रश्मि वजिमय श्रेष्ठ,
खानाले मानिसलाई बाँच्न चाहिने शक्ति प्रदान गर्ने, शारीरिक तथा मानसिक विकास र वृद्धि गर्ने साथै शरीरलाई रोगबाट बचाउने काम गर्छ ।
खाना कसले कति खाने, कसरी खाने भन्ने कुराहरू उसको उमेर, लिंग, शारीरिक तौल, दिनभरि गरिने शारीरिक परिश्रममा निर्भर हुन्छ । कसैलाई यदि कुनै रोग लागेको छ भने सो रोगका प्रकृतिअनुसार खाना मिलाएर खानुपर्ने हुन्छ ।
मिर्गौलाको रोग लागेको व्यक्तिहरूले खानामा विशेष ध्यान पु¥याउनु पर्छ । यस रोगमा खाद्य विशेषज्ञको सल्लाह लिएर खानाको व्यवस्थापन गर्नुपर्दछ । खाद्य विशेषज्ञले बिरामीको रोगको प्रकार र रोगको तहअनुसार सबै प्रकारको पौष्टिक पदार्थहरू तथा पानीको अनुपात मिलाएर सो व्यक्तिलाई उपयुक्त हुने गरी सन्तुलित खाना मिलाइदिन्छ ।
मिर्गौलाको बिरामीहरूको एउटा मुख्य समस्या रोगले गर्दा मुखको स्वाद बिग्रन गई उनीहरूलाई खानाको स्वाद नमिठो हुन्छ । फेरि हाम्रो समाजमा बिरामीलाई खानामा धेरै परहेज गराइएको हुन्छ । जस्तो कि चिल्लो पटक्कै खाना नदिने, जाउलो मात्र खान दिने आदि । झन्, मिर्गौलाको बिरामी भन्नेबित्तिकै बिरामीलाई माछा, मासु, गेडागुडी बन्द गराइएको पाइन्छ । यसले गर्दा बिरामीलाई आवश्यक पोषण नपुगेर झन्झन् कमजोर हुँदै जान्छ र नराम्ररी कुपोषणको सिकार हुन पुग्छ । त्यसैले मिर्गौलाको बिरामीहरूको खानाको व्यवस्थापन गर्न बिरामी तथा बिरामीका परिवारहरूलाई पनि खाद्य विशेषज्ञको चेतनामूलक विशेष परामर्शको आवश्यकता पर्दछ ।
मिर्गौलाका बिरामीको खानेकुराहरू मिलाउनुको उद्देश्यहरू निम्न लिखित् छन्ः
१.बिरामीहरूलाई आवश्यक पर्ने शक्ति पर्याप्त मात्रामा उपलब्ध गराउनु ।
२.उचाइअनुसारको शारीरिक वजन अर्थात् वाञ्छनीय वजन कायम गर्नु ।
३.शरीरमा उत्पादन हुने विषाक्त पदार्थहरू उत्पादनलाई न्यूनीकरण गर्नु ।
४.रोगले गर्दा शरीरमा हुने खनिज पदार्थहरूको असन्तुलनलाई नियन्त्रण गर्नु ।
५.उच्च रक्तचापलाई नियन्त्रणमा राख्नु ।
६.शरीरमा पानीको मात्रालाई नियन्त्रण गर्नु ।
७.यदि बिरामी डाइलासिसमा छ भने दुईवटा डाइलासिसको बीचको समयमा कुनै किसिमको समस्याहरू (शरीरमा पानीको मात्रा बढी भएर सास फेर्न गाह्रो हुने, रगतमा पोटासियमको मात्रा बढ्ने आदि) आउन नदिनु ।
८.यदि बिरामीको मिर्गौलाको प्रत्यारोण भइसकेको हो भने, उसलाई कुनै किसिमको संक्रमण हुन नदिनु तथा प्रत्यारोणपछि हुन सक्ने मधुमेह तथा रगतमा कोलेस्टोरेल, ट्राइग्लिसिराड बढ्न नदिनु ।
बिरामीहरूको लागि पनि स्वस्थ्य व्यक्तिहरूलाई जस्तै चाहिने सबै पौष्टिक तत्वहरूको आवश्यकता पदर्छ । ती हुन् काब्र्राेहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिनहरू र खनिज पदार्थहरू ।
कार्बोहाइड्रेट ः हामीलाई चाहिने शक्तिको मुख्य स्रोत कार्बोहाइड्रेट हो ।
कार्बोहाइड्रेट विशेष गरेर अन्न समूहका खानेकुराहरूबाट पाइन्छ । जस्तै मकै, कोदो, चामल, गहँु, फापर, कागुनो, जौ आदि । मिर्गौलाका बिरामी तथा मिर्गौला फेरिसकेका बिरामीहरूको खानामा सामान्य व्यक्तिहरू सरह नै कार्बोहाइड्रेटयुक्त खानेकुराहरूको मात्रा मिलाएर खानु पर्दछ ।
प्रोटिन ः मिर्गौलाका बिरामीहरूलाई पनि सबैलाई जस्तै प्रोटिनको अत्यन्त आवश्यकता पर्दछ । मिर्गौलाका बिरामीहरूलाई उनीहरूको रोगको अवस्था तथा शरीरको तौल हेरी सामान्य व्यक्तिहरूलाई भन्दा कम वा बढी प्रोटिन चाहिने हुन्छ ।
