर शिवशक्ति स्वावलम्बन समूह बनाएर भेदभाव हटाउने अभियान नै सञ्चालन गरेको उनी बताउँछन । डामियन फाउन्डेसनले राजधानीमा हालै आयोजना गरेको कार्यक्रममा उनीहरूले आत्मविश्वासकै कारण भेदभाव घट्ने अनुभव सुनाएका हुन् । बेल्जियमकी राजकुमारी र राजकुमारको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा डामिन फाउन्डेसनका नेपाल कन्ट्री डाइरेक्टर डा. सुशील कोइराला फाउन्डेसनले पाँच वटा प्रदेशका १६ जिल्लामा कुष्ठरोग पत्ता लगाउने, उपचार सेवा प्रदान गर्ने, भेदभाव हटाउने र समाजमा पुनस्र्थापना गर्ने काम गरिरहेको बताए । नेपालबाट सन् २०१० मा कुष्ठरोग निवारण भएको तर उन्मूलन नभएको जानकारी दिँदै डा. कोइरालाले निवारणलाई उन्मूलन भएको बुझेर सरकार र गैरसरकारी संस्थाहरूबाट बजेट कटौती हुँदा समस्या देखिएको बताए । उनले भने, ‘राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भयो तर स्थानीय स्तरमा अझै निवारण हुन सकेको छैन । कुष्ठरोगलाई शून्यमा पु¥याउन सबैको सहकार्य हुनु आवश्यक छ ।’
Leave a Reply