पदमराज जोशी,
प्रसंग दुई दशकअघिको हो । डा. राजीव झा वीर अस्पतालमा भर्खर ‘इन्टर्न’ गरिरहेका थिए । इन्टर्न गर्दा अस्पतालका विभिन्न विभागहरूमा काम गर्नुपथ्र्यो । जनरल सर्जरी, इमरजेन्सी, अर्थोपेडिक हुँदै डा.राजीवको सरुवा भयो, न्युरोसर्जरी (स्नायु शल्यचिकित्सा) विभागमा ।
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटा (हाल दिवंगत)ले अथक मेहनत र चुनौती मोलेर स्थापना गरेका थिए, न्युरोसर्जरी विभाग । न्युरोसम्बन्धी सबै प्रकारका सेवा र सुविधाका दृष्टिले दक्षिण एसियामै अब्बल विभाग बनाएका थिए उनले ।
विभागको ओज भविष्यमा पनि नघटोस् र हजारौं नेपालीले न्युरोसर्जरी सेवाबाट वञ्चित हुन नपाऊन् भन्ने चिन्ता थियो, डा. देवकोटालाई ।
न्युरोसर्जरी निकै चुनौतीपूर्ण भएकाले त्यतिबेला चिकित्सा विज्ञानका विद्यार्थी सितिमिति न्युरोसर्जन बन्न रुचि राख्दैनथे । यसर्थ डा. देवकोटा न्युरोसर्जरीमा कर्तव्यनिष्ठ शिष्य खोजिरहेका थिए । डा. राजीव झाको प्रवेशसँगै न्युरोसर्जरी विभागले प्रतिभावान् चिकित्सक पाइहाल्यो ।
डा. देवकोटाको नेम र फेमसँगै न्युरोसर्जरी विभागलाई पनि उच्च सम्मानमा साथ हेरिन्थो । न्युरोसर्जरीमा डा. देवकोटा नेपालमा मात्र नभएर बेलायत, अमेरिका र फ्रान्समा समेत सुपरिचित थिए । बेलायतमा पढेर आएका न्युरोसर्जन डा.देवकोटासँग काम गर्नु पाउनु ठूलो अवसर मानिन्थ्यो ।
विश्वविख्यात न्युरोसर्जनको सान्निध्यमा रहेर काम गर्दा प्रारम्भिक दिनहरूमा केही हच्किएका डा. राजीव । विस्तारै घुलमिल हुँदै गए । डा. देवकोटा अनुशासनमा निकै कडा, जसको सामीप्यतामा सर्जरी सिक्न थालेपछि को नै प्रभावित नहोला र ?
डा. राजीवको लगन र मेहनत देखेपछि डा. देवकोटा ढुक्क भए– भविष्यमा न्युरोसर्जरी विभाग सम्हाल्ने ल्याकत भएका चिकित्सक यिनै हुन् । उनले डा. राजीवलाई प्रोत्साहन दिँदै गए । राजीव पनि सर्जरीमा खारिँदै गए । गुरुकै पदचाप पछ्याउँदै गए ।
नभन्दै विद्यार्थी भएर वीरमा प्रवेश गरेका डा. राजीव अहिले न्युरोसर्जरी विभागको प्रमुख छन् र हजारांै नेपालीलाई सेवा प्रदान गरिरहेका छन् ।
दुई वर्षअघि डा.देवकोटाको निधन भइसकेको छ । न्युरोसर्जरी विभागमा झुन्ड्याइएको डा. देवकोटाको फोटो देख्दा हरेक दिन डा. राजीव गुरुको स्मरण गर्छन् र भावुक हुन्छन् ।
‘देशकै ठूलो र पुरानो सरकारी अस्पतालको न्युरोसर्जरी विभागको नेतृत्व गर्ने अवसर पाएकोमा म आफूलाई भाग्यमानी ठान्छ्ु’, देशमा औंलामा गन्न सकिने न्युरोसर्जनका रूपमा चिनिएका डा. राजीव भन्छन् ।
न्युरोसर्जन बन्न मात्र एमबीबीएसपछि ११ वर्ष खर्चेका डा. राजीव देशकै उत्कृष्ट विभागको गरिमा बचाएर थप उचाइमा पु¥याउन हरदम तल्लीन छन् ।
