हेल्थ टुडे,
काठमाडौं, ३१ भदौ : अब मृत्यु भइसकेकाहरुको पीसीआर टेष्ट नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन निर्देशन दिएको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम नगर्ने नगराउन निर्देशन गरिएको छ ।’
यससम्बन्धी निर्देशिका परिमार्जन हुने उनले जानकारी दिए । अहिलेसम्म देशका विभिन्न भागमा कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको छ । यसरी परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएका थुप्रै छन् । यसरी मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण गर्दा जनमानसमा बढी नै कोरोना आंतक फैलिएकोले मृतकको पीसीआर परीक्षण गर्न बन्द गर्नु पर्ने आवाज उठ्दै आइरहेको थियो ।
Leave a Reply