• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

४३ प्रतिशत एन्टिबायोेटिक चिकित्सकको प्रिस्क्रिप्सन बिनै बिक्रीवितरण,स्वास्थ्य खतरामा

July 3rd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
४३ प्रतिशत एन्टिबायोेटिक चिकित्सकको प्रिस्क्रिप्सन बिनै बिक्रीवितरण,स्वास्थ्य खतरामा

पदमराज जोशी,
एन्टिबायोेटिक औषधिको अत्यधिक प्रयोगले मानव स्वास्थ्यसँगै पशु स्वास्थ्यसमेत खतरामा परेको छ । एन्टिबायोेटिक औषधिले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ भन्ने कुराको जानकारी भएर पनि नेपालमा ४३ प्रतिशत औषधि वितरकहरूले चिकित्सकको सिफारिसबिनै एन्टिबायोेटिक विक्रीवितरण गर्ने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको अध्ययनले नेपालमा मानव स्वास्थ्य र पशु स्वास्थ्यका क्षेत्रमा एन्टिबायोेटिकको अत्यधिक प्रयोगले गम्भीर खतरा उत्पन्न गराएको देखाएको हो । ‘नेपालमा एन्टिबायोेटिकको प्रयोग र यसको प्रतिरोधको स्थिति मूल्यांकन’ नामक अध्ययन अनुसार चिकित्सकले सिफारिस गरेका औषधिमध्ये ३८ प्रतिशत एन्टिबायोेटिक हुने गरेका छन् । स्वास्थ्यकर्मी, औषधि वितरक, बिरामीलगायत सरोकारवालाबीच सर्वेक्षण र अन्तर्वार्ताको माध्यमबाट गरेको अध्ययनअनुसार ३२ प्रतिशत स्वास्थ्यकर्मीले मात्र एन्टिबायोेटिक संवेदनशीलता परीक्षण (एएसटी) को पहुँच राख्छन् र ४९ प्रतिशतले मात्र एन्टिबायोेटिक सिफारिस गर्नुअघि एएसटी परामर्श गर्ने गरेका छन् । अध्ययनले ३३ प्रतिशत बिरामीले सिफारिस बिनै एन्टिबायोेटिक किन्ने गरेको पाइएको छ । पशुस्वास्थ्यको क्षेत्रमा पनि एन्टिबायोेटिकको प्रयोगको दुरुपयोग भइरहेको छ ।
अध्ययनले ४४ प्रतिशत किसान आफैं एन्टिबायोेटिक प्रयोग गरेर पशुपन्छीको उपचार गर्ने गरेको पाइएको छ भने ६९ प्रतिशतले मानक मार्गदर्शन बिना एन्टिबायोेटिक खुराक बढाउँछन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेखनाथ धिमालले एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर) अर्थात् प्रतिजैविक प्रतिरोधले विश्वव्यापी जनस्वास्थ्यमा गम्भीर खतरा निम्त्याइरहेको बेला नेपालमा पनि जनस्वास्थ्य र पशुस्वास्थ्यमा यसले ठूलो असर पारिरहेको बताए । डा. धिमालका अनुसार ब्याक्टेरिया, भाइरस, ढुसी र परजीवीहरूलगायतका सूक्ष्म जीवहरूले संक्रमणको उपचारमा प्रभावकारी हुने एन्टिमाइक्रोबियल औषधिको प्रभावकारिता निष्क्रिय पार्दै यिनीहरू संक्रमण गराउन, रोग फैलाउन र मृत्युको उच्च जोखिम सम्भव तुल्याउन सफल हुन्छन । यसरी तीव्र गतिमा बढिरहेको एन्टिमाइक्रोबियल रेसिस्टेन्टका कारण नेपालले ठूलो चुनौतीको सामना गरिरहेको छ । नेपालमा मानव स्वास्थ्यमा मात्र नभएर पशु स्वास्थ्यमा समेत एन्टिबायोेटिकको अत्यधिक प्रयोग भइरहेकोले एन्टिबायोेटिकको प्रयोगको ज्ञान, प्रतिरोधको स्थिति मूल्यांकन, दृष्टिकोण, अभ्यास मूल्यांकन तथा यसको फैलावट रोक्न र कार्यन्वयन गर्न सकिने किसिमका सुझाव दिन अध्ययन गरिएको डा. धिमालले बताए । अध्ययनले ४९ प्रतिशत स्वास्थ्यकर्मीले मात्र एन्टिबायोेटिक सिफारिस गर्नुअघि एएसटी परामर्श गर्ने गरेको पाइएको छ ।