‘डा. देवकोटाले देखेको सपना पूरा गर्ने जिम्मेवारी मैले बिर्सेको छैन’, उनी भन्छन्, ‘अहिले वीरको न्युरोमा बिरामीका लागि ४० शय्या छन । सर्जरी गर्न पालो कुर्नुपर्छ । भविष्यमा ३०० शय्याको न्युरोको छुट्टै सरकारी अस्पताल बनाउन सकियो भने दूरदराजका हजारौंले सर्वसुलभ उपचार पाउने थिए । मेरो प्रयत्न यसमै केन्द्रित छ ।’
वीरमा मात्र १२ हजार बढीको न्युरोसर्जरी
डा. राजीवले बितेका दुई दशकमा वीर अस्पतालमा मात्र १२ हजारभन्दा बढीको न्युरो सर्जरी गरेका छन् । अन्य जनरल सर्जरीसमेतको गणना गर्ने हो भने यो संख्या १७ हजारभन्दा बढी पुग्छ ।
इन्टर्नको रूपमा प्रवेश गरेका डा. राजीवले वीर अस्पताल कहिल्यै छोडेनन् । बरु पार्ट टाइममा उनी नर्भिक अस्पतालमा सर्जरी गर्न जान्छन् ।
‘देशका कुनाकन्दराबाट आउने विपन्न बिरामीको उपचार गर्दा मिल्ने खुसी र आत्मसन्तुष्टि अमूल्य छ’, डा .राजीव भन्छन, ‘वीर छोडेर अन्त गएपछि पैसा त म २०औं गुना बढी कमाउन सकुला तर आत्मसन्तुष्टि वीरमा जति अन्त पाइँदैन ।’
अमेरिका, बेलायत, जर्मनी, भारतलगायतका थुप्रै देशमा न्युरोसर्जरीको तालिम लिएका डा. राजीवलाई विदेशमा काम गर्ने थुप्रै अवसर नआएका होइनन् । भारतको मेदान्त हस्पिटलबाट पनि उनलाई आकर्षक पारिश्रमिकसहितको प्रस्ताव आएको थियो । उनले स्वीकार गरेनन् ।
‘पैसा त निजी अस्पतालमै छ । तर विपन्न र गरिबको उपचारपछि प्राप्त हुने आत्मसन्तुष्टि त्यहाँ पाइँदैन’, उनी भन्छन्, ‘म वीरमै बढी समय बिताउँछु ।’
देशका कुनाकाप्चाबाट आउने विपन्न बिरामीको उपचार वीरजस्ता सरकारी अस्पतालले नै गरिरहेको उनको दाबी छ ।
‘हामी नै पैसाको लागि सरकारी अस्पतालको सेवा छोडेर निजीमा गयौं भने गरिबले उपचार कहाँबाट पाउने ?’, उनी खुलाउँछन् ।
हो, न्युरोसम्बन्धी सबै सेवा र सुविधा भए पनि बिरामीको चापको तुलनामा वीर अस्पतालमा शय्या अभावका कारण बिरामीले शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था रहेको उनी स्विकार्छन् । सरकारले २०० देखि ३०० शय्यासम्मको छुट्टै न्युरो सर्जरी अस्पताल स्थापना गर्नुपर्ने आवश्यकता पनि उनी औँल्याउँछन् ।
बिरामीका परिवारलाई आफ्नै परिवार झै ठान्ने डा. राजीव हरेक दिन कुनै न कुनै बिरामी निको भएर घर पठाउन पाए आनन्द लाग्ने बताउँछन् । भन्छन्, ‘यस मानेमा म खुसी छु– वीरबाट हरेक दिन कुनै न कुनै बिरामी निको बनाएर पठाएकै हुन्छु ।’
बढ्दैछन्, पक्षघातका बिरामी
वीर देशकै मुख्य रिफरल अस्पताल हो । यहाँ आउने अधिकांश बिरामी अन्य ठाउँबाट रिफर भएर आएका हुन्छन् । डा. राजीवको अनुभवमा पक्षघातका बिरामी दिनहुँजसो बढ्दै गइरहेका छन् । ब्रेन ट्युमरको समस्या पनि विकराल रहेको उनको अनुभव छ ।
