हेल्थ टुडे,
काठमाडौं, ३० मंसिर : रुसले कोभिड–१९ विरुद्ध विकसित गरेको खोप ९१ प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको जनाएको छ । खोप निर्माणमा संलग्न वैज्ञानिकहरूले खोपको अन्तिम परीक्षणका क्रममा उपलब्ध थप तथ्यांकलाई विश्लेषण गर्दा ‘स्पुतनिक–५’ खोप ९१.४ प्रतिशत प्रभावकारी देखिएको छ ।
रुसी वैज्ञानिकहरूका अनुसार अन्तिम चरणको परीक्षणमा सहभागी २२ हजार ७ सय १४ जनाको नतिजाका आधारमा खोपको प्रभावकारिताबारे तथ्यांक सार्वजनिक गरिएको हो । खोप निर्माण गरेको गामालेया रिसर्च इन्स्टिच्युटका निर्देशकले आगामी वर्षभित्र अधिकांश रुसी नागरिकलाई खोप दिइसकिने विश्वास व्यक्त गरेका छन् ।
‘मलाई विश्वास छ, हामीले रुसका अधिकांश नागरिकलाई सन् २०२१ को अन्यसम्ममा कोभिड–१९ विरुद्धको खोप लगाउन सफल हुनेछौं,’ अलेक्जेन्डर गिन्ट्बर्गद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘स्पुतनिक–५’ हाल भारत, बेलारुस, संयुक्त अरब इमरेट्स र भेनेजुएलामा पनि परीक्षण भइरहेको छ ।
बेलायत र रुसका वैज्ञानिकहरूले स्पुतनिक–५ र अक्सफोर्ड–अस्ट्राजेनेकाले निमार्ण गरेको खोपलाई सम्मिश्रण गरी पुन परीक्षण गर्दै छन् । दुइटा खोप मिसाउँदा यसले मानिसमा प्रतिरोधात्मक क्षमता अझ बढाउने वैज्ञानिकहरूको विश्वास छ ।
रुसले डिसेम्बर २ देखि नै कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गरिसकेको छ ।
कोभिड–१९ का कारण उच्च जोखिममा रहेका मानिसलाई राजधानी मस्कोका क्लिनिकहरूमा खोप दिइन थालिएको हो । रुसमा निर्मित स्पुतनिक–५ खोप गत अगस्टमा दर्ता गरिएको हो । खोप निर्माणमा संलग्न वैज्ञानिकहरूले यसअघि उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको तथा यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको दाबी गरेका थिए । कोभिड–१९ बाट जोगिन उक्त खोप दुईपटक लगाउनुपर्छ । अधिकारीहरूका अनुसार पहिलो खोप लिएको तीन सातापछि दोस्रो खोप दिइन्छ ।
राजधानी मस्कोमा खोपको पहिलो डोज लिन हजारौं सर्वसाधारणले आफ्नो नाम दर्ता गराइसकेका जनाइएको छ । तर रुसको उत्पादन क्षमता के कति छ भन्नेबारे केही उल्लेख गरिएको छैन । उत्पादकहरूले यो वर्षको अन्त्यसम्ममा खोपको २० लाख मात्रा मात्रै उत्पादन गर्न सक्ने अपेक्षा गरिएको छ । नगर प्रमुख सर्गे सोब्यानिनले विद्यालय, स्वास्थ्य क्षेत्र अनि सामाजिक कार्यमा संलग्न मानिसलाई पहिलो चरणमा खोप दिइने बताएका थिए । खोपको थप मात्रा उपलब्ध हुँदै गर्दा खोप लिन इच्छुक मानिसको सूची पनि बढ्दै जाने उनले बताए । मस्कोमा मात्रै १ करोड ३० लाख जनसंख्या छ । खोप लिन योग्य ठह¥याइएका १८ देखि ६० वर्षका मानिसले सहरका ७० स्थानमा रहेका क्लिनिकहरूमा निःशुल्क सुविधाका लागि अनलाइन सेवामार्फत नाम दर्ता गर्न पाउने व्यवस्था मिलाइएको जनाइएको छ । एजेन्सी
Leave a Reply