अध्ययनले एन्टिबायोेटिकको जथाभावी प्रयोग बढ्नुमा स्वास्थ्यकर्मीलाई मात्र दोषी देखाएको छैन । औषधि विक्रेता, उपभोक्ता र कानुन निर्माण गर्ने तथा कार्यान्वयन गर्ने निकाय सबैले गम्भीर गल्ती गरिरहेको औंल्याएको छ । दुई तिहाइ पशु औषधि बिक्रेताले त पशु उपचारको रेकर्डसमेत राख्न नगरेको पाइनुले पशु स्वास्थ्य उपचारमा पनि लापरबाही भइरहेको देखाएको छ । चिकित्सकको सिफारिस बिनै आफुखुसी बदाम र भटमास किनेर खाएझै औषधि पसलबाट एन्टिबायोेटिक किनेर खाने चलनका कारण मानव स्वास्थ्य खतरामा पर्दै गइरहेको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसाल बताउँछन् । डा. भुसालले भने, ‘यसरी एन्टिबायोेटिकको अत्यधिक प्रयोगले भोलिका दिनमा औषधिले काम नै नगर्ने अवस्था सिर्जना हुन्छ । त्यसैले एन्टिबायोेटिक प्रयोग चिकित्सकको सिफारिसमा मात्र त्यो पनि गर्नै पर्ने अवस्थामा मात्र गर्ने गर्नु आवश्यक छ ।’
जनचेतनाको कमीका कारण पनि एन्टिबायोेटिकको प्रयोग जथाभावी भइरहेको हुन सक्ने नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल बताउँछन् । उनले भने, एन्टिबायोटिकको प्रयोगका विषयमा सरोकारवाला सबैलाई जनचेतना जगाउन आवश्यक छ । राज्यले पनि यसका विषयमा गम्भीर हुनुपर्छ । नेपालमा एन्टिबायोेटिकको जथाभावी प्रयोग रोक्ने ठोस कानुनको पनि अभाव छ । र भएका कानुनको पनि कार्यान्वयन हुन सकेको छैन । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीका अनुसार चाहिनेभन्दा बढी एन्टिबायोेटिकको सेवन, प्रयोगशाला निदानको कमी, जनचेतनाको अभाव र निगरानीको कमीका कारण यो समस्या भयावह बन्दै गइरहेको छ । समयमै यसका विषयमा ठोस कदम चाल्न नसकिए यसले गम्भीर खतरा ल्याउने डा.कार्कीको भनाइ छ । पशुपन्छीको रातारात तौल बढाउनका लागि जथाभावी र अनुचित एन्टिबायोेटिकको प्रयोग गर्दा यसले मानव स्वास्थ्य र पशुस्वास्थ्य दुवैलाई एकैसाथ खतरामा पारिरहेको डा. कार्कीले बताए । नेपालमा जुनसुकै एन्टिबायोटिक जहाँ पनि जसले पनि, बिनाचिकित्सकको प्रिस्क्रिप्सन सजिलै किन्न पाइने र बेच्न पाइने भएकाले मनपरी ढंगले खाने गरिएको पाटन अस्पताल जनरल प्रेक्टिस तथा इमरजेन्सी विभागमा कार्यरत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक डा. आशिष श्रेष्ठ बताउँछन् । एन्टिबायोेटिकको दुरुपयोगले विस्तारै हाम्रो शरीरमा रहेका रोगका जीवाणु बलियो हुँदै जाने र यसको परिणामस्वरूप हामीलाई कुनै रोग लागेपछि एन्टिबायोटिक खाए पनि त्यसले काम गर्न छोड्दै जान्छ । डा. श्रेष्ठले भने, ’एन्टिबायोटिक औषधिभन्दा जीवाणु बलियो हुँदै जानु भनेको चिकित्सा विज्ञान क्षेत्रकै लागि मात्र नभएर मानव जगत्कै लागि ठूलो चुनौती हो ।’ हाम्रो समाजमा हरेक रोगको अचुक उपाय भनेको एन्टिबायोटिक हो भन्ने भ्रमका कारण पनि यसको उपभोग बढिरहेको डा. श्रेष्ठको बुझाइ छ । डा. श्रेष्ठले भने, सबै रोगमा एन्टिबायोेटिकले काम गर्ने भए कोभिडको महामारीको बेला लाखौंले ज्यान गुमाउन्थेथिएन होला । एन्टिबायोटिकले काम नै गरेन ।

नेपालमा एन्टिबायोटिकको प्रयोगसम्बन्धी नीति नै नभएको भने होइन । छ तर लागू गरिएको छैन । डा. श्रेष्ठका अनुसार नियमअनुसार चिकित्सकको प्रिस्क्रिप्सन बिना कडा खालका एन्टिबायोटिक किनबेच गर्न पाइँदैन ।
तर व्यवहारमा लागू भएको पाइँदैन । नेपाली समाजमा एन्टिबायोटिक औषधिप्रति जनताको विश्वास ठूलो छ । एन्टिबायोटिक जुनसुकै रोग पनि निको पार्छ भन्ने बलियो मनोविज्ञान छ समाजमा । त्यसैले सितिमिति अरू औषधिमा विश्वास गदैनन् बिरामी पनि । आयुर्वेदिक औषधिको प्रयोग कम हुनुमा यो पनि एक प्रमुख कारण हो ।
उपभोक्ता मलाई यो नामको एन्टिबायोटिक दिनुहोस् भन्दै फार्मेसी पुग्ने गरेका हुन्छन् । एन्टिबायोटिक बाहेकले मलाई ठीक हुँदैन भन्ने उनीहरूको विश्वास छ । वरिष्ठ चिकित्सक डा.अर्जुन कार्कीका अनुसार रोग चाँडो निको बनाउने होडबाजीका कारण पनि एन्टिबायोटिकको प्रयोग बढेको छ । रोग चाँडो निको पार्न बढी डोजको एन्टिबायोटिक दिने र लिने प्रवृत्तिका कारण समस्या बढ्दै गइरहेको डा. कार्कीको ठम्याइँ छ । डा. कार्कीले भने, ’जुन स्वास्थ्यका हिसाबले हितकार होइन । यही होडबाजीले एक रुपैयाँको सिटामोल खाएर निको हुने रोगको लागि दसौं गुणा बढी मूल्य पर्ने एन्टिबायोटिक उपभोग गराइन्छ । यसरी अनावश्यक एन्टिबायोटिकको प्रयोगमा विभिन्न औषधि कम्पनीहरू र व्यापारीहरूको स्वार्थ पनि रहेको पाइन्छ ।’
चिकित्सकहरूका अनुसार रोग निको पार्न सधैं एउटै औषधिको प्रयोगभन्दा फरकफरक किसिमको औषधि प्रयोग गर्न राम्रो मानिन्छ । बिरामीलाई एउटा औषधिले निको नभए अर्को औषधि प्रयास गर्नु राम्रो चिकित्सकीय अभ्यास हो । तर एकैचोटी हाइडोजको एन्टिबायोटिक दिँदा समस्या निम्त्याउँछ । जथाभावी एन्टिबोयोटिकको प्रयोग गर्दा मिर्गौला फेल हुनेलगायतका शरीरका अन्य अंगसमेत फेल हुने अवस्था आउँछ । चिकित्सकहरूका अनुसार एन्टिबायोटिक नै रोगको पूर्ण निदान होइन ।
एन्टिबायोटिक खाएपछि त्यसले शरीरमा संक्रमित ब्याक्टेरियालाई नष्ट गर्छ । यस हिसाबले कुन किसिमको ब्याक्टेरिया हो, त्यही आधारमा एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । यसको मात्रा, अवधि, समय सबै कुरा ख्याल गर्नुपर्छ ।