‘नेपालमा ब्रेन ट्युमर भनेपछि एकदमै आत्तिने गरिन्छ, तर सबै प्रकारका ब्रेन ट्युमर जटिल हुँदैनन् । ट्युमर कहाँ छ र कस्तो अवस्थामा छ भन्ने कुरामा यसको जटिलतामा भर पर्छ’, डा. झा भन्छन् ।
झाले सयौं ब्रेन ट्युमरका बिरामी सर्जरी गरेर निको पारेका छन् । यस अतिरिक्त रगतको नसा च्यापिने, टाउको दुख्ने, ढाड दुख्ने, छारेरोग, प्यारालाइसिस र बेहोस हुनेजस्ता स्वास्थ्य समस्या लिएर बिरामी न्युुरोमा आउने गर्छन् ।
अहिले देशका विभिन्न भागमा सिटीस्क्यानको सुविधा उपलब्ध छ । ब्रेन ट्युमरजस्ता रोगहरू समयमै पत्ता लाग्न थालेका छन् । यस्ता धेरै बिरामीको समयमै उपचार भएर निको भएर जाने गरेको डा.झा सुनाउँछन् ।
‘न्युरोको उपचार महँगो मात्र नभएर शल्यक्रिया गर्दा जटिलसमेत हुन्छ । समयमै पत्ता लगाएर उपचारमा आएको खण्डमा निको हुन्छ’, उनी भन्छन् ।
जता बुवाको सरुवा, उतै पढाइ
डा. राजीवको जन्मथलो हो, महोत्तरीको जलेश्वरस्थित सुरियाही । जहाँ २०२८ मा उनी जन्मिए । पिता कृषि मन्त्रालय अन्तर्गतको कार्यालयमा जागिरे । सुनसरीको तरहरामा पिताको सरुवा भएकाले उनी पनि तरहरामै हुर्किए ।
विद्यालय टाढा । तीन कक्षासम्म घरमै पुगेर शिक्षकले पढाउने व्यवस्था मिलाइयो । इटहरीको जनता माध्यमिक विद्यालयमा चार कक्षामा भर्ना भए । सात कक्षामा पढ्दापढ्दै बुवाको जनकपुर सरुवा भइहाल्यो ।
जनकपुरको सरस्वती हाइस्कुलबाट २०४४ मा एसएलसी गरेका उनले भारतबाट आईएस्सी गरे । त्यसपछि त्रिचन्द्र कलेजमा बीएस्सी अध्ययनका लागि भर्ना भए ।
राजीवलाई चिकित्साशास्त्र पढ्ने ठूलो इच्छा थियो । त्यसैले बीएस्सी भर्ना भए पनि एमबीबीएस अध्ययनका लागि प्रयास गरिरहे । तिनताक त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान (महाराजगन्ज क्याम्पस) मा डाक्टरी पढाइ हुन्थ्यो । जहाँ जम्मा १५ वटा मात्रै सिट थियो । त्यसैले नेपालमा एमबीबीएस पढ्ने मौका पाउन कठिन थियो ।
यसरी पूरा भयो, बुवाको सपना
छोरालाई डाक्टर पढाउने बुवाको ठूलो सपना । राजीवले रसियामा एमबीबीएस अध्ययनका लागि जाने मौका पाए । रसियामा एमबीबीएस अध्ययन सस्तो पनि थियो ।
सन् १९९३ मा रसिया पुगे । चिकित्साशास्त्रको एमडी डिग्री अध्ययनका लागि भर्ना भए । एक वर्ष भाषा पढे । ६ वर्ष एमडी डिग्री अध्ययन । सन् २००० मा डिग्री पूरा गरेर नेपाल फर्किए ।
उनले रसियामा हासिल गरेको डिग्रीलाई विश्वमै एमडी सरहको मान्यता दिइने भए पनि नेपालमा भने तिनताक त्यसलाई एमबीबीएसको मान्यता दिने चलन थियो ।
नेपाल फर्केपछि त्रिपुरेश्वरस्थित आँखा अस्पताल, प्रसूति गृह, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र वीर अस्पतालमा उनले एक वर्ष इन्टर्नसिप गरे ।
