अहिले हामी चिकित्सकहरु चुनावमा होमिएका छौ । नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि चिकित्सकहरुका मुख्य गरि दुई प्यानल चुनावी प्रतिस्पर्धामा छौ । पेसागत समावेशी प्यानलको नेतृत्व मैले गरेको छु । दुई चरणमा हुने निर्वाचन काठमाडौं बाहिर निर्वाचन सम्पन्न भइसकेको छ भने उपत्यकामा यही माघ १७ गतेदेखि २१ गतेसम्म हुनेछ । हामीहरु अहिले मत माग्नमा व्यस्त छौ । अहिले चिकित्सकहरुले थुप्रै समस्याहरुसँग जुध्नु परिरहेको छ । म बिगत २१ वर्षदेखि चिकित्सा पेसामा प्रत्यक्ष रुपमा संलग्न छु । चिकित्सकहरुको सेवा सुविधा एकदमै न्युन छ । अपवादलाई छोडेर सरकारी र निजी क्षेत्रमा संलग्न चिकित्सकहरुका समस्या उस्तै छन् । अधिकांश चिकित्सकहरुको राम्ररी परिवार पाल्न सक्ने समेत तलव सुविधा छैन । अहिले चिकित्सकहरुको सबैभन्दा ठूलो समस्या भनेको सेवा सुविधाकै सवाल हो । सेवा सुविधा नपुग भएकै कारण एउटा चिकित्सकले अर्को क्लिनिक चहार्नु परिरहेको छ । त्यसपछि अर्को समस्या सुरक्षाको हो । मेरो अनुभवमा कुनै पनि चिकित्सक विरामीको उपचारमा लापरवाही गर्न चाहदैन् ।
सबैले आफ्नो विरामीलाई निको बनाएर घर पठाऔं भन्ने चाहना राख्छ । तर अस्पताल आउने सबै विरामी निको नै भएर घर फर्कन्छन भन्ने ग्यारंटी हुदैन । कत्ति विरामीको उपचारकै क्रममा मृत्यु हुन्छ । त्यसले चिकित्सकलाई पनि भावुक बनाउछ । तर मृत्युको आरोप चिकित्सकमाथि लाग्ने गर्छ । राज्यले सरकारी अस्पतालमा उपकरण पुर्याउन सकेको छैन । आवश्यकता अनुसार स्वास्थ्यकर्मी छैनन् । तर उपचारका क्रममा विरामीलाई केही भइहाल्यो भने राज्यले गर्न नसकेको दोष समेत चिकित्सक माथि लाग्ने गरेको छ । चिकित्सकमाथि उपचारमा लापरवाही गरेको आरोप लगाइन्छ र हातपात गरिन्छ । अस्पताल तोडफोड गरिन्छ । अनि लाखौ क्षतिपूर्ति मागिन्छ । यसरी चिकित्सकको गल्ती नहुदा नहुदै पनि भिडले दोषी देखाइदिन्छ । यो अहिलेको ज्वलन्त समस्या हो । अर्को कुरा अहिले चिकित्सक र विरामीबिच जुन किसिमको सञ्चार सम्बन्ध हुनु पर्ने हो, त्यो हुन नसकेकाले पनि अलि असमझदारी बढेको हो कि जस्तो लाग्छ । उपचार गराउदा विरामी पक्षले पनि सत प्रतिसत विरामी निको हुनै पर्छ भनेर बुझ्नु हुदैन् । चिकित्सकले त आफूले सक्दो उपचार गर्ने हो । मिडियाले पनि कहिलेकाही कुरै नबुझी विरामी पक्षका कुरामात्र सुनेर एक पक्षिय ढंगले सूचना सम्प्रेषण गरिदिदा चिकित्सक झन समस्यामा पर्ने गरेका छन् । अहिले चिकित्सा शिक्षामा उच्च शिक्षा (एमडी, एमएस) पढ्न चाहने एमबिबिएस उर्तीण चिकत्सकका लागि एकदमै न्यून सिट छन् । एमबिबिएस सकेका एक तिहाई जतिले मात्र स्वदेशमा एमडी र एमएस गर्न पाइरहेका छन ।
त्रिवि शिक्षण अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान वीर अस्पताल ( न्याम्स ) जस्ता सरकारी शिक्षण संस्थाहरुमा उच्च शिक्षाका सिट बढाउन सकिन्छ । तर त्यो हुन सकेको छैन । चिकित्सकहरुले अहिले लिने सेवा शुल्क एकदमै न्युन छ । चिकित्सकले आफूले दिने सेवाको शुल्क आफै तोक्न पाउनुपर्छ । सरकारले शुल्क तोक्न मिल्दैन । निजी अस्पताल र चिकित्सकलाई गाली गरेर देशको स्वास्थ्य सेवा राम्रो हुदैन । सरकारले सरकारी अस्पतालको सेवा सुविधामा सुधार ल्याउनु पर्छ । चिकित्सकहरुले रोग पहिचान गर्ने बेला अनावश्यक ल्याव टेष्ट गर्छन भन्ने आरोप लाग्ने गरेको छ अहिले । यो आरोप सत्य होइन । पहिले सुविधा थिएन । नयाँ प्रविधि थिएन । त्यो भएर धेरै ल्याव टेष्टको सट्टा अन्दाजका भरमा र अनभुवका भरमा पनि कुनै कुनै रोगको उपचार गरिन्थ्यो होला । तर अहिले त्यसो छैन । सुविधा भएपछि रोग पत्ता लगाउन सकिन्छ । ल्याव टेष्ट गर्ने बेला अलि शुल्क बढी लागे पनि कालान्तरमा यसले विरामीलाई नै फाइदा गर्छ । देशका सबै वर्ग, समूह र अवस्थाका विरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनका लागि सरकारले सबै नागरिकको अनिवार्य स्वास्थ्य विमाको व्यवस्था गर्नु पर्छ । सक्नेले आफै प्रिमियम तिर्नु पर्छ । नसक्नेको राज्यले तिरिदिनु पर्छ । स्वास्थ्य विमालाई सरकारले महत्व दिनु पर्छ । नेपाल चिकित्सक संघको नेतृत्वले यी काम गर्नु पर्छ । मेरो उम्मेदवारी चिकित्सकहरुका यिनै माग पुरा गर्नका लागि हो ।
(पेसागत समावेशी प्यानलबाट नेपाल चिकित्सक संघको अध्यक्षका प्रत्यासी डा.पुष्पमणी खरालसँग हेल्थ टुडेले गरेको कुराकानीमा आधारित । )
Leave a Reply