यद्यपि जुनसुकै अवस्थामा एन्टिबायोटिक सेवन गर्छौं । यस किसिमको प्रयोगले शरीरमा भएका ब्याक्टेरियाले आफ्नो रक्षात्मक क्षमता बढाउँछ । कोषिका परिवर्तन गर्छ । यसलाई ‘ड्रग रेजिस्टेन्स’ भनिन्छ । यस्तो हुनु भनेको ठूलो जटिलता हो । जब शरीरमा ब्याक्टेरियाले आफ्नो कोषिका बदल्छ, तब औषधिको प्रभाव कम हुन्छ । रोग फेरि बल्झन्छ र त्यसले थप चर्को रूप लिन्छ । एन्टिबायोटिकको विषयमा उपभोक्ता मात्र होइन स्वास्थ्यकर्मी र फार्मेसी सञ्चालकहरूमा समेत चेतना अभाव छ । कसरी हुन्छ एन्टिबायोटिक भिडाइ हाल्ने मनोविज्ञान उनीहरूमा पनि छ । एन्टिबायोटिक अत्यधिक प्रयोगले अहिले र पहिलेको तुलनामा एन्टिबायोटिकले काम नै गर्न छोड्दै छ । उदाहरणका लागि टाइफाइडमा प्रयोग हुने एन्टिबायोटिकले अहिले काम गर्न छोडेको छ । यो हाम्रो मात्र होइन, विश्वकै ठूलो समस्या हो । विकसित देशहरूमा जथाभावी एन्टिबायोटिकको किनबेच हुँदैन । डाक्टरको प्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । त्यहाँ नियम पालना कडाइका साथ हुन्छ । अनुगमन कडा हुन्छ । तर हाम्रो देशमा न त कडा नियम हुन्छ न त अनुगमन बलियो । त्यसैले यहाँ जनस्वास्थ्यमा माथि धनस्वास्थ्यको लडाइँ चलिरहेको छ । पैसा कमाउने निहुुँमा जनताको स्वास्थ्य प्रयोगशाला भइरहेको छ । एन्टिबायोटिकको गुणस्तर माथि पनि विचार गर्नुपर्छ । एन्टिबायोटिक उत्पादन गर्ने कम्पनीबाट त्यसको गुणस्तर निगरानी हुनु पर्छ । एउटै एन्टिबायोटिक धेरै कम्पनीले बनाउने गर्छन् । हाम्रो देशमा पनि औषधि व्यवस्था विभागले औषधिको गुणस्तर परीक्षण गर्छ । एन्टिबायोटिकको गुणस्तरका विषयमा पनि विभागले हेक्का राख्नुपर्छ । एन्टिबायोटिकको जथाभावी प्रयोग एक पक्षको प्रयासले मात्र सम्भव हुँदैन । त्यसमा सबै पक्षको सहयोग, सहकार्य आवश्यक पर्छ । एन्टिबायोटिक बनाउने कम्पनी, एन्टिबायोटिक लेख्ने डाक्टर, बेच्ने फार्मेसी, किन्ने उपभोक्ता र नियम कानुन बनाएर लागू गराउने सबैको उत्तिकै जिम्मेवारी हुन्छ । एन्टिबायोटिकको अनावश्यक प्रयोग रोक्नका लागि जसले पनि किन्न पाउने नियम बन्द गर्नै पर्छ । राज्यले चाहेको खण्डमा एन्टिबायोटिकको प्रयोगमा भइरहेको बेतिथि रोक्न सक्छ । जस्तै उदाहरणको लागि नार्कोनन ड्रग्सबिना लाइसेन्स बेच्न पाइँदैन । बिना प्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन ।
किन्ने मान्छेको ठेगाना लेखेर प्रिस्क्रिप्सन लेख्ने डाक्टरको नेपाल मेडिकल काउन्सिलको नम्बरसमेत रेकर्ड राखेर बिक्री गरिन्छ । यसको जथाभावी प्रयोग रोकिएको छ । यसैगरी सरकारले एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न बनाइरहेको नीति नियम कडाइका साथ पालना गरे रोक्न सक्छ । तर यसमा राज्यको इच्छा शक्ति चाहिन्छ । डाक्टरले लेख्ने प्रिस्क्रिप्सनको पनि अडिट गर्ने व्यवस्था गर्नुपर्छ । कुन रोगको उपचार के औषधि सिफारिस