इन्टर्नसिपको अन्तिम तीन महिना डा. राजीवले वीर अस्पतालको जनरल सर्जरी विभागमा काम गरे । त्यो बेला जनरल सर्जरी विभागको प्रमुख डा. मनोहरलाल श्रेष्ठ थिए, जो वीर अस्पतालको निर्देशकसमेत थिए ।
न्युरोसर्जरी अत्यन्तै व्यस्त विभाग थियो । नेपालभरिको ‘हेड इन्जुरी’को उपचार वीर अस्पतालमै हुन्थ्यो । १÷२ जना हेड इन्जुरीका बिरामी त आकस्मिक कक्षमा सर्जरीका लागि पालो कुर्दाकुर्दै मृत्यु हुने अवस्था थियो ।
एक दिन वार्डमा राउन्डमा जाँदा अधिकांश खातामा एकै किसिमको अक्षरले लेखेको निर्देशक डा. श्रेष्ठले देखे । उनले राउन्डमा गएको टिमलाई सोधे– ‘धेरै बिरामी एउटै डाक्टरले जाँचेको देखिन्छ त, जाँच्ने को हो ?
पछि थाहा भयो, ती चिकित्सक डा. राजीव नै थिए । त्यो प्रसंगपछि राजीवलाई डा. श्रेष्ठले निक्कै मन पराएछन् । इन्टर्नसिप सकेको भोलिपल्टै श्रेष्ठले उनलाई वीर अस्पतालको मेडिकल अधिकृतका रूपमा करार नियुक्त गरे ।
सन् २००७ मा डा. राजीवको तीनवर्षे एमएस अध्ययन पूरा भयो । त्यसपछि उनी पुनः रजिस्ट्रार पदमा जनरल सर्जनका रूपमा वीर अस्पतालमै करार जागिरे भए । उनले न्युरोसर्जरी विभागमै काम गर्न थाले ।
एमएस अध्ययनपछि एमसीएच अध्ययनका लागि दुई वर्ष काम गरे । त्यसपछि डा. देवकोटासँग न्युरोसर्जरी सिक्ने र सीपलाई तिखार्ने मौका पाए ।
केही समय उनले ट्रमा सेन्टरमा काम गरे । वीर र ट्रमा दुवैमा एकैसाथ बिरामीको उपचारमा तल्लीन रहे । इन्टर्नमा वीर छिरेका डा. झाले सरकारी सेवाको दौरान वीरभन्दा बाहिर जानु परेन ।
वीरमै देशको ७७ वटै जिल्लाका गम्भीर प्रकृतिका बिरामी रिफर भएर आउँछन् । उनीहरूलाई निको बनाएर घर पठाउदा आफूलाई देशको ७७ वटै जिल्लामा बसेर उपचार गरिरहको अनुभव हुने डा. झा बताउँछन् ।
पति पत्नी दुवै डाक्टर
पति पनि डाक्टर, पत्नी पनि डाक्टर । डा. राजीव न्युरोसर्जन, उनकी पत्नी डा. कुमकुम झा स्त्री तथा प्रसूति रोगविज्ञ । पहिला प्रसूति गृहमा काम गरिसकेकी डा. कुमकुम हाल नर्भिक हस्पिटलमा कार्यरत छिन् ।
तीन वर्षपहिले सासूआमा बिरामी भएपछि घरमा लामो समय सासूको स्याहारसुसार गर्ने मान्छेको अभाव भो । त्यसपछि डा. कुमकुमले प्रसूति गृहको सरकारी जागिर नै छोडिन् ।
डा. राजीवकी ममतामयी माताको दुई वर्षपहिले स्वर्गबास भइसकेको छ । बुवा अवकाश प्राप्त जीवन बिताइरहेका छन् ।
‘हामी पति पत्नी दुवै चिकित्सा पेसामा भएकाले एकको समस्या अर्काले सजिलै बुझ्छौं । जीवन सहज तरिकाले अगाडि बढिरहेको छ’, डा. राजीव भन्छन् ।
यो कुरामा डा. कुमकुमको पनि सहमति छ । डा. झा दम्पतीका दुई छोरा छन् । प्रेम विवाह गरेका यो जोडीलाई अन्तरजातीय भन्दै सुुरुमा दुवैको परिवारले स्विकार नगरेको तीतो सम्झना अहिले पनि छ ।
