पदमराज जोशी,
पत्रकारितामा भन्ने गरिन्छ, ‘ब्याड न्युज इज गुड न्युज ।’ अर्थात् नराम्रो समाचार नै राम्रो समाचार । सञ्चार माध्यममा यो भनाइ धेरै हदसम्म लागू हुन्छ पनि । पत्रकारिताको एक पक्ष भनेको विकृति विसंगतिलाई उजागर गर्नु हो भने अर्को पक्ष त्यो विकृति विसंगति नसच्चिएसम्म त्यसको विषयमा सरोकारवाला निकायलाई घच्घच्याइरहनु हो । त्यसैले सञ्चारकर्मी र सञ्चारमाध्यमले यो पक्षलाई बिर्सन मिल्दैन । तर सधैं नराम्रा समाचार मात्र हाम्रा पत्रिका, अखबार, अनलाइन, रेडियो र टीभीका समाचारका हेडलाइन बन्नु हुँदैन । गुड न्युज (राम्रा समाचार) पनि मिडियाको विषयवस्तु बन्नु पर्दछ । सकारात्मक समाचारलाई पनि सञ्चारमाध्यमले समाचारको हेड लाइन बनाउनुपर्छ । स्वास्थ्य सबैको सरोकारको विषय हो । यसका विविध पक्षका विषयमा समाचार बन्नुपर्छ । ती समाचार जनसमक्ष आउनुपर्छ । स्वास्थ्यका विषयमा नराम्रा समाचारले मात्र बढी सञ्चारमाध्यममा बढी स्थान पाउने गरेको अहिलेको यथार्थ हो । नेपालको स्वास्थ्य क्षेत्रमा राम्रा काम पनि भएका छन् । भइरहेका छन् । एक दशकअघिको स्वास्थ्य अवस्था, सेवाको गुणस्तर र स्वास्थ्य नीति र अहिलकोमा ठूलो फरक आएको छ । सकारात्मक समाचारमाथि एकदमै थोरै सञ्चारकर्मी र सञ्चारमाध्यमको आँखा गएको पाइएको छ । सधैं नकारात्मक समाचार पस्कने बानी विकासको बाधक हो । नकारात्मक समाचारमात्र देख्ने हाम्रा आँखाले सकारात्मक कुरा पनि देख्ने, लेख्ने र देखाउने बानी बसाल्नुपर्ने आवश्यकता छ ।
स्वस्थ्य समाजको निर्माणका लागि मिडियाको ठूलो भूमिका हुन्छ । स्वास्थ्य क्षेत्रमा भन्ने गरिन्छ, ‘पिभेन्सन इज वेटर द्यान केयर ।’ भन्नुको अर्थ रोग लागेपछि उपचार गराउनुभन्दा रोग लाग्नै नदिनु उत्तम हो । हुन पनि हो, रोकथाम मार्फत धेरै रोगहरूबाट बच्न सकिन्छ । त्यसमा पनि मुटु, मिर्गौला, उच्च रक्तचाप, मधुमेहजस्ता नसर्ने रोगको संक्रमणबाट बच्न त उपचारभन्दा रोकथाममै जोड दिन सकेनौं भने हाम्रो आर्थिक अवस्थाले धान्न सक्ने देखिँदैन । सञ्चारकर्मी र सञ्चारमाध्यमले स्वास्थ्यमा विषयमा जनचेतना विस्तार गर्न योगदान दिन सक्छन् । योगदान गरिरहेका पनि छन् । अझै पनि हाम्रो समाजमा ठूलो संख्यामा जनता सामान्य स्वास्थ्य सूचनाबाट समेत विमुख छन् । उनीहरूलाई सत्य, तथ्य र समयमा सूचना दिन आवश्यक छ । देशबाट राम्रा चिकित्सक विदेश पलायन भइरहेका छन् । सरकारी अस्पताल राजनीति गर्ने अड्डामा परिणत भइरहेका छन् । केही गरौं भनेर विदेशको नाम दाम छोडेर आएका चिकित्सकहरू पनि निराश हुने अवस्था छ । सरकारले राम्रा चिकित्सकभन्दा आफ्नालाई अवसर दिने परिपाटी बन्द गर्नुपर्छ । स्वदेशमै राम्रो काम गर्ने चिकित्सकलाई उत्प्रेरणा दिनुपर्छ । उनीहरूलाई देशमै बसेर सेवा गर्ने वातावरण बनाउनमा मिडियाको पनि ठूलो भूमिका हुन्छ । यो भूमिकाबाट चुक्नु मिल्दैन । उपचार सेवा पाउनु जनताको अधिकार हो । त्यो अधिकारको रक्षाका लागि मिडियाले सक्दो पहल गर्नै पर्छ । राजनीतिक दलहरूका नेताहरू उपचारका लागि विदेशका महँगा अस्पताल जाने तर उनीहरूलाई मत दिएर नेता बनाउने जनता सधंै उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको ७० प्रतिशत योगदान छ । तर तिनको सही मूल्यांकन गरिएको छैन । उनीहरूलाई खाली नाफा कमाउने व्यवसायको रूपमा हेरिएको छ । उनीहरूको योगदानको पनि कदर हुनुपर्छ । उनीहरूले पनि नाफा मात्र नखोजेर सेवामूलक भावना देखाउनु पर्छ । स्वास्थ्यमा अहिले सकारात्मक समाचारको खाँचो छ । नेपालको उपचार काम नलाग्ने, नेपालका चिकित्सक रोग नै पत्ता लगाउन सक्दैनन्, नेपालमा राम्रा चिकित्सक नै छैनन् भन्ने नकारात्मक धारणा हटाउनु जरुरी छ । यसमा चिकित्सक पनि सचेत हुनु आवश्यक छ । विकृति विसंगति उठाउनु पत्रकारिताको धर्म नै हो । तर यसको अर्थ सकारात्मक कुरा लेख्ने नहुने भन्ने होइन । सकारात्मक सोचका साथ स्वास्थ्यसम्बन्धी सत्य तथ्य सूचना सम्प्रेषण गर्ने जिम्मेवारी सञ्चाकर्मीले चुक्नु हुँदैन । स्वास्थ्यमा भइरहेका विकृति, विसंगतिलाई औंल्याउँदै सकारात्मक कुरालाई पनि प्राथमिकता दिएर जनता माझ पु¥याउन सक्नु अहिलेको आवश्यकता हो । ( सम्पादकीय, हेल्थटुडे)
Leave a Reply