हेल्थ टुडे,
काठमाडौं, १० चैत : बाल अस्पताल खोल्ने भन्दै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका वरिष्ठ मुटु रोग विज्ञ डा.भगवान कोइराला कानून बिपरित सूर्ति उद्योगबाट ५ करोड सहयोग लिने भएका छन् । मुटुरोग, क्यान्सर, क्षयरोग, दम आदी रोगको प्रमुख कारक मानिएको सूर्तिजन्य पदार्थको सेवन न्यून गर्न सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रण तथा निगमन गर्ने ऐन, नियमावली र निर्देशिका नै ल्याएर कार्यन्वयन गरिरहेको छ । ऐनको दफा १० ले सूर्तिजन्य पदार्थको विज्ञापन र प्रायोजन गर्न नपाइने ब्यवस्था गरेको छ भने नियमावलीको दफा २० को उपदफा ६ अनुसार सार्वजनिक निकायका पदाधिकारीले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने लगायतका कुनै पनि गतिविधि वा कार्यक्रममा सूर्ति उद्योगहरुको सहयोग, सहभागिता र सहकार्य गर्न नपाइने स्पष्ट कानूनी व्यवस्था छ । त्यस्तै दफा २२ मा समाजिक उत्तरदायित्वका नाममा समेत शिक्षण संस्था, धार्मिक संस्था र स्वास्थ्य संस्थाहरुलाई सूर्ति उद्योगहरुले कुनै पनि प्रकारको सहयोग गर्न नपाइने व्यवस्था छ । तर यी सबै कानूनी व्यवस्थाको ख्याल नगरि सूर्ति उद्योगको प्रभावमा परेर डा. कोइरालाले सूर्य नेपालबाट अस्पताल बनाउन ५ करोड सहयोग लिने भएका छन् । डा. कोइराला अहिले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष र त्रिवि शिक्षण अस्पतालको प्राध्यापक पदमा कार्यरत छन । यी दुबै सार्वजनिक जवाफदेही पद हुन् ।
डा.कोइराला नै सूर्ति उद्योगको प्रभावमा परेर सहयोग लिन राजी भएपछि जनस्वास्थ्यका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका अधिकारीले आश्चर्य व्यक्त गरेका छन । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले डा. कोइरालाको यो निर्णयले आफूहरु आश्चर्यमा परेको बताए । उनले भने, ‘यो कुरामा डा. कोइरालाले सोच्नु पर्छ ।’ सूर्य नेपालको मातहतमा रहेको सूर्य टोवाको कम्पनी नेपालकै सबैभन्दा ठूलो चुरोट उत्पादक कम्पनी हो । आज राजधानीमा आयोजना हुने कार्यक्रममा सूर्य नेपाल र डा. कोइरालाको अगुवाईमा बुढानिलकण्ठमा बन्न लागेको बाल अस्पतालबिच सहयोग आदान प्रदान गर्ने सहमतीमा हस्ताक्षर हुने भएको छ । डा. कोइरालाले आफुले सूर्य नेपालबाट अस्पताल बनाउन सहयोग लिन लागेको स्विकार गरेका छन । आफूले कुनै सर्त मानेर उक्त सहयोग नलिएको र माग्न पनि नगएको डा. कोइरालाले बताए । सरकारले पनि चुरोटको बिक्रीबाट उठेको कर सूर्ति उद्योगहरुबाट लिएर अस्पतालहरुलाई अनुदानमा दिइरहेको बताउदै समाजिक उत्तरदायित्व वाफत दिन लागिएको उक्त सहयोग लिन आपत्ती हुन नहुने उनले बताए ।
Leave a Reply