प्रोटिन दुई किसिमबाट प्राप्त गर्न सकिन्छ जनावरबाट र वनस्पतिबाट । जनावरबाट पाइनेमा माछा, मासु, दूध, दही, अन्डा तथा दूधबाट बनेका परिकारहरू पर्दछन् । वनस्पतिबाट पाइनेमा दाल गेडागुडीहरू पर्दछ । मिर्गौलाका बिरामीहरूलाई जनावरबाट प्राप्त हुने प्रोटिन अर्थात् अन्डा, माछा, मासु, दूध, दही राम्रो हुन्छ ।
चिल्लो पदार्थ ः चिल्लो पदार्थहरूले हामीलाई अतिरिक्त शक्ति दिनुका साथै विभिन्न भिटामिनहरूलाई सोस्न मद्दत गर्दछ । चिल्लो पदार्थका स्रोतहरू तेल, घिउ नैनी, विभिन्न किसिमका बदामहरू जस्तै काजु, ओखर, बदामहरू, तिल, आलस आदि हुन् । चिल्लो पदार्थहरू खाँदा सकेसम्म कोठाको तापक्रममा नजम्ने खालको चिल्लो खानुपर्दछ । चिल्लो पदार्थलाई धेरै तताएर अथवा खराएर खानु हुँदैन । मिर्गौलाका बिरामीहरूले पनि चिल्लो पदार्थ कम्तीमा पनि दैनिक १५ ग्राम खानु पर्दछ । तर डायलाइसिस गरिरहेका बिरामीहरूले काजु, ओखर, बदामहरू, तिल, आलस आदि पोटासियम धेरै हुने चिल्लो पदार्थ खानु हुँदैन ।
भिटामिन तथा खनिज पदार्थ ः भिटामिन तथा खनिज पदार्थहरू मुख्य स्रोतहरू फलफूलहरू, हरियो सागपात तथा तरकारीहरू हुन । डाइलसिस गरिरहेका मिर्गौलाका बिरामीहरूले तथा मिर्गौलाको रोग पाँचौं चरणमा पुगिरहेका ९ऋप्म् ख्० बिरामीहरूले पोटासियम भएका खानेकुराहरू खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
फलफूल, सागपात तथा तरकारीहरूमा पोटासियमको मात्रा धेरै हुन्छ । यी खानाहरू खाद्य विशेषज्ञको परामर्शअनुशार मात्रा मिलाई विशेष प्रकारले पकाएर खानु पर्दछ ।
हामीले खाने हरेक खानेकुराहरूमा फोस्फोरस हुन्छ । यो एकदम महत्वपूर्ण खनिज पदार्थ हो । अझ धेरै मात्रामा फोस्फोरस पाइने भनेको दाल, गेडागुडी, माछा, मासुको हड्डी, दूध, दही आदि हुन् । त्यसैले मिर्गौलाका बिरामीहरूले माछा, मासु खाँदा हड्डी चपाउनु हुँदैन । त्यस्तै गरेर दूधलाई सुक्ने गरेर धेरैबेर उमाल्नु हुँदैन ।
मिर्गौलाको बिरामीहरूले शरीरमा बढी भएको फोस्फोरस फाल्न सक्दैन । त्यसैले उनीहरूको रगतमा फोस्फोरसको मात्रा बढी भई शरीर चिलाउने छाला फुस्रो हुने हुन्छ । यस्तो लक्षणहरू देखिएमा चिकित्सकको परामर्शअनुसार औषधि सेवन गरी शरीरमा फोस्फोरसको मात्रालाई नियन्त्रण गर्नुपर्छ ।
मिर्गौलाका बिरामी तथा मिर्र्गौला प्रत्यारोपण गरेका बिरामीहरूले ध्यान दिनुपर्ने कुराहरू ः
१.खानेकुराहरू खाँदा एकै पल्ट धेरै नखाने, थोरै खाने तर धेरै पटक खाने ।
२. खाना खाँदा शरीरको तौल, उमेर, रोगको अवस्थाअनुसार खाद्य विशेषज्ञले दिएअनुसार मिलाएर खाने ।
३. ताजा, शुद्ध, सफा, प्राकृतिक खानेकुराहरू खाने ।
४.खानामा कुनै किसिमको रसायनिक तत्वहरू नभएको खानेकुराहरू खाने ।
५.खाना खाँदा सकेसम्म धेरै थरीको खाद्य पदार्थहरूको समावेश गर्ने ।
६.तयारी खानेकुराहरू जस्तै तयारी चाउचाउ, भुजिया, दालमोठ आदी नखाने ।
७.नुनको मात्रा कम गर्ने (दिनको आधा चिया चम्चा मात्र)
८.पुरानो अचार, गुन्द्रुक, सिन्की, किनिमा, तामाजस्ता अमिलो खानेकुराहरू नखाने ।
९.रक्सी, बियर, कोक, फान्टाजस्ता पेय पदार्थहरू नपिउने ।
१०.रातो मासु खसी, राँगा, बंगुर आदि नखाने ।
११. भित्री मासु कलेजो, फोक्सो, आन्द्रा, भँुडी आदि नखाने ।
१२.अमिलो, पिरो तथा धेरै मसलादार खानेकुराहरू पनि नखाने ।
मिर्गौलाका बिरामीहरूले नियमित रूपमा स्वस्थ्य परीक्षण गर्दै चिकित्सक र खाद्य विशेषज्ञको परामर्श लिने गरेमा स्वास्थ्यको स्तर अपेक्षित रूपमा राम्रो राख्न सकिन्छ ।
Leave a Reply