डा. राजीव जनकपुरको झा परिवारका हुन् भने डा. कुमकुम बुटबलको गुप्ता परिवारकी । यही कारण डा. राजीवले गृह जिल्ला जनकपुरमा विवाह गर्न पाएनन् । काठमाडौंमै विवाह भयो । डा. कुमकुमका अनुसार विवाहमा नातागोता र परिवारका सदस्य पनि थोरै मात्र सहभागी भएका थिए । अन्ततः दुवैको प्रेमका अगाडि परिवारको केही जोर चलेन । बिस्तारै दुवैका परिवारले स्विकारे ।
आखिर यो जोडीको प्रेम चाहिँ कसरी भयो त ? यसको पनि बेग्लै कहानी छ । यो त्यसबेलाको कुरा हो, जब दुवै जना इन्टर्नमा थिए । कुरा दुई दशकअघिकै । इन्टर्नकै क्रममा पहिलो पटक डा. राजीव र कुमकुमको भेट भएको थियो ।
केही समयपछि दुवै इन्टर्नकै दौरान वीर अस्पतालमा आए । वीरमा दुवैबीच समान्य चिनजान भयो । बिस्तारै त्यो चिनजान मायामा परिणत भयो । त्यसको एक वर्षभित्रै विवाह भएको हो ।
दाम्पत्य जीवनमा विश्वास, सहयोग र समर्पण आवश्यक रहेको डा. झा दम्पती स्विकार्छन् । आफूहरूमा यी तीनवटै गुण भएकाले व्यस्तताका बीच पनि जीवन सहज रूपले अगाडि बढिरहेको डा. कुमकुम बताउँछिन् ।
एक वर्षमै प्रख्यात ३ वटा पुरस्कार
२०७९ साल डा. राजीवका लागि खुसीको वर्ष रह्यो । उनले एक वर्षमै ३ वटा राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार पाए ।
उनलाई बेलायतको विख्यात ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स’ पुरस्कार प्राप्त भयो । यो पुरस्कार विश्वका प्रख्यात न्युरोसर्जनहरूलाई प्रदान गरिँदै आएको छ ।
‘आफूले गरिरहेको कामको राज्यबाट वा अन्तर्राष्ट्रिय समुदायबाट प्रशंसा गर्दै पुरस्कृत गरिनु मेरो लागि उत्प्रेरणाको स्रोत हो’, डा. राजीवको ठम्याइँ छ ।
बेलायतको द रोयल कलेज अफ सर्जियन अफ एडनबर्गले शल्य चिकित्साको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गरेको छ ।
यो कलेज शल्य चिकित्सा अध्ययनका लागि विश्वकै सबैभन्दा पुरानो अस्पताल हो । यो सम्मानबाट सम्मानित हुने डा. झा नेपालका दोस्रो चिकित्सक हुन् । यसअघि उक्त सम्मान न्युरोसर्जन डा. उपेन्द्र देवकोटालाई प्रदान गरिएको थियो ।
यसै वर्ष डा. झालाई नेपाल सरकारले ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत गरेको छ ।
१०औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान क्षेत्रमा महत्वपूर्ण योगदान दिएकोमा उनलाई पुरस्कृत गरेको हो । बीपी प्लानेटोरियम एन्ड अब्जर्भेटरीमा आयोजित कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुरस्कार प्रदान गरेका थिए ।
यस अतिरिक्त राष्ट्रपतिबाट प्रदान गरिने सुप्रबल जनसेवाश्री पदकद्वारा विभूषित हुने अवसर पनि डा. झालाई प्राप्त भयो । उनलाई तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेलले यो पुरस्कार प्रदान गरेकी थिइन् । ‘यी तीनै पुरस्कारले ममा थप जिम्मेवारीको भारी थपिएको छ’, उनी भन्छन् ।
Leave a Reply