डा. राममणि भण्डारी
आयुर्वेद चिकित्सक
आधुनिक जीवनशैलीको कारण बढिरहेको समस्यामध्ये अनिन्द्रा पनि एक हो । हिजोआज धेरैलाई हुने समस्या हो अनिन्द्रा, जुन नाडी संस्थानसँग सम्बन्धित छ । स्वस्थ्य शरीरको निम्ति कम्तीमा ७–८ घन्टा राम्रो निद्रा आवश्यक हुन्छ । यदि विभिन्न कारणले पर्याप्त निद्रा पुगेन भने अनेकौंं समस्याहरू उत्पन्न हुन्छन् । स्वस्थ्य जीवनयापनको निम्ति आहार, बिहार र निद्राको सन्तुलन जरुरी छ । स्वस्थ्य आहार, बिहार र पर्याप्त आराम स्वस्थ्य जीवनको पर्याय नै हुन् । दिनको समय दैनिक व्यवसाय, कर्मको लागि र रातको समय भनेको शरीरलाई आराम गर्नको लागि हो । यदि रातको समयमा निदाउन नसक्नु, बीचमा बिउँझनु अथवा पूरा निद्रा नपर्नु समग्र अनिद्रा भएको बुझिन्छ । अनिद्रा मानसिक समस्या हो, तर कहिलेकाहीँ शारीरिक कारणले पनि हुन सक्दछ । अनिद्रा अनेकौं रोगको लक्षणको रूपमा प्रकट हुन्छ अथवा यदि समयमा नै ख्याल नगरेमा दीर्घ समस्या बन्ने गर्दछ ।
कारण
- शारीरिक एवं मानसिक तनाव तथा पीडा हुनु,
- डर, चिन्ता, रिस, राग आदिले ग्रस्त हुनु,
- कब्जियत, अपचजस्ता पेटको समस्या हुनु,
- सुत्ने समय नमिल्नु,
- सुत्ने वातावरण प्रतिकूल हुनु,
- नयाँ ठाउँमा सुत्नु,
- मल, मूत्रादी बेग धारण गर्नु,
- सुत्ने कोठामा प्रकाश र शुद्ध वायुको प्रबन्ध नहुनु,
- चिया, कफी, मदिरा सेवन र धूमपान ज्यादा गर्नु,
- सुत्नुअघि ज्यादा तथा भारी भोजन गर्नु आदि ।
लक्षण
- आवश्यकताभन्दा कम निद्रा लाग्नु,
- हाई आउनु, टाउको दुख्नु, आलस्य हुनु, झर्को लाग्नु,
- राति धेरै पटक बिउँझनु,
- कार्य क्षमता घट्दै जानु,
- भोक कम लाग्दछ,
- रक्तसञ्चारमा शिथिलता र रक्तचापको समस्या हुन सक्दछ,
- एकाग्रता र स्मरण शक्ति कम हुनु,
- दिनमा थकान, बेचेनी लाग्नु आदि
के खाने
- सादा, ताजा, सुपाच्य, पौष्टिक आधार सेवन गर्ने,
- भिटामिन युक्त आहार सेवन गर्ने,
- माया, मासु, अन्डा, दूध, दही, बदाम, हरिया तरकारी आवश्यकताअनुसार भोजनमा समावेश गर्ने
- चोकरसहितको आँटा रोटी खानामा समावेश गर्ने ।
के नखाने
- बासी, भारी, मसलादार, चिल्लो आदि सेवन नगर्ने,
- प्रोटिनयुक्त भोजन, चिया, कफी, मदिरा, नशालु पदार्थ सेवन नगर्ने,
- क्षमताभन्दा ज्यादा, बिना भोक र पहिले खाएको अपची पुनः भोजन नगर्ने ।
बच्ने उपाय
- मानसिक तनाव र चिन्ताको विषय पत्ता लगाई प्राकृतिक व्यवस्थापनमा लाग्नुपर्दछ,
- आहार, बिहार, व्यायामको सन्तुलन कायम गर्ने,
- ज्यादा भोजन वा खाली पेट नबस्ने,
- घरेलु, प्रेम, सम्बन्धमा सुधार,
- पर्याप्त आराम गर्ने र समयमा सुत्ने बानी गर्ने,
- बेलुकी समयमा भारी खाने कुरा र मद्यपान, धूमपान, कफी सेवन आदि नगर्ने,
- रात्रिभोजन र सुत्ने समयमा कम्तीमा दुई घन्टाको अन्तरमा राख्ने,
- सुत्नको लागि बेलुका ९ देखि १०ः३० को समय उत्तम मानिन्छ । यसपश्चात सेरोटोनिन नामक निद्राजन्य हर्मोनको मात्रा कम हुँदै जान्छ र निद्रा लाग्दैन । आयुर्वेद अनुसार १० बजेपश्चात पित्तकाल सुरु हुने हुँदा पनि निद्रामा समस्या आउँछ ।
Leave a Reply