ग¥यो ? जथाभावी एन्टिबायोटिक त लेखेन ? भन्ने विषयमा प्रिस्क्रिप्सन अडिट गर्ने प्रचलन चलाउनु पर्छ । जथाभावी लेख्नेलाई कारबाही गर्नुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको उपचारात्मक महाशाखाले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रयोग गरिने औषधि प्रिस्क्रिप्सनको अडिट गर्ने काम अगाडि बढाएको छ । अरू रोगको उपचारमा पनि प्रिस्क्रिप्सन अडिट हुने व्यवस्था गर्नुपर्छ । यसले जथाभावी एन्टिबायोटिक सिफारिस गर्ने चलन माथि पनि अंकुश लाग्न सक्छ । हरेक चिकित्सक आफ्नो पेसाप्रति, समाजप्रति र जनस्वास्थ्य माथि सबै जिम्मेवार हुनुपर्छ । एन्टिबायोटिक सिफारिस गर्ने चिकित्सक, बेच्ने फार्मेसी र किन्ने उपभोक्ता तिनै पक्षलाई जिम्मेवार नबनाएसम्म एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न सकिँदैन । यसमा सबैको ध्यान जानु आवश्यक छ ।
केही दिनपहिले औषधि व्यवस्था विभागले १०३ प्रकारका एन्टिबायोेटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालाई अनुरोध गरेको थियो । विभागले एन्टिबोयोटिकको प्रयोगलाई न्यूनीकरण गर्न र नियन्त्रण गर्न प्रतिबन्ध लगाएको जनाएको थियो । एन्टिबायोटिकको जथाभावी प्रयोगलाई रोक्ने अभिप्रायले नेपाल चिकित्सक संघले विभिन्न नीतिगत तहमा पैरवी गर्ने गरेको थियो । विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्म यही तरिकाले एन्टिबायोटिकको गलत प्रयोग भएको अवस्थामा भविष्यमा एन्टिबायोटिकले सही तरिकाले काम गर्न सक्दैन भन्ने अनुमान गरेको छ । एन्टिबयोटिकको सही सदुपयोग नगरे मानव स्वास्थ्यसँगै पशु स्वास्थ्य पनि खतरामा पर्छ भनेर विश्व स्वास्थ्य संगठनलगायत स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूले बारम्बार यस विषयलाई उठाइरहेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको पछिल्लो अध्ययनले औषधि व्यवस्था विभागका प्रयोगशालाको क्षमता सुदृढीकरण हुनुपर्ने आंैल्याएको छ । यसका साथै स्थानीय स्वास्थ्य संस्थाहरूमा एएसटी सुविधा विस्तार गर्नुपर्छ । यसका साथै बिना प्रिस्कृप्सन एन्टिबायोेटिक बिक्रीवितरण रोक्न कडा कानुन ल्याउनुपर्ने सुझाव अध्ययनको छ । सर्वसाधारणमा एन्टिबायोेटिकको हानिका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. धिमाल बताउँछन् । यसका साथै प्रतिबन्धित एन्टिबायोेटिकका विषयमा अनुगमन र नियन्त्रण गर्नु पर्नेमा पनि डा. धिमालको जोड छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कस्तो हुनु पर्छ मिर्गौलाका विरामीको खाना
Next article अर्को हप्ताबाट वीरको इमरजेन्सी नयाँ भवनमा सर्छ : स्वास्थ्य मन्त्री यादव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134429
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web